आफ्नै कथा
बुबाले बनाएको (प्रौढ पाठशाला (सर्कारी निकायबाट स्वीकृत प्राप्त) सहित )तीन तले बाईस हाते घर छाउन नसकेर गर्ल्याम्म ढल्यो , घर सँगै बुबाको जीवनभरको आर्जन र सपना पनि ढले , बुबा बितेको चार पाँच बर्ष नहुँदै २०२४ साल श्रावणको अन्तिम तिर हुनु पर्छ । घर चुहिने भएकोले भवितव्य पर्ने हो कि भनेर , नजिकै माइलो बुबाले छोडेको घरमा दैनिक आवस्यक सामान सहित सरेर बसेका थियौं । बुबाको सानो पुस्तकालय नै थियो सरेको घरमा सार्न सकिएको थिएन । कैयन धार्मिक साहित्यिक , नेपाली हिन्दी र उर्दु र आसामी बंगाली भाषाका किताब पनि थिए । धेरै हिन्दी भाषाका थिए । पुराना कागजात बुबाका हस्त लिखित , कापी प्रसस्तै थिए । गीत , कविता भजनका । केही रचना धर्मराज थापा (जनकवि केशरी) ले छपाउन लगेको आमालाई थाहा रहेछ । पछि सम्म भन्नु हुन्थ्यो । दसी प्रमाण केही थिएन । धर्मराज सम्म पुग्ने हाम्रो पहुँच पनि भएन । बुबाले कमाएको जम्मा गरेको श्री सम्पती नै त्यत्ती थियो हामीलाई थाहा भएको त्यत्ति हो । जग्गा चर्चेको तिरो तिरेको माना बीजन सहितको रसिद जस्तो हुन्थ्यो । लाल पुर्जा थिएन । ती सबै घर सितै एकै चिहान भए । आमाको दूरदर्शिताको कारण हामी बाँच्यौं ।
बुबाले सिलोङ्ग गुँड्लाइन(इन्डिया)मा व्यापार व्यवसाय गर्ने क्रममा त्यहाँ एउटा सानो घर (काठैकाठको )जग्गा जोड्नु भएको रहेछ त्यस्को पनि कागजात ध्वस्त भै सकेको थियो । त्यहीँका नातेदार तथा शुभेच्छुकको सहयोगमा २०२९साल तिर आमा गएर बेचेर नेपाली छ हजारमा बेचे पनि यहाँ चार पाँच हजार उत्र्यो होला । ऋण तिरन तारन हुँदो हो बचेको पैसा मध्य रू ९००/=मा जम्मा तेह्र हात लम्बाई साढे आठ हात चौडाई भित्र (भित्र दश हात ल साढे छ हात चौडाई ,) त्यो भित्र भान्सा र मजेरी छुट्याउने दुई तिर आटा (कम्मर सम्म अग्ला डेड हात चौडा पर्खाल) भान्सा तिर चुह्लो र अगेना तिरको भाग बीच भागमा अगेनो , पूर्वी कुनामा चौको सहित चुह्लो अगेनाको दक्षिण तिर एउटा ओछ्यान , आटाको उत्तर र पश्चिम पट्टी भागमा किला गाडेर बाँसको खाट , पश्चिम कुना बाट आँटीमा उक्लिने लिस्नो (एउटै मुढा अखेटा पारेर बनाइएको सिढी ) लिस्ना मुनि दुईचार ओटा बाख्रा पाठा अट्ने टाट्नो (त्यो पनि बाँसकै खाट जस्तो ) आटीमा राखन् धरन र बिस्तारा परिवारमा आमा र दुई भाइ हामी म कान्छो । हाम्रो आफ्नै दरबार फेरि बन्यो । लिपपोत गरेर चिटिक्क व्यवस्थित थियो घर । सानो पिंढी र सानो आँगन । प्राय सिलोङ्ग बाटै ल्याएका चरेस काँसका थालकचौरा , कसौंडी आदि भाँडाकुँडा । सरसफाइ एकदम राम्रो थियो । हामी तीनै जना आमा छोराले सरसफाइ गर्थ्यौं । म लिपपोत गर्न पनि रिपु । दाइ कुटोकोदालो गर्न सिपालु ।
हत्तेरी ! हजुर हरुलाई यतिका बेर व्यर्थैमा भुलाएँ रोचक प्रसंग प्रसस्तै राख्नु छ । क्रमस: राख्दै जाने छु ।
मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।
साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected] अनि [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।