भारतीय मिडियाहरुको गतिविधि हेर्दा यस्तो लाग्छ उनीहरु नै नेपालका भाग्यविधाता हुन। अझ विशेष गरेर भारतीय टेलिभिजन च्यानलहरुको प्रस्तुती कुन हदसम्म निम्छरो छ भनेर कल्पना गर्नको लागि यौटा सानो उदाहरण नै पर्याप्त छ। उसो त भारतको राजधानी दिल्ली हरेक बर्ष जाडो मौसममा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुने क्षेत्रमा पर्दछ। २०१८ को गर्मीको महिना जुनमा भारतकै प्रतिष्ठित मल्टिमिडिया कम्पनी जी ग्रूपअन्तर्गतको यौटा च्यानल `जी न्यूज´ ले यौटा अत्यन्त खेदजनक एवं गैरजिम्मेवारपूर्ण समाचार प्रसारित गर्यो, जुन समाचारलाई लिएर स्वयं भारतका अधिकांश जनता लज्ज्तित भएका थिए। जी न्यूजको सनसनीपूर्ण समाचारको शीर्षक थियो-पाकिस्तान ने गिराया भारत मे गर्मी बम। जी न्यूजको उक्त समाचारलाई लिएर अधिकांश भारतीयहरु लज्जित भएका थिए।
भारतीय न्यूज टेलिभिजन च्यानलहरुको आक्रान्तबाट छुटकारा पाऊन भारतकै नागरिकले बहस गरिराखेको अवस्थामा त्यस्ता टेलिभिजन च्यानलद्वारा नेपाल आक्रान्त हुनु कुनै नौलो कुरा पनि होईन। सत्ताको ईर्दगिर्द घुमेर सत्ता र शक्तिको पुजा गर्ने अनि अफवाहको चरमचूली फैलाऊने भारतीय टेलिभिजन च्यानलहरु नै हुन भारतमा जातीय एवं धार्मिक साम्प्रादयता फैलाऊने पनि।
मुश्लिम, अल्पसंख्यक, दलित, सिमान्तकृत, पिछडावर्ग, श्रमिकजस्ता वर्गको सारथी कहिल्ल्यै बनेनन भारतीय टेलिभिजन च्यानलहरु, बरु उनीहरुको नाङ्गो तस्विर, गरीबी, सामाजिक मनोविज्ञानमाथी प्रहार गरेर मालामाल भए, जातीय दंगाको विजारोपण गरे, धार्मिक असहिष्णुतामा घ्यू थप्ने काम गरे भारतीय टेलिभिजन च्यानलहरुले।
र, अनि भन्नसम्म भ्याए- नेपाल भारत सीमा बन्यो चीनको रणभूमी भनेर। यतिविघ्न हतास र पराजित मानशिकता बोकेको टेलिभिजन दृष्य ऐलेसम्म हामीले संसारभर कहिं कतै देखेका थिएनौं।
अहिले भारतीय टेलिभिजन च्यानलहरुमा नेपाल, भारत र चीनविचको सम्बन्धलाई लिएर जसरि एकपक्षिय, कपोलकल्पित र हतास मानशिकताका साथ बहस चलाईएको छ, त्यस्ता मनगढन्ते वहसबाट नेपाल उत्तेजित हुनुपर्ने कुनै कारण नै छैन। एकहिसावले भन्ने हो भने नेपालमा स्थापित मूलधारका संचारमाध्यमहरु निकै संयम, जिम्मेवारीवोध एवं राष्ट्रिय दायित्वसहित अग्रमोर्चामा छन भने भारतीय विद्युतिय संचारसंग भारतकै जनता आक्रान्त छन। तर, नेपालका विद्युतिय संचारमाध्यमले ऐलेसम्म व्यवसायीक धर्म निर्वाह गरेको कारणले नै राज्यको चौंथो अंगमात्र होईन, नागरिकको दिलमा समेत बस्न सफल छन। भारतका विद्युतीय संचारमाध्यमप्रति भारतीय जनताको चरम इरिटेड नेपालका मूलधारका संचारमाध्यमप्रति नेपाली जनताको नभएको हुनाले नागरिक र संचारमाध्यप्रतिको यो सौहार्दता निरन्तर रहिरहनेछ भन्ने अपेक्षा पनि छ।
नेपाल चीनको अंगालोमा जाओस या भारतको काखमा सुतोस, यो नेपालको आन्तरिक मामिला हो। नेपालको स्वविवेकको कुरा हो। यसमा भारतका टेलिभिजनहरुले भारतको न्यानो काख छोडेर चीनको चिसो काखमा नेपाल सुत्न गयो भन्ने हैशियत कसरि राख्न सके?
