ब्रेकिङ न्युज:

असार १५- मनै हिलाम्ये !

जागरणपोस्ट १५ असार २०७७, सोमबार ०८:१८


बिजय ज्ञवाली

३ गन्थन

असारमासको दबदबे हिलो छि: मलाई घिन लायो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लायो ।
अबेला भयो चरेसको थाल माजु कि नमाजू
मुखिया बाको रोपाइँको उर्दी जाऊँ हिंड अमाजू ।
हलीया दाइले बाँधेको गोरु ढाबरे किलैमा
आलीमा बसी के डिठ्ठा बन्छाै झर्दैनाै हिलैमा ।
गैरी खेत बेची विदेश छोरो बुहारी शहरमा
म बूढीको काल काँ गो नि बरै बाँच्दैछु कहरमा ।
टारीको खेत चल्दैन कुलो आज के गर्ने हो
चर्केका घाम बादलु छैन माथि भर पर्ने हो ।
फुकेको ज्यान मुखिया बा को सुहाउने जुवारी
भरे त मेलो देखाउन पर्ला चाँडो गर बुवारी ।
असारलाई भनी कुटेका चामल जेठैमा घुन लाए
घाम छँदै घर जाम्ला पो भन्थें मेलैमा जून लाए ।

लोक उस्तै भाका उस्तै, अझ हिलाम्य खेत र त्यो झरझर झरना उस्तै। विम्व उस्तै सम्झना उस्तै। मात्र फरक मान्छेको जिवनशैली। तर पनि फेरि खेतका हली, बाउंसे र खेतारी उस्तै। मात्र फरक त बाटो, यो असामयिक समय।

अंघिल्लो दिन पटक्कै निद्रा लाग्दैनथ्यो किनकी भोलि रोपाईं शुरु हुने दिन, मकै भांचेर डांठ बोकेर लखतरान परेको जिऊ ले राती १० बजेसम्म आली भित्ता गरेर सक्नुपर्दथ्यो। किनकी भोलि रोपाईं शुरु हुने दिन। पानीको उस्तै समस्या। लगभग ढाई किलोमीटर कुलोमध्ये सवा किलोमिटर कुलो त भगवान भरोसामा थियो। बर्षाको कुलो एक पाईलो खुट्टा चिप्लिए जीवन २९० मिटर तल खोलामा बज्रीन पुग्थ्यो। त्यसैमाथी माथीवाट बडेमानको पहरो, तल बल्लतल्ल बनाएको खोंचें डुंड र त्यहिं तलवाट पाइलो अट्ने सानो गोरेटो त्यहिंपनि माथी डुंडवाट निरन्तर पानी झर्ने हुनाले तलको गोरेटो निकै चिप्लो र कमजोर बनेको थियो। त्यस्ता कन्धरा पार गरेर जेनतेन पानी ल्यायो खेतसम्म, त्यहिंपनि बिचमा अर्कैले कुलो भांचिदिएर हैरान पार्ने।

यस्तैमा एकदिन छिमेकिका सवै धान रोपेका खेत भकाभक खनेर पानी सवै आफ्ना खेतमा झारेको हुनाले गाउँमा कचहरी बसेको सम्झना पनि छ। अन्त्यमा तिनै खेतवालाले माफी मागेका थिए।

प्रसंग फेरी रोपाइंकै,

अर्को दिन बिहानै ६ नबज्दै उठ्यो, आमाहरुले गोठमा आगो बालिसक्नुभाको हुन्थ्यो। एकदूईवटा छिप्पिएका मकै भुंग्रोमा पोल्यो, अलिकती नुन पिस्यो अनि मकै कोपर्दै नुन चाट्दै गोरु `घंस्याउन´गयो। ८ बजेसम्म गोरुलाई खेतमा ल्याईसकेपछी पानीको जोहोतिर लाग्नुपर्ने। डेढ किलोमिटरवाट उताको पानी मगर समुदायको वाहुल्य भएका वस्तीका खेतमा लाग्दथ्यो। बिहानै उठेर उनिहरु खेतमा पानी लगाए, घांसको भारी पुर्याए अनि ८ बजेतिर हाम्रैतिर पानी फर्काईदिन्थे। किनकी हाम्रोभन्दा पहिला उनिहरुको रोपाईं हुन्थ्यो। किनकी उनिहरुको खेत काउले खोलानजिक थियो। यसरी उनिहरुले पानी फर्काईदिए या फर्काईदिएनन भनेर हेर्नको लागि घरवाटै प्रष्ट देखिने `भिर´भन्ने ठाउँ थियो। यदि पानी फर्काईदिएको भए त्यो डेढ किलोमिटर पर भिरमा प्रष्टै पानी झरेको देखिन्थ्यो। नत्र लिनै जानुपर्दथ्यो त्यो कठिन बाटो झरिमा रुझ्दै र लड्दै। तर प्रायश: उतापट्टिकाले पानी फर्काईदिएका हुन्थे। कहिलेकाहिं भने आपत नै पर्दथ्यो।

