….त्यतिखेर हाम्रोमा कफी खुबै फल्दथ्यो। घरको बलेनीमुनि कफीको बगैँचा नै थियो। पछि पुरानो घर भत्काएर नयाँ घर बनाऊँदा धेरै कफीका बोटहरु मासिए। कफीको बगैँचा माटोले पुर्यो। छन त अझैपनि अलिकति कफीका बोटहरु छन। तिमध्ये पनि केहि त बुढा भएर सुकिसके होलान, आजभोली त्यस्तै १५/२० बोट बाँकी होलान, बाँकी सबै मासिए, बुढा भएर सुकेर गए।
गुल्मी नगएको पनि ५ बर्ष भैसकेछ क्यारे। यसपाली त जसरि भएपनि गुल्मी जाने योजनामा छु।
लगभग एक क्विन्टल जति कांचो कफी उत्पादन हुन्थ्यो हाम्रोमा। सुकाएर बेच्दासम्म ३०/४० किलो जति हुन्थ्यो। त्यतिखेर कफीको बजारभाऊ २०० देखि लिएर २५० रुपियाँसम्म पाईन्थ्यो।
आऊनुहोस, आज कफीसंग जोडिएको मेरो रोचक कहानीको बारेमा साक्षात्कार हुनुहोस।
घरका केटाकेटीहरुमध्ये अलिकति चल्तापुर्जा र फटाहा म नै थिएँ। मसंग ठुलोबाको छोरा बिकाश दाइ पनि थियो। सन्तोष भाइ चाहिँ अलिक सानै थियो। कहिलेकाहिं सन्तोषसंगबाट पनि काम चल्दथ्यो।
खैरेनी बजारमा कफी किन्ने बेच्ने तथा प्रशोधन गर्ने केन्द्र थियो । यसैपनि गुल्मीको आँपचौर नेपालभर कफीको लागि प्रख्यात छ। त्यसैले पनि खैरेनीलाई मध्यभाग बनाएर कफी प्रशोधन केन्द्र खोलिएको थियो।
हाम्रो घर तल बढिघाट नाम गरेको ठुलो खोला छ। उक्त खोला तरिसकेपछि खैरेनी बजार आऊँथ्यो। उक्त खोलामा त्यतिखेर पुल थिएन। काठको फड्के तरेर आवतजावत गरिन्थ्यो। धेरै पछि फलामको झोलुङ्गे पुल बन्यो, त्यसपछि खैरेनी आवतजावतमा धेरै सहज भएको थियो। आजकल त बेलिब्रीज बन्दैछ अरे त्यो ठाऊँमा।
कफी फुल्न थालेदेखि नै हाम्रो मन उत्पात हौसिन्थ्यो। कहिले फल्ला र पाक्ला भनेर बिकाश र म दिन गनेर बसिन्थ्यो। रिमुवा नवराज दाईको उधारो खाएको कहिले तिर्ने भनेर कफीका फूलसंगै दिनगन्ती शुरु हुन्थे।
चैत बैशाखको वसन्तमा घरको आँघनवरपर कफी बंगैचामा झकमक्क कफी फुल्दा हाम्रो मन पनि कफीसंगै उम्लिन्थ्यो। हाम्रो उम्लिएको मन भने तल कपासे डाँडाको जंगलमा गोरु चराऊन जाँदा एकआपसमा छताछुल्ल हुन्थ्यो। घरका सदस्यले भने भेऊसम्म पाऊँदैनथे। गोरु चराऊन जांदा दिनभर नवराज दाईकोमा कतिसम्म उधारो खाने, कति कफी चोरेर कति पार्ने, कति नवराज दाईकोमा लगेर तिर्ने र बांकी पैसा के गर्ने भन्नेबारेमा कफी फुल्दादेखि नै तय हुन्थे।
स्कूलवाट आऊँदा कहिलेकाहिं हजुरबुवा, हजुरआमाहरुले कफी टिप्दै गरेको देख्थ्यौं। हजुरबुवा हजुरआमाले कफी टिपेको हामिलाई उचित लाग्थेन। किनकि उहाँहरुले टिपेर सुकाएको कफीको हिसावकिताव हुन्थ्यो। त्यसैले विभिन्न बाहाना बनाएर हजुरआमालाई भान्सातिर पठाऊँदथ्यौं भने हजुरबालाई फकाईवरि अन्तै जान या अन्य कामको बारेमा सुझाऊँथ्यौं।
हाम्रो घरमा `बा´ दूईवटा हुन्थे। हामीले हजुरबालाई पनि `बा´ भन्दथ्यौं र आफ्नो बा लाई पनि `बा´ नै भन्दथ्यौं। हजुरबा को नजरमा म काम गर्ने चतुरे केटो थिएँ। हहुर `बा´ ले अह्राएको काम बिजुलीको गतिमा फत्ते गरिदिन्थें। बालाई चुरोट किन्न होस या गोरु चराऊन, बा ले मलाई अह्राएपछि काम बिजुलीकै गतिमा फत्ते हुन्थ्यो पनि।
