दिनेश ज्ञवाली (बिष्सु)
बुटवल : बुटवलको चिडियाखोला देखि पाल्पाको झुम्सा सम्मको सडकखण्ड हेर्दा लाग्छ यो सवारीसाधन गुड्ने सडक नै होईन तर पनि भन्नुपर्ने हुन्छ यो सडक हुँदै दैनिक हजारौं सवारीसाधन पाल्पा, गुल्मी, पोखरा, अर्घाखाँची त्यसैगरी बागलुङ सम्म खाद्यान्न ढुवानी सङ्गै विभिन्न ठाउँका जनताहरु यात्रा गर्ने गर्दछन । मैले जाने अनुसार बिगत १४ बर्षदेखी यो सडक यस्तै छ ।
जताततै खाल्डाखुल्डी, घाम लाग्दा धुलो, अनि पानी पर्दा हिलो । बर्सेनि ८/१० जनाको ज्यान जाने यो सडकमा यात्रुहरु यो क्षेत्र पार नगर्दासम्म भगवानको नाम पुकार्दै यात्रा गर्ने गर्दछन । यो सडक खासगरी सडक डिभिजन कार्यालय पाल्पा अन्तर्गत पर्दछ । बेला बेलामा सरकारी काम कहिले जाला घाम भनेजस्तो काम त गर्छन् मात्र बजेट सिध्याउनको लागि एकातिर बनाउदै जान्छ अर्कोतिर फेरि भत्किन शुरु हुन्छ । तल तिनाउ खोला माथी हेर्दा चट्याङसहितको भिर । कुनै पनि सवारीसाधन यो सडक क्षेत्रमा यात्रा गर्दा ढुक्कसँग यात्रा गर्न पाउदैनन् । माथिबाट ढुङ्गा खसेर थिचिने हो कि या पहिरो आएर लैजाने हो कि, उछिट्टिएर खोलामा झर्ने पो हो कि भनेर सवारी हाक्नुपर्ने बाध्यता रहेको छ ।
लकडाउनको समय पनि भएन सदुपयोग
काम गर्न चाहाने हो भने अहिले बिश्वभर कोरोनाको महामारी फैलिएको छ यसबाट नेपाल पनि अछुतो छैन र बिगत एक महिनादेखी नेपाल लकडाउनको अवस्थामा छ । जम्मा १० किलोमिटरको सडक पार गर्न अहिले ४०/४५ मिनेट लाग्ने गर्दछ ता कि १० किलोमिटरको सडक पार गर्न १० मिनेट पनि लाग्दैन । काम गर्ने इच्छाशक्ति हुने हो भने सडक डिभिजन कार्यालय पाल्पाले यो लकडाउनको समयलाई पूरा सदुपयोग गर्दै सडक मर्मतसम्भार गर्न सक्थ्यो । अहिले सबै मजदुर हरु फुर्सदमा छन्, केही मजदुर र इन्जिनियर खटाएर यो सडक निर्माणमा लगाउन सक्थ्यो तर पनि ध्यान जान सकेन । भएको एउटा बाटोको मर्मतसम्भार त भएको छैन भने यो सडक क्षेत्रमा सुरुङ्ग निर्माणको कुरा पनि चलिरहेको छ तर त्यो कहिले शुरूवात हुने हो अझै निश्चित छैन ।
यहीँ खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भार गर्ने हो भने यो एक महिनामा सबै सडक सकिने थियो तर यश बिषयमा कसैको पनि ध्यान जान सकेन । यहीँ सडक हुँदै यो लकडाउनको समयमा पनि धेरै मन्त्रीहरु यो बाटो हिडेका छन् तर महँगो लचकदार गाडीमा हिड्ने ती नेतालाई के थाहा दिनहुुँ यो ज्यानमारा सडकमा यात्रा गर्नुको पीडा । कमसेकम अहिलेको समयलाई पुर्णरुपमा सदुपयोग गरेर यो सडकको निर्माण गरेको भए आउँदा दिनमा यात्रु अनि चालकले ढुक्कसँग यात्रा गर्न त पाउथे अनि जनता खुशी त हुनेथिए तर हुन सकेन ।
“यस्तो समय पाउदा पनि नबनेको यो सडक निर्माण अब राम्रोसँग पछि होला भनेर जनताले कसरी बिस्वास गर्नु । आखिर मर्ने त जनता नै हो नि, नेताको लागि त विलाशी साधन छंदैछन नि !”
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्