श्रवणकुमार आमा–बुवाभक्त एक महान् पौराणिक पात्र हुन् । अयोध्या नगरीको ग्रामीण परिवेशमा जन्मेका यिनी ज्ञानवती र शान्त्वनका एक मात्र छोरा थिए । श्रवणको मातृ–भक्ति र पितृ–भक्ति सम्पूर्ण छोरा–छोरी वा सन्तानका लागि कर्मणीय, अनुकरणीय र उदाहरणीय छ । जीवनभर ‘मातृदेवो भव, पितृदेवो भव’ भन्दै आप्mना दृष्टिविहीन आमा–बुवाको सेवामा समर्पित श्रवणकुमारलाई पूजनीय प्रशंसनीय पौराणिक पात्रका रूपमा लिइन्छ ।
शान्त्वन–ज्ञानवती जन्मजात दृष्टिविहीन थिएनन्, छोराको जन्मपछि मात्र दृष्टिविहीन भएका हुन् । यिनीहरूबाट धेरै वर्षसम्म सन्तान भएनन् । सन्तानोत्पत्तिका निमित्त धेरै तीर्थ–व्रत गरे, पूजा–पाठ गरे । तर सन्तान नभएपछि उनीहरू कठोर शिव–ध्यानमा बसे । वर्षौँसम्मको ध्यानपछि भगवान् शिव प्रकट हुनुभयो र इच्छित वर माग्न अनुरोध गर्नुभयो ।
“हे प्रभु ! सन्तानबिनाको हाम्रो जीवन अत्यन्त निरश र एकाकी बनेको छ । जीवन–मुक्ति तथा मोक्षप्राप्तिका लागि पनि एउटा सन्तान त चाहिन्छ नै । यसर्थः हामीलाई एक छोराको आशीर्वाद दिनुहोस् ।”
“हे भक्त ! तिमीहरूको भाग्यमा सन्तान–सुख लेखेको छैन । म तिमीहरूलाई सन्तान–सुख दिन सक्दिन । अरु नै केही माग ।”
कैलाशपति शिवको कुराले शान्त्वन–दम्पति निराश भए । उनीहरूले शिवको पाउमा परेर विलाप गर्न लागे । आप्mना भक्तहरूको यस्तो अवस्था देखेर शिवले भने, “हे भक्त दम्पति ! म तिमीहरूलाई छोराप्राप्तिको आशीर्वाद दिनसक्छु तर छोराको सुख दिन सक्दिन । तिमीहरूले आप्mनो छोरालाई प्रत्यक्ष हेर्न र स्पर्श गर्न सक्दैनौ ।”
“अनि पभु, किन, के हुन्छ र ?” निराश हुँदै शान्त्वनले विन्ती गरे ।
“यदि तिमीहरूले छोरालाई हे¥यौ वा छोयौ भने तत्क्षण तिमी दुवैको आँखाको ज्योति हराउनेछ । तिमीहरू दृष्टिविहीन हुनेछौ ।”
वर्षदिनपछि शान्त्वन–ज्ञानवतीबाट एक होनहार तेजस्वी छोराको जन्म भयो । उनको नाम श्रवणकुमार राखियो । एउटी आफन्ती महिलाको हातमा छोराको हेरचाहको सम्पूर्ण जिम्मेवारी सुम्पियो । तर आमा–बुवाको मन न हो, सन्तानको मुख नहेरी किन मान्थ्यो र ? श्रवणकुमार रुँदा–हाँस्दा गएर च्याप्प समाउन खोज्थे, धाईले कोखा–कोखा गरेको सुन्दा बररर आँसु झार्थे । नौ महिना गर्भमा राखी हुर्काएको आप्mनो छोरालाई मातृत्व र पितृत्व दिन नपाएकोमा निकै दुःखी र पीडित थिए । यस्तो सन्तान–पीडामा छटपटिएर बाँच्नुभन्दा त बरु नभएकै हुन्थ्यो भनी बिलौना गर्थे ।
दिनहरू बित्दै गए । श्रवण बाबा–बाबा, आमा–आमा भन्नसक्ने भए । शान्त्वन दम्पति अर्को कोठामा बसेर छोराको तोतेबोली सुन्थे र दङ्ग पर्थे, घोप्टी परेर घस्रिएको, टुकुटुकु हिँडेको बालसुलभ स्वभावको कल्पना गरी सुखको अनुभूति गर्थे, फेरि एकैछिनमा ‘मेरो बाबू, मेरो बाबू’ भन्दै उतैतिर लम्किन खेज्थे । तर ‘तिमीहरूको दृष्टि हराउनेछ’ भन्ने संझनाले छियाछिया मनलाई समाल्थे ।