गोरु चराऊने पनि मुडअनुसारको हाम्रो काईदा थियो। अल्छि लागे गोरु फुकाएर पंधेरासम्म पुर्याएर पानी खुवाएर गोठमा ल्याएर बाँधिन्थ्यो र थारोमा भएका घाँसपराल या डाला घाँस राखिदिएर हामी बारीको शूली मुनि, ढिकढाक या सालघारीतिर छिरेर तास खेलिन्थ्यो। साँझपख हजुरबाले चेकिङ्ग गर्नुहुन्थ्यो, गोरु कता लगे, चराए कि चराएनन भनेर। त्यो समयमा चाहिँ गोरुलाई पुन: पँधेरासम्म पुर्याएर फर्काऊने गरिन्थ्यो। यति देखिसकेपछि हजुरबा पनि ढुक्क हुनुहुन्थ्यो। गोरु पनि टन्नै अघाएका हुन्थे। नत्र भने प्रायश: कपासे डाँडाको जंगलमैं गोरु चराएका हुन्थ्यौं।
गोरु चराऊँदाका कहानी अर्को कुनै समयमा लेखौंला। अहिलेलाई कफीतिरै ध्यान केन्द्रित गरौं।
कफी जुन रफ्तारमा पाक्दै जान्थे, त्यहिं रफ्तारमैं रिमुवा नवराज दाईकोमा अण्डा र चाऊचाऊ पनि पाक्न थाल्थे। कफी सुक्दै जाँदा हाम्रो पनि घरमा भोक सुक्दै जान्थ्यो। घरको खाना नमिठो लाग्दै जान्थ्यो। रिमुवामा अर्को पनि `उधारो केन्द्र´ खुल्यो। स्कूलनजिकै `माईल्दाईको होटल´ खुल्यो। जेरी, समोसा, चुकाऊनी, आलु, चनाको अचार, चाऊमिन, बिस्कुट, चाऊचाऊ माईल्दाईको होटलमा पनि पाक्न थाल्यो।
हाम्रो `उधारो खाने´ क्षेत्रको दायरा फराकिलो भयो। उधारो धेरै भएर नवराज दाईले नपत्याए माईल्दाईकोमा सल्किने, माईल्दाईले नपत्याए नवराजदाईकोमा सल्किने हुनथाल्यो। एवं रितले उधारोका क्षेत्रफल बढेसंगै खातामा उधारो रकम पनि बढ्दै गयो।
रिमुवाका `दाई´ हरुले उधारो पत्याऊन्जेल घरको खाना नमिठो लाग्न थाल्थ्यो हामीलाई। कहिलेकाहिं सुख्खा रोटि र भुटेका मकै सातु घरबाट लिएर बांस्खुन्स्थित खरका गाँजमा लुकाएर राख्थ्यौं र फर्किंदा खाँदै फर्किन्थ्यौं। किनकि घरबाट रिमुवा जान आऊन गरेर २/२ घण्टा लाग्दथ्यो।
उधारो पत्याऊन्जेल खरका गाँजहरु पनि मतलव गरिन्थेन, घरको खाना खानुपर्दा मुख ठुस्क्याईन्थ्यो। रिमुवाका दाईहरुले उधारो पत्याऊन छोडेपछि भने बल्ल घरको खाना मीठो लाग्थ्यो। घरबाट रोटि, मकै, सातुलगायत खरका गाँजमा लुकाएर फर्किंदा खाँदै आईन्थ्यो।
उसो त रिमुवामा उधारो खाने हामीमात्रै थिएनौं। हाम्रो भेगतिरबाट रिमुवा पढ्न जाने सबैले खान्थे। एकहिसावले हाम्रो बाध्यता पनि थियो। बिहान ८ नबज्दै पाक्दै गरेको आटो र थोरै झोलचोक्टा टिप्यो अनि झोला बोकेर स्कूलतर्फ भागीहाल्नु पर्दथ्यो। दिऊँसोको १ नबज्दै पेट भोकले कुक्याईसकेको हुन्थ्यो। अहिलेजस्तो स्कूलमैं खाजा, खानालगायत तमाम सुविधा उबेला कहाँ थियो र? आजकल त पैसाबिना स्कुल पनि जांदैनन।
हाम्रो साहारा, भरोसा र विश्वास भनेकै त्यहिं कफी थियो। किनकि उधारो खाएको त जसरि पनि तिर्नुपर्दथ्यो। नत्र उधारो खाएको घरकाले थाहा पाए त बर्बादै हुन्थ्यो नि !
