बंगालसंग गोर्खाल्याण्डको दुस्मनी किन?

जागरणपोस्ट १२ चैत्र २०७५, मंगलवार ०७:४०

सुवास सोताङ्ग

“मुद्दाको निम्ति एक हुनुपर्छ, मुद्दाको निम्ति एक हुनपर्छ” अहिले हामीले यही एउटा डायलग सुनिरहेका छौँ । चाहे त्यो लेबोङमा आयोजित सभामा विनय-अनितहरूले दिएका वक्तव्य होस् अथवा दिल्लीबाट जिम्बा-विमलहरूले दिएका प्रेस र भिडियो वार्तामा होस् , एउटै कुरा अघि आउँदैछ “मुदाको लागि हामी एक हुनुपर्छ ।”

अब स्वत: प्रश्न उठ्छ –“कुन मुद्दा ?”

एकातिर विनयहरूले भारतीय गोर्खाहरूको परिचय सङ्कट ममता बेनर्जीले पूरा गरिदिने भन्दै “१९५० सालको भारत-नेपाल चुक्ति”-लाई अघि ल्याइरहेछ । के त्यसो हो भने भारतीय गोर्खाहरूको परिचय सङ्कट दूर गर्ने उद्देश्यमा ‘१९५० सालको भारत–नेपाल सन्धि’-लाई सच्याउन तृणमूल सरकारको पक्षबाट केन्द्रलाई दबाउ दिइनेछ भनेर के तृणमूल पार्टीले आफ्नो चुनावी घोषणा-पत्रमा लेख्न सक्छ ? के एउटा राज्यले चाहँदैमा भारत र नेपाल सरकारको दुई देशीय वृहत्तर हितमा भएको सन्धिको सातौँ अनुच्छेदलाई हटाउन अथवा सच्याउन सम्भव छ ? के यो विषय लिएर तृणमूल पार्टी के साच्चै प्रतिबद्ध छ ? यदि छैन भने चुनावी नारामा मात्र राष्ट्रिय परिचयको सङ्कट दूर गर्ने कुरा गरेर किन गोर्खा मतदाताको भावनात्मक दोहन गर्ने प्रयास गरिँदैछ ? यो कुरा हामीले सोध्न पाउने कि नपाउने ?

अर्कोतिर साझा मंचको सभालाई छोड़छाड पारेर हठात् कुनै आकाशवाणीको भरमा दिल्ली पुगेर विमलपन्थी गोजमुमोसँग हात मिलाई जातीय हित र मुद्दाको निम्ति भाजपालाई समर्थन दिएको घोषणा गर्ने निरज जिम्बाहरूले कुन जातीय हित र मुद्दाको कुरा गरिरहेका छन् ? जातीय हितको एकलौटे हिमायतीजस्तो भएर निकै ठूलो डंकमा निकै ठूलो काम गरेको हुँकार पिट्ने उनीहरूले भारतीय गोर्खाहरूको जातीय हितमा त्यस्तो कुन ठूलो काम भयो भन्ने कुरा जनतालाई बताउने कि नबताउने ? गोरामुमोले भाजपालाई चुनाउमा सघाउने अभिव्यक्ति आउनसाथ यहाँ साइँसाइँ र सुइँसुइँ गर्ने जनताले दिल्लीमा त्यस्तो खास कुरा के भएछ भनेर सोध्न पाउने के नपाउने ? भाजपासँग कस्तो डील भयो ? के भाजपाले गोर्खाल्याण्ड दिने प्रतिबद्धता जनायो ? के भाजपाले आफ्नो चुनावी घोषणा-पत्रमा गोर्खाल्याण्डको मागलाई समेट्ने वचनबद्धता जनायो ? युटी दिन्छु भन्यो ? के भारतीय गोर्खाहरूको परिचय सङ्कट दूर गर्ने कुनै सूत्र बतायो ? होइन केही बताएको छैन भने भाजपालाई समर्थन गर्दा कसरी अथवा भाजपालाई जिताउँदा कसरी जातीय हित हुन्छ ? जातीय हितको पक्षमा मतदान गर्ने मतदाताले यो कुरा बुझ्न पाउने कि नपाउने ?

