एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ मा संलग्न दुई प्रहरीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो र सप्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरी र अन्यलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय कल्याण्डपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डल छन्। यस्तै, विष्णुदेव यादव, मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रदेश नम्बर २ मा चैत १४ र १५ गतेको एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो। सो प्रकरणको अनुसन्धानमा जुटेको ब्युरोले प्रहरीसमेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
ब्युरो प्रमुख निरजबहादुर शाहीका अनुसार सबैलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी अनुसन्धान थालिएको छ। शाहीका अनुसार १४ गते सामाजिक र १५ गते विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको थियो।
प्रश्नपत्र जवान सुनरैतमार्फत सार्वजनिक भएको शाहीले बताए। उनले फोटो खिचेर विष्णुदेव यादवलाई पठाएको फेला परेको शाहीले बताए।
पक्राउ परेकाहरूलाई शिक्षा ऐन, चोरी ऐनलगायत मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ।
‘सरकारी वकिलसँग हामी परामर्शमा छौं,’ शाहीले भने, ‘के कस्तो मुद्दा चलाउनेबारे टुंगो लाग्ने छ।’