विद्यालय, विद्यार्थी र अभिभावकले घरबसाइको समयलाई कसरी अधिकतम उपयोग गर्ने ?

जागरणपोस्ट २० बैशाख २०७७, शनिबार १९:४६

कपिलमणि ज्ञवाली//

लकडाउन-विद्यार्थी-समय र उपयोग

विद्यार्थी भाइ-बहिनीहरू, यतिखेर हामी लकडाउनमा छौँ । कोरोना भाइरसको संक्रमण फैलिन्छ कि भन्ने सन्त्रासमा छौँ । परीक्षा सकिनासाथ विद्यालय पनि लकडाउनमा परे । न विद्यालय खुल्ने लक्षण देखिन्छ, न रिजल्ट नै आएको छ । पाठ्यपुस्तक किनौँ भने पनि कसरी किनौँ र पढौँ भने पनि कसरी पढौँ ?

एसईई, कक्षा ११ र १२ को परीक्षाको मुखैमा अप्रत्याशित रूपमा लकडाउन हुनाले ‘अब के हुन्छ’ भन्ने अलमलमा छटपटिएका छौँ । परीक्षाको लागि गरिएको तयारी पनि कोरोना भइरसको सन्त्रासको मनोविज्ञानभित्र गुम्सिएको छ । सिंगो शैक्षिक क्षेत्र, विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । आफ्ना बालबालिका लामो समयसम्म घरमै रहँदा अभिभावकहरू पनि चिन्तित देखिन्छन् ।

केही समयपछि लकडाउन त बिस्तारै खुकुलो होला तर विद्यालमा पठन-पाठन हुने र स्थगित परीक्षा लिन सक्ने अवस्था तत्काल देखिन्न ।यसमा पनि छिमेकी देशमा बढ्दै गएको संक्रमण र मृत्युको तथ्यांकलाई हेर्दा आउँदा दिनहरूमा के हुन्छ ? भन्न सकिने अवस्था छैन ।

यस्तो विषम परिस्थितिमा घरबसाइको समयलाई कसरी उच्चतम सदुपयोग गर्ने विषयमा हामी (अभिभावक र विद्यार्थी) आफै सचेत, सतर्क र चनाखो हुनुपर्ने देखिन्छ ।

अभिभावक, शिक्षक र विद्यालय हाम्रा केवल सहजकर्ता हुन् । यिनीहरूले त केवल सिकाइको लागि वातारण तयार गरिदिन्छन् अनि सहजकर्ताको भूमिका निर्वाह गर्छन् । पढ्ने, सिक्ने त विद्यार्थी आफैले हो । यदि हामीमा पढाइ र सिकाइप्रति दृढ इच्छाशक्ति र रहर छ, शैक्षिक भविष्यप्रति संवेदनशीलता छ भने घरमै बसेर पनि धेरै कुरा सिक्न र धेरै ज्ञान हाँसिल गर्न सक्दछौँ ।

अब घर बसाइको यस समयलाई अधिकतम सदुपयोग गरी फलदायी कसरी बनाउन सकिन्छ भन्नेतर्फ हामी विद्यार्थीको भूमिका के हुन सक्छ ? यसतर्फ विचार गरौँ ।

विद्यार्थीको भूमिका :

यस समयलाई हामीले लेखनसिल्पको सुधार र विकासमा अधिकतम उपयोग गर्न सक्दछौँ । यसका निमित्त आफ्ना छोरा-छोरीको नजिकमा रहेर अभिभावकबाट प्रत्यक्ष प्रेरणा र पृष्ठपोषण हुन सक्दछ ।

हामी सिर्जनात्मक क्षमताको विकासमा यस समयलाई अधिकतम उपयोग गर्न सक्दछौँ । आफूभित्रका विचार, दृष्टिकोण, चिन्तन अनि बाहिर देखिने परिवार, समाज, प्रकृति आदिलाई विषयवस्तु बनाउन सक्छौँ ।

नेट, इन्टरनेट, टेलिभिजन जस्ता अत्याधुनिक प्रविधिको माध्यमबाट दैनिक जीवनमा अावश्यक पर्ने र जीवनलाई सुखी बनाउने नवीनतम कुराहरू खोज गरी तिनको प्रयोग गर्न र प्रयोगमा निखारता ल्याउन सक्छौँ ।

आफू सम्बद्ध पाठ्यपुस्तक नेटबाट डाउनलोड गरी पाठ्यपुस्तकसँग सम्बन्धित विषयहरूको अध्ययन र अभ्यास गर्न सक्दछौँ । यसका निमित्त फोन, म्यासेन्जर, ईमेल आदिबाट सम्बद्ध शिक्षकहरूको सहयोग लिन सकिन्छ ।