आपूmले जन्म दिएको सन्तानबाट कुन आमा–बुवा धेरै समयसम्म टाढा रहनसक्थे र ? एक दिन श्रवण कोहाँ–कोहाँ र कुक्क–कुक्क गरी राएको सुनेर ज्ञानवतीको मातृत्व उम्लेर आयो । ‘मेरो बाबू, मेरो बाबू’ भन्दै गएर च्याप्प छोरालाई काखमा लिइन् । ‘के भयो मेरो बाबूलाई, के भयो मेरो बाबूलाई’ भन्दै एक वर्षपछि मात्र छुन–हेर्न पाएका आमा–बुवाको ममता एकैपटक पोखियो, मातृत्व र पितृत्व छताछुल्ल पोखियो । उनीहरूले आँखाको ज्योति हराएको पनि पत्तै पाएनन् ।
बेलुकीको समय थियो । शान्त्वन दम्पति श्रवणकुमारलाई लिएर तलाउको किनारमा गए । श्रवणलाई शान्त्वनको छेउमा राखी ज्ञानवती लुगा धुन लागिन् । शान्त्वन जप गर्दै थिए । छेउमा बसेका श्रवण घस्रिँदै–घस्रिँदै तलाउमा पुगे । एकछिनपछि ज्ञानवती आएर श्रवणलाई राखेको ठाउँमा छामिन् । त्यहाँ श्रवण थिएनन् । उनीहरू दुवै आत्तिए । ‘बाबू श्रवण, बाबू श्रवण’ भन्दै छोरालाई खोज्न थाले तर दृष्टिविहीन उनीहरू न निर्वाध हिँड्न सक्थे, न हेर्न नै सक्थे ।
त्यही समय अयोध्याका युवराज दशरथ ‘शब्दभेदी धनुर्विद्या’ लिन वशिष्ठ ऋषिको आश्रम जाँदै थिए । श्रवण डिलबाट फुत्त तलाउमा खसेको उनले देखे । हत्तपत्त गएर श्रवणलाई निकाले । “ए महन्थ शान्त्वन ! यी यहाँ छ तपाईँहरूको छोरा श्रवण । यस्तो होनहार, तेजस्वी छोराको हेरचाहमा अलि ध्यानदिनुप¥यो ।”
“हे युवराज ! हजूरले हाम्रो बूढेसकालको लट्ठी, संसार हेर्ने आँखा तथा जीवनको सहारा छोरालाई बचाएर ठूलो गुन लगाउनु भयो । “हामी दृष्टिविहीन आमा–बुवा हजूरलाई आशीर्वाद दिन्छौँ, हजूरका चार भाइ छोरा होऊन् । हजूरको जय–जय होस् !”
दृष्टिविहीन आमा–बुवाबाट शिशुको स्याहार–सुसार र हेरचाह हुनु अवश्य नै कठिन कार्य हो । यसैले युवराज दशरथले भने, “देवी ज्ञानवती ! आजदेखि शिशुको हेरचाहका लागि एउटी धाईको व्यवस्था मिलाईदिन्छु । श्रवणको राम्रो हेरचाह गर्नुहोला ।”
वशिष्ठ ऋषिको आश्रम पुगेका युवराज दशरथले ऋषिलाई प्रणाम गरे । “हे युवराज ! अचानक मेरो आश्रममा ! केही विशेष काम थियो कि ?”
“हे गुरुवर ! म हजूरबाट ‘शब्दभेदी धनुर्विद्या’ लिन चाहन्छु ।”
दशरथको चाहना सुनेर ऋषि गम्भीर भए । “हे युवराज ! तपाईंको लागि ‘शब्दभेदी धनुर्विद्या’ शुभ देखिन्न । यदि तपाईंले ‘शब्दभेदी धनुर्विद्या’ लिनुभयो र प्रयोग गर्नुभयो भने त्यसको असर तपाईंको जीवनमा मात्र होइन पूरै अयोध्यावासीलाई पर्नेछ । कृपया ‘शब्दभेदी धनुर्विद्या’ का लागि जिद्दी नगर्नुहोस् ।”
“हे गुरुवर ! हजूरबाट पाएको शिक्षा कहिल्यै अपूरो हुँदैन । यस विद्याको प्रयोग कतिखेर, कहाँ, कसरी गर्नुपर्छ भन्ने कुरा पनि सिकाइदिनुहोस् । म हजूरबाट पाएको ज्ञानको पूर्ण सदुपयोग गर्नेछु ।”
दशरथको कुराले वशिष्ठ ऋषि झनै डराए । “हे दशरथ ! तिम्रो भाग्य र कुण्डलीमा ‘शब्दभेदी धनुर्विद्या’ लेखेकै छैन । यदि यो शिक्षा लियौ र प्रयोग ग¥यौ भने त्यसबाट ठूलो अनिष्ट हुनेछ, विपत्ति आउनेछ । जसको निमित्त तिमीले सबैभन्दा धेरै खुसी दिएका थियौ, त्यही खुसी तिमीबाट खोसिनेछ, तिमीमाथि ठूलो कलङ्क लाग्नेछ । त्यही पीडामा छटपटिँदै तिम्रो मृत्यु पनि हुनेछ ।”
