काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नगर्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनकाे आधारलाई नै मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।
कोभिड-१९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार एसईई परीक्षा स्थगीत गरेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले गिरिराजमणि पोखरेलले तत्काल एसईई परीक्षा लिन सम्भव नभएको भन्दै विद्यार्थीहरुको अध्ययन निरन्तरताका लागि भन्दै बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न बुधबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।
शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो ।
एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
त्यसरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।