साहित्य सिर्जना, गायन, वाद्यवादन आदिको सिकाइमा यो समयलाई अधिकतम उपयोगी बनाउन सक्दछौँ।

रामायण, महाभारत जस्ता पूर्वीय दर्शन र साहित्य (संस्कृत साहित्य र हिन्दू दर्शन), तथा पश्चिमी साहित्य (अंग्रेजी साहित्य) मा आधारित पुस्तक पढेर वा भिडियो हेरेर ज्ञान र बुद्धि बढाउन सक्दछौँ ।

आफ्नै घरमा उपलब्ध तथा नेटबाट डाउनलोड गरी राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान दिने प्रख्यात व्यक्तित्वहरूको जीवनी पढेर जीवनलाई त्यस्तै सम्मानित र प्रशंसित बनाउने प्रेरणा र ज्ञान लिन सक्दछौँ ।

विनाशकारी कोरोना भाइरसको विषयमा संचार माध्यममा हुने चर्चापरिचर्चा, छलफल र विश्लेषणबाट भविष्यमा आउन सक्ने यस किसिमका महामारी, संकट र समस्याबाट कसरी सुरक्षित रहन सकिन्छ र यसका पूर्व तयारी के के हुन सक्दछन् भन्ने विषयमा ज्ञान लिन तथा सचेत र सतर्क रहन सक्दछौँ ।

खाना पकाइ, सरसफाई आदि घरायसी काममा संलग्न भई अभिभावकको सहयोगी मात्र होइन आफ्नो दैनिक जीवनलाई रसमय अनि स्वादिष्ट बनाउन सक्दछौँ ।

विद्यालय र शिक्षकको भूमिका

विद्यालय बन्द हुँदैमा विद्यार्थी र अभिभावकप्रतिको कर्तव्य अनि दायित्व बन्द हुँदैन । यस्तो विषम परिस्थितिमा त झनै विद्यार्थी र अभिभावकको निरन्तर सम्पर्कमा रहनुपर्दछ । विद्यार्थीबाट आउने जिज्ञासा र उनीहरूको समस्या समाधानको निमित्त कर्तव्यबोध गर्नुपर्दछ । विद्यालयको ढोका बन्द हुँदैमा सिक्ने र सिकाउने प्रक्रिया अबरुद्ध हुनुहुँदैन, यस प्रक्रियालाई झनै सक्रिय बनाउनुपर्दछ, निरन्तर सम्पर्कमा रहनुपर्दछ । अनि मात्र विद्यलय विद्यार्थी र अभिभावकमुखी छन् भन्ने कुराको अनुभूति हुन सक्दछ । यदि सकिन्छ र सम्भव छ भने अनलाइन मार्फत काउन्सिलंग एवम् सिकाइप्रति सहजीकरणको वातारण मिलाउन पनि सकिन्छ ।

अभिभावकको भूमिका

अभिभावक आफैमा संरक्षक, उत्प्रेरक, मार्गदर्शक, शिक्षक आदि सबै हुन् । विषयको ज्ञान हुनैपर्दछ भन्ने केही हुँदैन वातावरण र परिवेश मात्र निर्माण गरिदियौँ भने पनि सिकाइको आधार बन्न सक्दछ । केवल विद्यालयको मुख ताकेर अभिभावकीय दायित्व पूर्ण हुँदैन । समय र परिस्थिति अनुसार संरक्षक, उत्प्रेरक, शिक्षक सबै बन्न सक्नुपर्दछ । यसो भयो भने मात्र हामीले हाम्रा छोरा-छोरीको समुज्ज्वल भविष्यको कल्पना गर्न सक्दछौँ ।

कोभिड १९-विद्यालय र विद्यार्थी

कोभिड-१९ को विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । यो एउटा यस्तो क्षेत्र हो जुन क्षेत्र उद्योग, व्यापार, व्यवसाय, विकास-निर्माण आदि काम वा सेवा संचालनमा आए पनि तत्काल संचालनमा आउन गाह्रो छ । अझ हाम्रो जस्तो एउटै कक्षामा चालीस पचासजना राखेर पढाइने कक्षाप्रणाली भएको देशमा उच्च जोखिम बन्न सक्दछ ।