भारत अंग्रेजहरुको गुलाम हुँदैगर्दा पनि नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र थियो। भारतीय जनताहरुले अंग्रेजको गुलामी स्विकार्दासम्म नेपालका नेपाली जनता स्वतन्त्र र स्वाभिमानी जिन्दगी जिऊँदै थिए भने अंग्रेजबाट छुटकारा पाएको ८ दशक पूरा हुन पाऊँदा नपाऊँदै भारतीय टिभी च्यानलले नेपालको भाग्यरेखा कोर्ने हैशियत कुनै कोणबाट पनि राख्न सक्तैनन।
नेपालका न्यूज टेलिभिजन च्यानलहरुले भारतको स्वतन्त्रता, अस्मिता र प्रतिष्ठानमाथी कहिं कतै आंच नपुर्याएको अवस्थामा भारतीय न्यूज टेलिभिजन च्यानलहरुले नेपालको अस्मितालाई कुल्चिंदै चीनको सिमाना बिरगंजसम्म आईपुग्यो भनेर भन्ने हिम्मत कसरि राख्दछन?
दूई देशबिच आपसी सहकार्य र विश्वासमा सुल्झिने कुटनैतिक, राजनैतिक एवं रणनितिक महत्त्वको विषयमा भारतीय न्यूज टेलीभिजनहरुको शैली मोदी सरकारभन्दा माथी देख्दा लाग्छ; भारतमा भारतीय संचारमाध्यम आफ्नै कारणले राज्यको चौंथो अंग बन्न सकिराखेका छैनन, तर नेपालका संचारमाध्यमहरु ऐलेसम्म राज्यको चौंथो अंग बन्न सफल नै छन, भविष्यमा बाटो नबिराएको खण्डमा।
र, यौटा उदार र विश्वकै लोकतन्त्रमूलक देश भनिएता पनि भारतीय संविधानमा नेपालमाजस्तो संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको पाइँदैन। भारतीय संविधानको धारा १९ ले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । त्यसका आडले भारतको उच्च न्यायालयले प्रेस स्वतन्त्रताको पक्षमा दिएका फैसलाहरूले नै नजिरको रूपमा कानूनी हैसियत ग्रहण गरेको पाइन्छ । संविधानले दिएको स्वतन्त्रताको उपयोग गर्न चाहनेले भारतमा सन् १९५३ को कम्पनी ऐनअनुसार प्रकाशनका लागि रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ। यसका साथै भारतमा श्रमिकसम्बन्धी विभिन्न कानूनहरूले पनि प्रकाशनको क्षेत्रमा गाइड गरेको पाइन्छ ।
नेपालमा संचार क्षेत्रलाई राज्यको चौंथो अंग मानिएको अवस्थामा मिडियासम्बन्धि बिबादलाई नेपाल प्रेस काऊन्सिलले हेर्दछ। नेपालका जिम्मेवार अनलाईन मिडिया, छापा मिडिया, अन- एयर मिडिया एवं श्रव्य- दृष्य मिडियाले कहिं कतै गल्ती गरे तुरुन्त कारवाहीको भागिदार हुन्छन र नेपालभर सम्प्रेषण गर्नेमात्र नभई बन्देजको अवस्थाको सामना गर्दछन र त नेपालका मूलधारका मिडियाको धर्म पनि सेवा रहिआएको छ।
भारतीय टेलिभिजन मिडियाले नेपालको भाग्य कोर्ने होईन। उनीहरुले बहस चलाऊन सक्तछन, तर चीनको बोर्डर बिरगंजसम्म आयो भनेर भन्ने हैशियत राख्दैनन।
राजनैतिक, भौगोलिक, कुटनैतिक, सामाजिक एवं आपसी हितमा सल्झिने काममा भारतीय टेलिभिजन मिडिया वकिल नबनेकै राम्रो।
नेपालले लिपुलेक, कालापानी, लिम्पियाधुराको मात्र होईन, तराईका सीमाक्षेत्रमा समेत धेरै जमीन गुमाएको छ भारतको अतिक्रमणद्वारा। भारतले बर्षौंदेखि बलजफ्ती हडप्दै आएको नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नेपालले सार्वजनिक गर्दैमा भारतीय संचारमाध्यमहरुमा ज्वालामूखी विस्फोट हुनु कुनै कोणवाट पनि जायज मान्न सकिँदैन। भारतले बर्षौंदेखि नेपालका भूभागहरु बलजफ्ती गरेर हडपेका समाचारहरु सार्वजनिक भैरहंदा आजसम्म कुनै पनि भारतीय मिडियाले भारतले त्यसो गर्न हुन्थेन भनेर भन्न सकेनन। यौटा स्वतन्त्र र सार्वभौम राष्ट्रको जमीनमाथी निरन्तर भारतले बक्रदृष्टि लगाऊँदा चुप रहेका भारतीय संचारमाध्यमहरु नेपालले आफ्नो भुभागको खोजीनिति गर्दा चाहिँ रुवावासी गर्नु अत्यन्तै गैरजिम्मेवार र हतास मानशिकताको पराकाष्ठा हो।