विमल गुरुङको भिडियो वार्ता हेरेपछि गोरामुमो र गोजमुमोबीचमा ११ जनजातिसँगै छैटौँ अनुसूचीको कुरा भएको प्रष्ट भयो । के ११ जनजाति र छैटौँ अनुसूची नै थियो हाम्रो राष्ट्रिय मुद्दा ? देशभित्र र देशबाहिरका करोडौं गोर्खाहरूले के यही मुद्दाको निम्ति वैश्विकरूपमा आवाज बुलन्द गरेका हुन् ? छैटौँ अनुसूचीलाई दार्जीलिंगे जनताले २००७ मा नै खारेज गरेको होइन ? दार्जीलिंगको जम्मै गोर्खे मतदाताले के छैटौँ अनुसूचीलाई सहर्ष स्वीकार्छ ? बहुसंख्यक जनता गैरजनजाति भएको यस क्षेत्रमा के छैटौँ अनुसूचीको मुद्दाले जातीय विभेद ल्याउँदैन ? हाम्रो मुद्दा यही नै थियो भने २००७, २०१३ र २०१७ को गोर्खाल्याण्ड आन्दोलन किन ? त्यतिविघ्न शहीदहरूको शाहदत किन ? कसले जवाब दिने ?

मुद्दा, मुद्दा, जातीय एकता भनेर मात्र हुन्छ ? के को निम्ति जातीय एकताको आवश्यकता पऱ्यो ? केवल तृणमूलसँग प्रतिशोध लिन ? त्यसो हो भने तृणमूलसँग हाम्रो वैरी किन भयो त ? गोर्खाल्याण्ड मुद्दाको निम्ति होइन त ? यदि गोर्खाल्याण्डको मुद्दालाई छोडेर यी खुजरे मुद्दामा हामी भुलिनु हो भने त बङ्गालसँग न हाम्रो युद्ध हुनेथ्यो न वैरी नै । ११ जनजाति र छैटौँ अनुसूचीको मुद्दा त राज्य सरकारले नै केन्द्र सरकारलाई सुम्पिएका मुद्दाहरू होइनन् र ?

विमल गुरुङलाई उकास्न जातीय एकताको आवश्यकता परेको हो भने सोझै भन्नुपर्छ । जनताले विचार्छ किनकि जान-अन्जानमा उनी गोर्खाल्याण्डकै निम्ति बन्दीजस्तो बनेका छन् । उनीसित जनताको सद्भाव र समवेदना छ । तर विमल गुरुङलाई अघि राखेर, विमल गुरुङलाई खास मुद्दादेखि भड्काएर अरू कसैले गोर्खाल्याण्डप्रेमी जनतामाथि राजनैतिक दोहन गर्न खोज्छ भने त्यो सह्य हुँदैन । गोर्खाल्याण्डबारे चाइँचुइँ छैन, भाजपाले हामीलाई सिरियस लिएकै छैन, ‘खाए खा नखाए घिच’ भन्ने भन्ने किसिमको रवैया अप्नाइरहेको स्थितिमा जनताले अब उसैलाई चुपचाप पटकपटक गुरूदक्षिणा गरिरहेर कुन एकलव्यको रिकर्ड तोड्ने ? हामीले दश-दश वर्ष जिताएको भाजपाले हामीलाई यसबेला रिजल्ट दिनुपर्ने कि ब्ल्याकमेल गर्नुपर्ने ? हामीले नसोध्नु ?

ठिक छ, जातीय एकता हुनु राम्रो हो । तर एकता केको निम्ति भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हो । हाम्रो माग भेग नहोस् । हामीलाई दिइएको आश्वासन भेग नहोस् । मोदीले “गोर्खा का सपना मेरा सपना’ र ममताले ‘गोर्खाहरूका परिचय सङ्कट दूर गर्छु’ भन्ने जस्ता भेग आश्वासनहरूको पछि अझै हामी उभिरह्यौं भने हाम्रो एकताको कुनै अर्थ हुँदैन ।

जातीय एकताको निम्ति एक हुनुपर्छ’ भनेर आह्वान गर्दै कुनै एक विशेष दल र प्रार्थीलाई जिताउन उद्धत ती नेताहरूले पनि जनतासमक्ष यति वचन त दिनै पर्दछ कि खास कामका निम्ति जिताइएका ती प्रार्थीले खास समयमा खास काम गरेन भने तिमी र तिम्रो दललाई जनताले खास के सजाय दिनु ?

अनुत्तरित प्रश्नहरूको उत्तर खोज्नु मतदाताको अधिकार बन्छ ।

(सोताङ्ग दार्जिलिङ्गमा क्रीयाशिल अधिकारकर्मी पनि हुन।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८