बुटवल : अहिले देशका प्रायजसो सबै जिल्लामा अनलाइन कक्षा सञ्चालन गरिएको छ । लकडाउनका कारण स्कुलहरु सञ्चालन हुन नसकेपछि अनलाइन कक्षा सञ्चालन गरिएको हो ।
स्कुलहरु बन्द भएको अवस्थामा विद्यार्थी पठनपाठनबाट बन्चित भएपछि सरकारको अनुमति अनुसार अनलाइन शिक्षा तथा कक्षा सञ्चालन गरिएको हो । रुपन्देहीमा पनि अनलाइन कक्षा सञ्चालन गरिएको छ । सरकारले विद्यालयहरुको पूर्वाधार अनुसार अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिएपछि रुपन्देहीमा पनि अनलाइन कक्षा सञ्चालन गरिएको हो । अनलाइन कक्षाका लागि सरकारले अनुमति दिएपनि रुपन्देहीका सबै स्कुलहरुले अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् । प्रविधिको प्रयोगमा नीजि क्षेत्रका स्कुलहरु अगाडि भएको भनिएपनि सबै स्कुलहरुले कक्षा सञ्चालन गरेका छैनन् ।
त्यस्तै, धेरैजसो सरकारी स्कुलहरुले अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् । केही नीजि र सरकारी स्कुलहरुले एसईईका विद्यार्थीका लागि टेलिभिजन शिक्षा सञ्चालन गरेका छन् । स्कुलहरुले अनलाइनबाट पढाउन प्रयास गरेपनि विद्यार्थीको पहुंच नहुंदा अनलाइन कक्षा व्यवहारिक देखिएको छैन । सबै विद्यार्थी, अभिभावक इन्टरनेटको पहुंचमा नहभएको र सबैको घरघरमा इन्टरनेट नभएकाले अनलाइन कक्षा सफल नहुने अभिभावकको गुनासो छ ।
सबै अभिभावहरुले इन्टरनेट जोड्न नसकेको र एक घरमा ३, ४ जना विद्यार्थी भएको घरमा आवश्यक अनुसार कम्प्यूटर तथा ल्यापटप र मोवाईल नभएकाले अनलाइन शिक्षा सबैको पहुंचमा नभएको अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले बताउनु भयो । अनलाइन कक्षाबाट पनि पढ्नु पर्छ भन्ने भावनाको विकास भएपनि सबैको पहुंच नहुंदा तत्कालका लागि अनलाइन शिक्षा व्यवहारिक नभएको उहांको तर्क छ ।
अनलाइन कक्षाका लागि शिक्षक, शिक्षिका र विद्यार्थी अभ्यस्त छैनन् । जसका कारण विद्यार्थी अनलाइन कक्षाप्रति आर्कषित भएको देखिदैन । लकडाउन अघि सबै स्कुलहरुले शिक्षक र विद्यार्थीलाई स्कुलको क्षेत्रभित्र मोवाइल निषेध गर्ने गरेका थिए । नयांनयांं प्रविधिप्रति दक्ष नभएका कारण पनि अहिले शिक्षकहरुलाइ पढाउन समस्या भएको र विद्यार्थी अनलाइन शिक्षाप्रति विद्यार्थी आर्कषित नभएको शिक्षक विनोद बस्यालले बताउनुभयो ।