यसर्थ अन्य क्षेत्र र सेवा क्रमश: संचालनमा आए पनि संक्रमण न्यूनीकरण वा नियन्त्रणप्रति पूर्ण आश्वस्त नभएसम्म विद्यालय संचालनमा आउने र पठन-पाठन शुरु हुने सम्भावना छैन र हुनुहुँदैन पनि । यसो भन्दैमा विद्यालय र शैक्षिक प्रणाली नै लामो समय ठप्प हुन्छ भन्ने होइन । औपचारिक कक्षा संचालनमा आउन एक दुई महिना अझै लाग्न सक्छ तर पनि अनौपचारिक रूपमा सिकाइ क्रियाकलाप पूर्णत: रोकिन्छ नै भन्ने होइन ।यसबीचमा हरेक विद्यालयले विद्यमान शैक्षिक अबरोध समेतलाई मध्यनजर गरी आगामी शैक्षिक सत्रलाई प्रभावकारी र सार्थक बनाउन शैक्षिक योजना, वार्षिक कार्यक्रम, क्यालेन्डर, रुटिन आदि निर्माण गर्न सक्दछन्।

कमसेकम कोरोनाको महामारी नियन्त्रित नहुँदासम्म शारीरिक दूरी कायम हुने गरी सोही संख्यामा विद्यार्थी भर्ना र कक्षा-कोठा व्यवस्थापन गर्न सक्दछन् । एउटा सम्पूर्ण सिकाइमुखी, विद्यार्थीमुखी, शैक्षिकमुखी वातारण निर्माणमा यो समयलाई भरतपुर उपयोग गर्न सक्दछन् ।

तर विश्व परिवेश र छिमेकी देशको संक्रमणको अवस्थालाई हेर्दा अझ केही समय विद्यालयमा पठन-पाठन हुन सक्ने अवस्था देखिन्न । रोकिएका एसईई, कक्षा १२ र ११ का सम्पूर्ण परीक्षा तत्काल लिन पनि कठिन देखिन्छ । यस्तो विषम परिस्थितिमा हामी हाम्रा छोरा-छोरीको घर बसाइको समयलाई कसरी सिकाइमुखी, ज्ञानमुखी र परीक्षा तयारीमुखी बनाउन सकिन्छ ? यसतर्फ हामी सबैको ध्यान जानु जरुरी हुन्छ ।

शिक्षा वा ज्ञान औपचारिक र अनौपचारिक गरी मुख्य दुई किसिमका हुन्छन्

औपचारिक शिक्षालाई निर्धारित पाठ्यपुस्तकीय शिक्षा, विद्यालयीय शिक्षा र प्रमाणपत्रीय शिक्षाका रूपमा लिइन्छ । यस अन्तर्गत विद्यालयमा, गुरुको माध्यमबाट, निर्धारित पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक पढिन्छ । तिनैबाट प्रश्न निकालिन्छ र पढेको, सिकेको, बुझेको आधारमा उत्तर दिइन्छ । त्यही उत्तरको आधारमा स्तर मापन गरी प्रमाणपत्र दिइन्छ । अनि त्यही प्रमाणपत्रका आधारमा जागिर खान सकिन्छ । तर यसबाट ज्ञान, बुद्धि र विवेकको स्तर मापन गर्न सकिन्न ।

यसरी आर्जन गरिने शिक्षा, सिकिने सीप र लिइने प्रमाणपत्रले मात्र जीवन पूर्ण हुँदैन । जीवनलाई पूर्णता दिने र सार्थक र सफल बनाउने अर्को महत्त्वपूर्ण शिक्षा हो अनौपचारिक शिक्षा । यो यस्तो बन्धनमुक्त एवम् उन्मुक्त शिक्षाप्रणाली हो जसले हरेक मानिसमा ज्ञान, बुद्धि र विवेकको विकास गर्दछ । मानिसको जीवनलाई प्रतिष्ठित, सम्मानित र यशस्वी बनाउँछ ।

यस्तो अनौपचारिक शिक्षाका मुख्य स्रोत नै आफू स्वयम्, परिवार, समाज, प्राणी, प्रकृति र सिर्जना हुन् । यी सबैभित्र ज्ञानको त्यो अथाह भण्डार छ जसले यो मानवजीवनलाई सर्वगुण सम्पन्न बनाउँछ, परिपूर्णता दिन्छ । त्रेता युगका राम र द्वापरयुगका कृष्णले गुरुकुलमा बसेर एउटै गुरुबाट सबै विषयको शिक्षा लिई आफूलाई देवता सावित गराएका थिए । त्यहाँ गणित, विज्ञान आदिका अलग अलग गुरु थिएनन् र पनि उनीहरू सर्वज्ञान सम्पन्न थिए । त्यसैले अनौपचारिक शिक्षाको महत्व औपचारिक शिक्षाको तुलनामा अत्यधिक छ ।

