कोरोनाको संकटबाट गुज्रिरहेका प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । एक सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौँबाट प्रदेश फर्किएलगत्तै आइतवार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् । ‘मुख्यमन्त्री हराए’ भन्दै समाजिक सञ्जालमा टिप्पणी भएपछि मुख्यमन्त्रीले जनतालाई सम्बोधन गरेका हुन् । ‘भाषण होइन कोरोना विरुद्ध विशेष अभियान चाहियो’ भनेर टिप्पणी हुन थालेपछि मुख्यमन्त्रीले सम्बोधन गरेका थिए ।
प्रदेशवासीलाई सम्बोधन गर्नुअघि उनले गृहनगर बीरगञ्जको क्वारेन्टाइन अनुगमन गरेका थिए । सम्बोधनका क्रममा राउतले संघीयता आफुहरुकै कारणले आएको दावी गरे । सम्बोधनका क्रममा उनले प्रदेश नम्बर २ मा तत्काल ५० वटा भेन्टिलेटर सहितको सेवा सुरु हुने जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल बीरगञ्जमा १०÷१० तथा अन्य जिल्ला अस्पातालहरुमा ५/५ गरी ५० थान भेन्टिलेटर जडान, प्रत्येक जिल्लामा १/१ थान एम्बुलेन्स तथा शव बाहन उपलब्ध गराउने प्रकिया समेत अगाडि बढेको जानकारी दिए ।
भारतसँगको खुला सीमाना तथा उच्च जनघनत्व जस्ता कारणले संक्रमणको जोखिममा रहेको यस प्रदेशमा कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले विभिन्न बिधि र उपाय अवलम्वन गरिरहेको सम्बोधनका क्रममा बताएका थिए ।
‘नेपाल सरकारले लकडाउन कार्यान्वयन गरेपछि प्रदेश सरकार कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचार तर्फ केन्द्रित भयो । जस अनुरुप प्रदेशको अस्थाई राजधानी जनकपुर सहित बीरगञ्ज र राजविराज जस्ता सहरहरुमा पि.सि.आर. मेसिन सहितको प्रगोगशाला स्थापना गर्ने नितीगत निर्णय ग-यो ।’ उनले भने । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका अभ्यासहरु विश्वका लागि नै नयाँ भएको भन्दै यस प्रदेश सरकारले बरिष्ट चिकित्सक तथा स्वास्थ्य प्रशासनमा दख्खल भएका विज्ञहरु सम्मिलित सल्लाहकार समिति गठन गरेर विज्ञहरुको सुझाव अनुसार क्वारेन्टाइन, आइसोलेशन तथा कोभिड १९ बिशेष अस्पताल निर्माण गर्ने लगायतका कार्यहरु अगाढि बढाईएको जानकारी दिए ।
प्रदेश मातहत रहेका अस्पतालहरुलाई रु ५ करोड देखी २२ करोड सम्म रकम उपलब्ध गराई अस्पतालहरुको स्तरोन्नति, पूर्वाधार निर्माण लगायतको काम समेत शुरु गरिएको उनको भनाई थियो ।