स्कूलको होमवर्क पनि नगरिकन हामी कफी टिप्नमा लाग्दथ्यौं। भुईमा झरेका, चराले खाएका, बोटका सबै कफीहरु एक एक गरेर टिप्दथ्यौं। एकहिसावले कफी टिप्न अरुलाई हामीले दिन्थेनौं। हामी आफै गर्दथ्यौं।
एकदिनमा जम्मा भएको कफीको दूईभाग लाग्दथ्यो। एकभाग घरको आँघनमा देखाऊने, अर्को भाग हामीले घरदेखि टाढा लगेर लुकाएर सुकाऊने र बेच्ने योजना हुन्थ्यो। त्यसैले यौटा डालोको सट्टा दूईवटा डालो प्रयोगमा ल्याउँथ्यौं गोप्य रुपमा।
कफी सुकेर तयार भयो। अब बेच्न को जाने त भनेर भन्दा म। हजुरबा लाई म जान्छु बा भनेपछि स्यावास ! भन्दै बेच्न पठाऊनुहुन्थ्यो। पहिला हामीले घरको आधिकारिक कफी बेच्न लैजान्थ्यौं। कफी केन्द्रमा एकजना चिनेकी दिदीले काम गर्नुहुन्थ्यो। उहाँलाई हामीले कफिको बिल मिलाएर र २/४ किलो कम देखाएर बनाऊन लगाऊँथ्यौं। दिदिले कुरो पुर्याईदिनुहुन्थ्यो। कफी केन्द्रका हाकिमले हामीले भनेअनुसारकै बिलमा २/४ किलो कमी देखाएर मूल्य पनि केहि घटाएर बनाईदिनुहुन्थ्यो। यसरि २/४ किलो कफीको छुट्टै पैसा आऊँथ्यो, यता घटाएर बनाएको बिलबाट बांकी नगद फिर्ता हुन्थ्यो।
दोस्रो, हाम्रो `अबैध कफी´ बेच्ने पालो हुन्थ्यो। हामीलाई कफीको भाऊ के छ भन्ने पहिल्ल्यै थाहा हुनाले हाम्रो अवैध कफी लुकाईवरि लगेर बेच्दथ्यौं। खैरेनीमा प्राय: ले चिनेका हुनाले हामीले खेतका गह्रा कान्लातिरबाट लुकेर गएर अबैध कफी बेच्दथ्यौं भने `बैध´ कफी बेच्न जांदा चाहिँ छाती फुलाएर हिंड्ने गर्दथ्यौं।
त्यतिले मात्र कहाँ मन भरिन्थ्यो र? कहिलेकाहिं सुकाएर थारोमा कफी राखिन्थ्यो। अलिक पछि मेलापातको सिजन शुरु हुँदा मेलापात खर्चको भनेर थारोमा पोस्कर मुनि, पराल मुनि कफी लुकाएर राखिन्थ्यो। हामीलाई त्यसरि लुकाएर राखेको कफीको बारेमा थाहा नहुने त कुरै भएन। त्यसैले हामीले उक्त कफी चोर्ने अनेकन तरिका अपनाईन्थ्यो।
स्कूलका झोलामा कफी भरेर डोकामा घाँस, पराल या पोस्करले पुरेर तल गोरु गोठनेर पुर्याईन्थ्यो, कहिले पानीकागज (प्लाष्टिक) कुम्ल्याएर बाँसको गाँजमा लगेर लुकाईन्थ्यो र खैरेनी लगेर बेचिन्थ्यो। त्यसरि बेचेर प्राप्त पैसाले उधारो खाएको तिरिन्थ्यो र बंचेको पैसाले केहि खेल्ने सामाग्रीहरु किनिन्थ्यो।
केटिमान्छेहरुले दशैं, तीज, तिहारलगायत विभिन्न मेलापर्व या चाडवाडमा टिको लगाएर भए पनि पैसा पाऊँथे, हामीले पाईंदैनथ्यो। उनीहरुले उक्त पैसाको मिठाईं, चकलेट, चाऊचाऊ, बिस्कुट किनेर खान्थे, हामीहरुसंग भने ती चीजहरु किन्ने पैसा नै हुन्थेन। कि चोर्नुपर्यो, हैन भने मागेर मात्रै सहजै पाईने जमाना र अवस्था त थिएन।
एवं रितले कक्षा ६ देखि ८ सम्म पढ्दा आफ्नो खाँचो यसैगरि पूर्ती गरिन्थ्यो।
त्यतिखेरको समय र बाध्यताले उपद्रव गर्न सिकाएता पनि आजकल ति स्मरणहरु साह्रै रोचक लाग्ने।
नयाँ घर बनाएपछि पनि मेरो `बा´, काकाहरुले ढिकढाक र बाँझो जग्गामा कफी लगाऊनुपर्यो भनेर आँपचौरबाट १२ सय उन्नत जातका कफीका बेर्ना लिएर आऊनुभयो। केहि खाल्डा पनि खन्नुभयो। केहि ठाऊँमा लगाऊनुभयो बाँकीको लागि अल्छि गर्दै जानुभयो, लगाएका बेर्ना हुर्किएर आजसम्म पनि लटरम्म फल्दैछन, नलगाएका बेर्ना त्यत्तिकै खेरा गए। क्रमशः
यो पनि पढ्नुहोस : हजुरआमाको मधुस (सन्दुक) को कहानी