तर युवराज दशरथको जिद्दीको अगाडि वशिष्ठ ऋषिको केही लागेन । उनले ‘शब्दभेदी धनुर्विद्या’ ले अयोध्याका युवराज दशरथलाई दीक्षित गरे ।
शान्त्वन–ज्ञानवती दृष्टिविहीन भए पनि विद्वान् र संस्कारयुक्त थिए । आमा–बुवा र सुसारेको हेरचाहमा श्रवणकुमार हुर्किँदै–बढ्दै गए । आप्mना दृष्टिविहीन आमा–बुवाका कारण उनको शिक्षा–दीक्षाको सम्पूर्ण व्यवस्था घरमै मिलाइयो । विद्वान् बुवाबाट नै श्रवणले वेदवेदान्त, दर्शन आदि शास्त्रको अध्ययन पूरा गरे ।
श्रवणकुमार आप्mना अन्धा आमा–बुवाका भक्त थिए । उनका लागि ईश्वर भनेका आमा–बुवा नै थिए । उनीहरूको सेवा नै ईश्वर सेवा थियो । आमा–बुवाको भक्ति नै ईश्वरभक्ति थियो । आमा–बुवाको खुसीमा नै ईश्वर रमाएको देख्ने श्रवण दिन–रात आमा–बुवाकै सेवामा लागिरहन्थे । ‘मातृदेवो भव, पितृदेवो भव’ उनको एक मात्र मन्त्र थियो भने उनका देवी–देवता भनेका आमा र बुवा नै थिए । यसै मन्त्रबाट उनी दिन–रात आमा–बुवाको पूजा गर्दथे ।
सर्वशास्त्रका ज्ञाता श्रवणकुमारले हरिद्वारमा भएको विद्वत्सभामा महान् विद्वत्शिरोमणिहरूलाई हराई विद्वत्ताको परिचय दिएका थिए । ‘कुनै पनि छोरा–छारीका निमित्त प्रथम ईश्वर आमा–बुवा हुन् अनि दोस्रो ईश्वर देवी–देवता । निस्वार्थ भावनाले गरिने आमा–बुवाको सेवा नै ईश्वर–पूजा हो । आमा–बुवामाथिको आस्था, विश्वास र भक्ति नै ईश्वर भक्ति हो ।’ उनको यस्तो भनाइले धुरन्धर विद्वान्हरूलाई प्रभावित पारेको थियो । ‘मातृदेवो भव, पितृदेवो भव’ भित्र अपार आनन्द र शक्ति लुकेको हुन्छ भन्ने कुरालाई श्रवणले विद्वत्सभा समक्ष पुष्टि गरेका थिए ।
सौभाग्यले वशिष्ठ ऋषिसँग श्रवणकुमारको भेट भयो । श्रवणले आमा–बुवाको आँखाको ज्योतिका विषयमा ऋषिसँग जिज्ञासा राखे । “हे श्रवण ! ‘मातृदेवो भव, पितृदेवो भव’ लाई तिमीले केवल मन्त्र मात्र बनाएका छैनौ, सिद्धान्त, दर्शन, व्यवहार र कर्म पनि बनाएका छौ । यसबाट म मात्र होइन सम्पूर्ण देवी–देवता खुसी छन् । यदि तिमीले आमा–बुवालाई बद्रिनाथ, केदारनाथ, गङ्गोत्री, यमनोत्री, काशी आदि स्थानको तीर्थ गराउन सक्यौ र ती स्थानमा बग्ने नदीको जलले आँखामा सेचन गरायौ भने आँखाको ज्योति अवश्य फर्कनेछ । तर दृष्टिविहीन आमा–बुवालाई यी सबै ठाउँको भ्रमण गराउन निकै कठिन छ ।”
“महर्षि वशिष्ठ मलाई आशीर्वाद दिनुहोस् ताकि म आमा–बुवालाई यी सबै तीर्थहरूको भ्रमण गराउन सकूँ ।” वशिष्ठ ऋषि ‘तथास्तु’ भनी आप्mनो बाटो लागे ।
वशिष्ठ ऋषिको सल्लाहबमोजिम श्रवणकुमार आमा–बुवालाई खर्पनमा राखी आफै बोकेर लामो तीर्थ–यात्राका लागि निस्किए ।
लेखकद्वारा थप: श्रवणकुमार- राजा दशरथ- शव्दभेदी वाण र मृत्यु
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]