छानामा ढुंगा हान्ने काण्ड –
त्यै तीन कक्षामा पुगेको थिएँ ! घर बाट छोटो बाटो जाँदा डेड दुई किमी पर स्कुल । जाँदा छोटो बाटो गइन्थ्यो भने आउँदा लामो बाटो घुमेर आइन्थ्यो ।
बिहान ९ सबा नौ तिर खाना खाएर जानू पर्थ्यो दिउँसो खाजा त के पानी पनि घर घरमा पसेर मागेर खान पर्थ्यो । किनेर खाजा स्कुल पढिन्जेल कैल्यै खाइएन भन्दा नि हुन्थ्यो । बेलुका ४ बजे सम्म लखतरान भैन्थ्यो भोकको त कुरै नअरम् जिन्दगीमा अघाइन्छ जस्तै लाग्दैन्थ्यो । फर्कदा निश्चित समयमा पुग्नै पर्ने क्यै भएन । सिजन अनुसार वनमा पाइने फलफूल र घरमा फल्ने फलफूलका बुटातिर छापछापछुपछुप पारिन्थ्यो ।
असारे बिदा सकिएर साउनमा स्कुल लागेको थियो । दुईचार जना बदमाश साथी थिए । त्यो बेला तिनले उक्राँसाका पदवी नै पाएका थिए । तर म साह्रै सुधो भएर सुदामा , सुस्ती जस्ता पदवी पाएको थिएँ । सबै भन्दा उक्राँसो त जुन घरमा ढुंगा हानियो त्यै घरको भाइ थ्यो । यसै त मुखियाको छोरो त्यैं माथी कान्छी पट्टीको कान्छो छोरो । म भन्दा ठ्याक्कै ५ बर्ष कान्छो थ्यो तर बलियो उक्राँसो उस्तै । बेला बोलामा बोरामा हालेर झुण्ड्याउँथे हदै गरेर । तर पनि बीसको उन्नाईस हुँदैन्थ्यो । बरु नयाँ नयाँ उडण्डको आविस्कार गर्न खप्पीस । बदमाशी गर्नु अघि खल्तीमा एकदुई ओटा ब्लेड जोहो गर्थ्यो । दूरदर्शी थ्यो बेलुका बोरामा झुण्डिन पर्छ भन्ने पहिल्यै थाहा हुन्थ्यो उसलाई ।
मलाई सुधो भएकै कारण मुखिनी आमाले असाध्यै माया गर्थिन । पूजा पाठ श्राद्दमा बाटो कुरेर बस्थिन् म स्कुल बाट फर्किदा खाना प्रसाद टन्न ख्वाएर पठाउँथिन । मुखिया बा सँग भने म अलि डराउँथे । कारण थियो भाइले सजाय पाएको प्रत्यक्ष यिनै आँखाले देखेको थिएँ । भाइले दस आठ ओटा बोरा काटे पछि बोरामा हाल्नै छाडे । बोराको सत्यानास पार्छ भनेर । पछि गोठमा गाई बाँध्ने किलामा बाँध्न थाले ।
स्कुल बाट फर्कदै थियौं । डहर मुनि मुखिया बाको घर डहर(बाटो)माथी मणि थ्यो । हाम्रो गुठी जस्तै । जो मुडिए पनि त्यही बस्ने भने बनाईएको बगैंचा सहितको । त्यस बेला बाबाजी बा( हाम्रै खलकका जोगी )को अखडा थियो । भुई कटहर पाखै भरी थिए । बडा बडा आँप , जामुन , रुद्राक्षका बुटा अम्बा आदि । प्राय फलफूल भएकै हुन्थे । आँप पाक्ने बेला भएको थियो अग्ला अग्ला ठूला रुख चढ्न सक्ने कुरो भएन । छापछापछुपछुप पार्न बगैंचा तिर पसियो चारपाँच जना थियौं होला । ढुंगा हानेर झार्न कस्सियो । तल बाट जति हाने पनि लागेन । पछि मैले सोचें दुईतीन कान्ला माथी गएर अलि उचाई बाट हान्दा झर्ने निश्चित थियो ।पाँचसात कान्ला मुनि मुखिया बाको टिनले छाएको घर । निशाना चुक्यो भने सिधै छानामा बजृन्थ्यो ढुंगा । तै पनि भोकको अगाडि अरु भवितव्यको केही लागेन । म माथी गएर करीब एक पाउ जतिको ढुंगा प्रहार गरें निशाना नभन्दै चुक्यो ड्याम्मै छानामा बज्य्रो । खैलाबैला मच्चिइ हाल्यो । हामी सास दबाएर भागियो । भोलिपल्ट मुखिया बाले नामुद उँक्रासाका बाउ आमालाई उक्राँसा सहित कचहरी राखे । तिनीहरुले मलाई पोलेछ्न् भरतले हानेको हो ढुंगा भनेर । मलाई लिन पठाए एक्लै गएँ । हातखुट्टा सेलाइ सकेका थिए मेरा । हुने हुनामी के हुने हो भनेर ।
तर त्यहाँ जाने बित्तिकै मुखिया बुणाले नजिकै राखे मलाई झन् । टाउको सुम्सुम्याउँदै भने ल भ न त सुस्ती ! यी मध्य कुनले हानेको हो ढुंगा ? को को थियौ नढाटी भन । मैले त्यहाँ भएका सबै थियौं भनें तर ढुंगा आफूले हानेको भनिन । उनी हरुले मलाई नै दोष लगाई रहेका थिए । मुखिया बा आमाले ज्यान गए पत्याएनन् । मैले ढुंगा हानेको भनेर । म बाहेक सबै सजाएँका भागी भए । तीनका बाबुआमालाई चेतावनी दिइयो । आइन्दा यस्तो भए राम्रो हुने छैन भनेर । म मुखिया बा”को पहिला जस्तै विश्वास पात्र भएँ ।
पढ्नुहोस मेरो जागरण मेरो जीवन भाग – ५
(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।
साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]