नेपाल र भारतमा जारी लकडाउनका कारण लामो समयदेखि आफ्नो देश फर्किन नपाएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो स्वदेश पठाइएको छ । वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी) हुँदै उनीहरुलाई भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो ।
भारत विहार राज्यको पूर्वी चम्पारण जिल्ला प्रशासनका कर्मचारीले आफ्ना नागरिक जिम्मा लिएका थिए । १ सय ९८ मध्ये ९९ जना भारतीयलाई वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
कोभिड १९ संक्रमण भई निको भएका १ सहित २५ जना जमाती र आफन्तको घरमा सेल्फ क्वारेन्टाइनमा बसेका भारतीय नागरिकसहित १ सय ९८ जनालाई भारत सरकारको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए ।
यसैगरी भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसमध्ये पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३/२३ जना लगायत २५ जिल्लाका बासिन्दा छन् । ‘नेपालको २५ जिल्लाका २ सय २२ नागरिक रक्सौलको क्वारेन्टाइनमा छन्,’ सहायक प्रजिअ बस्नेतले भने, ‘सबैलाई बुधबार वीरगन्ज ल्याइने छ ।’ जुन जिल्लाले आफ्ना बासिन्दा पठाइ दिउ भन्छन्, उनीहरुलाई हामी पठाइदिन्छौं, बाँकीलाई यहाँको क्वारेन्टाइनमा राखिने छ ।
वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालय र द्धारदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उनीहरुलाई राख्ने व्यवस्था मिलाइएको छ । ‘क्वारेन्टाइनमा राखेर थ्रोट स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर पठाउने व्यवस्था मिलाउँछौं,’ बस्नेतले भने ।