विश्वव्यापी रूपमा फैलिंदै गएको कोभिड-१९ महामारी, लामो समयसम्मको लकडाउन र विद्यालय बन्दको कारण आम अभिभावक र विद्यार्थीमा एककिसिमको छटपटी, चिन्ता र चासो उत्पन्न भएको छ । ‘छोरा-छोरी विद्यालय जान पाएनन्, पढ्न पाएनन्, पाठ्यपुस्तक पढाएर सकिने भएन, छोरा-छोरी बिग्रिए, बेफ्वाँकमा शुल्क तिर्नुपर्ने भयो’ आदि जस्ता कुराले हरेक अभिभावकलाई चिन्तित बनाएको देखिन्छ । तर यो आंशिक सत्य भए पनि यथार्थमा सम्पूर्ण सत्य होइन । यदि हामी अलिकति सचेत हुने हो भने हाम्रा छोरा-छोरीको घर बसाइलाई सार्थक उपलब्धिमूलक बनाउन सक्दछौँ । विद्यालयको बन्द कोठाबाट बाहिर आफ्नै काख, परिवार, समाज, परिवेश र प्रकृतिबाट उनीहरूभित्रको मौलिक प्रतिभा बाहिर ल्याउन सक्छौँ तथा जीवन जिउनका लागि चाहिने सम्पूर्ण ज्ञान दिन सक्दछौँ । यतिमात्र होइन सन्तति र परिवारका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै परिवारको महत्त्व स्थापित गर्न सक्दछौँ ।

कसरी भनेर हामी भ्रमित हुनै पर्दैन किनभने हामीले हामीसँग भएका कम्प्यूटर, इन्टरनेट, टेलिभिजन, रोचक र ज्ञानवर्द्धक पाठ्यसामग्री, साहित्यसिर्जना, चित्रकारिता, नाच-गान आदि माध्यमको प्रयोग गरी लकडाउनको घर बसाइलाइलाई सिकाइमूलक बनाउन सक्दछौँ । यदि यसो गर्यौँ भने हरेक आमा-बुवा र छोरा-छोरीका लागि यो समय निकै उपयोगी बन्न तथा दिगो अनि विश्वासिलो सम्बन्ध स्थापित गर्ने अवसर बन्न सक्दछ ।

यता केही समयदेखि स्रोतसाधन सम्पन्न केही विद्यालयले अनलाइन मार्फत आफ्ना विद्यार्थीका निमित्त सकाइमूलक विभिन्न शैक्षणिक क्रियाकलाप पनि प्रारम्भ गरेका छन् । हुन त सबै अभिभावकको पहुँच ईमेल, इन्टर्नेट हुँदै अनलाइन कक्षासम्म नहुन सक्छ तर जोसँग यसको पहुँच छ त्यसले यस अनलाइ कक्षाबाट पनि यथेष्ट फाइदा लिन र घर बसाइलाई सदुपयोग गर्न सक्दछ।

तर अनलाइन कक्षा प्रारम्भ हुँदैमा विद्यालय उत्कृष्ट हुने र विद्यार्थीले सबै सिकिहाल्ने होइनन् । उच्च शिक्षामा अनलाइन कक्षा प्रभावकारी देखिए पनि विद्यालयीय शिक्षाप्रणीमा यो त्यति प्रभावकारी हुँदैन तापनि यसले घरबसेका विद्यार्थी, विद्यालय र शिक्षक-शिक्षिकाबीच निरन्तरको सम्बन्ध कायम राख्न केही हदसम्म मद्दत नै पुग्दछ ।

धेरै समय विद्यालय बन्द भए, छोरा-छोरी विद्यालय जान पाएनन्, पढाई डामाडोल भयो, बेफ्वाँकमा शुल्क तिर्नुपर्यो । यो आफैमा चिन्ताको विषय भए पनि स्वास्थ्यभन्दा ठूलो अरु केही होइन । स्वास्थ्य राम्रो भयो भने न अरु कुराको महत्त्व हुन्छ । स्वास्थ्य नै रहेन भने पढाइ र सिकाइकै के महत्त्व रह्यो र ? यसर्थ: यस विषम परिस्थितिमा धैर्यधारण गरी घर बसाइको समयलाई सार्थक र सफल बनाऔँ । अनि विश्वलाई आक्रान्त पारिकहेको यो कोभिडको सन्त्रासबाट छिट्टै मुक्ति पाऊँ भनी प्रार्थना गरौँ ।

प्रतिक्रियाका लागि:kapilgyawali@yahoo.com

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५