र, यौटा सार्वभौम देशको आन्तरिक राजनितीमाथी बाह्य देशका मिडियाले जजमेन्ट गर्न खोज्नु पनि गैरकानूनी, असान्दर्भिक तथा हास्यास्पद हो। हो, विश्वका सबै देशको आन्तरिक राजनिति, अर्थतन्त्र, भूगोल तथा त्यससम्बन्धि बिभिन्न आयामहरुको बारेमा चर्चा, वहस, छलफल चलाऊन सकिन्छ, तर उक्त देशको सार्वभौमिकता र अस्तित्वमाथी प्रश्नचिन्ह उठाऊन कदापी पाईंदैन।
अर्को कुरा विश्वमानचित्रमा नेपाल भौगोलिक, आर्थिक, राजनैतिक सामाजिक र विभिन्न दृष्टिकोणबाट विश्वका हरेक स्वतन्त्र देशहरुजस्तै नेपाल पनि एक अलग्गै स्वतन्त्र र सार्वभौम देश हो। नेपालले कुन देशसंग कस्तो सहकार्य एवं सम्बन्ध बढाऊने भन्नेबारे नेपालको आफ्नै आन्तरिक अधिकारको कुरा हो, यसमा भारतीय टेलिभिजन च्यानलहरुले निर्णय गर्ने होईन। नेपाल सधै भारतको छत्रछायाँ र भारतीय सुरक्षा छाताभित्र रहिरहनुपर्छ भन्ने भारतीय मिडियाको सोंच नै संकिर्ण र गलत छ। पहिला त भारतीय मिडिया यस्तो संकिर्ण र गलत सोंचबाट मुक्त हुनैपर्दछ।
भलै भौगोलिक, सांस्कृतिक, धार्मिक एवं सामाजिक तथा खुल्ला सिमानाको कारणले गर्दा नेपाल र भारतका कतिपय साझा मिलनविन्दु पनि होलान र साझा मुद्धा तथा समस्या पनि होलान। तर, यति भन्दैमा नेपाल `छोंटे भाई´ र भारत `बढे भाई´ भन्ने हुँदैन। हरेक देशको आफ्नै स्वतन्त्रता र स्वाभिमान रहेको हुन्छ।
नेपालले भारतसंग हार्दिकतापूर्ण सम्बन्ध बिस्तार गर्दैमा नेपाल भारतद्वारा सुरक्षित रहने र नेपालले अन्य मुलुकसंग पनि समदर्शीपूर्ण सम्बन्ध स्थापित गर्दैमा नेपाल रणभूमीमा परिणत हुने होईन। भारतीय मिडियामा यहिं भ्रमपूर्ण चिन्तले गर्दा नै सम्बन्धलाई जटिल बनाऊँदै लगेको हो।
नेपालले भारसंगमात्र व्यापार तथा सुरक्षा सम्झौता गर्नुपर्छ भन्ने छैन। विश्व व्यापार संगठन तथा संयुक्त राष्ट्रसंघको सदस्यराष्ट्र भएको नाताले नेपालले बिश्वका जुनसुकै देशसंग पनि व्यापार, पारवहन तथा सुरक्षा सम्झौता गर्न सक्तछ। यसको लागि नेपाल स्वतन्त्र छ। त्यसैअनुरुप नै नेपालले भारतबाहेक अन्य तेस्रो मुलुकसंग जोडिएर द्विदेशीय सम्बन्धलाई थप उंचाईमा पुर्याऊन सक्तछ, त्यसको लागी भारतलाई सोधिरहनु आवश्यक पनि रहंदैन, किनकि नेपालले अहिलेको समयसम्म आईपुग्दा धेरै कुराहरुमा आफै फैसला गर्नसक्ने सामर्थ्य राख्दछ।
अतिक्रमणमा परेको आफ्नो भूमीसहित नेपालले आफ्नो नक्सा सार्वजनिक गर्दा भारयीय संचारमाध्यममा जुन रुवावासी चलेको छ, त्यस्ता क्रियाकलापहरु अत्यन्तै गैरजिम्मेवारीपन, अराजक तथा दूई देशबिचको सम्बन्धमा थप जटिलता निम्त्याऊने काम गरेका छन। भारतीय संचारमाध्यमले पहिला यो बुझ्नु जरुरी छ कि सीमाको महत्व भनेको के हो भनेर? लद्दाख, जम्मुकश्मिर, श्रीनगरमा सीमाकै लागि भारत पाकिस्तान र चीनले केकति मूल्य चुकाऊनु परेको छ भनेर यतातर्फ विश्लेषण र वहस गर्नसक्ने ल्याकत राख्ने हो भने नेपाल भारतबिचको सीमा विवादलाई लिएर यतिविघ्न रुवावासी गर्नुपर्ने पनि थिएन। वैधानिकरुपमा रहेको नेपालको भुभाग अवैधानिक रुपमा भारतले मिचेर सडक बनाऊँदै गर्दा नेपालले भारतका त्यस्ताखाले हर्कतको बिरोध गर्दै आफ्नो भूमीप्रति चासो राख्दैगर्दा भारतीय संचारमाध्यमले चीनसंग मिलेर नेपालले भारविरुद्ध गतिविधी गर्यो भन्नु अत्यन्तै खेदजनक छ।