यसरी खेतमा पानी भिड्क्याईसकेपछी हली, ठेंगारे, रोपाहार सवै जम्मा भैसकेका हुन्थे खेतमा दशबजेसम्म।खेतारी बिऊ गोड्नतिर लाग्दथे भने ठेंगार आलिभित्तातिर। हलीको काम जोत्ने भैहाल्यो। हामी सानै हुनाले कहिले हलिको खोक र हलो समाउने त कहिले आली लगाउने काम गर्दथ्यौं। `अर्नी´ हाम्रो भाषामा, वास्तव अर्थ खाजा या नास्ता। घ्यू हालेर बनाएको, मीठो तरकारी र अचारको स्वादमा रमेर खान पाउँदा कुनै चाडपर्व आएभन्दा बढ्ता हुन्थेन। रोपाईंको अन्तिम दिन पुलाव अर्थात चामल भिजाईकन झांतोमा पिसेर निस्किएको मसिनो पिठोलाई घ्यूमा भुटेर केराको अचारसंग पस्किन्थ्यो। औधी मीठो लाग्दथ्यो। यसरी रोपाईंको कर्मकाण्ड सकिन्थ्यो हाम्रोतिर। तपाईंको तिर कसरी मनाउनुहुन्थ्यो असार पन्ध्र या रोपाईं समयावधि?

मानो रोपेर मुरी उब्जाउने यो पर्व सांच्चिकै मनमोहक, महत्वपूर्ण अविष्मरणिय छ। तर आजकल पहाडतिरका यिनै उर्वर भूमी बांझिदै गएका छन भने तराईतिर खेतियोग्य जमिन कंक्रीटमा बदलिराखेका छन। चेतनास्तर न नागरिकमा मौलाएको छ न नै सरोकारवाला निकाय सकृय छ यस्ता कार्यहरुको निगरानी र आवश्यक पहलकदमी लिन। त्यसैले त बर्सेनि ३३ अर्वभन्दा बढिको चामल आयात हुन्छ कृषिप्रधान देशमा।

देश आफै बन्दैन, हामिले नै बनाउनुपर्दछ। यसको लागि आवश्यक छ आफ्नै स्वावलम्वन। आफ्ना पाखापखेरा र खेतियोग्य जमिन बंझाएर तराईमा आयातित चामल खांदै देशलाई श्राप्नेहरुलाई त्यहिं बांझो जमिनले धिक्कार्नेछ, सन्ततीले वचन लगाउनेछन। त्यसैले आफ्ना पाखापखेरा, खेतियोग्य जमिनको सदुपयोग गरौं। प्रकृतिसंग रमाऔं, स्वस्थ रहौं, दिर्घायू बनौं, वातावरण संरक्षण एवं देश विकाशमा मेरुदण्ड बनौं।

=====================================

आज रातभरि फिटिक्कै निद्रा लागेन। मनमा अनेकन कुराहरु खेलिरहे। मन पुरै बाल्यकालतिर बरालिईरह्यो। सबैभन्दा पहिला त घर तलका बाँसका झाङ्ग सम्झिएँ। झर्लक्क आलू र तामाको तरकारी अनि तामाको अचार खान मन लागेर आयो। कलिला तामा ल्याएर काट्दै गरेका दृष्यले मुख रसाएर आयो। अझ पिरो पिरो बनाएर पकाएको आलु र तामाको तरकारी, त्यसैगरि तामाकै अचारको खुव झल्को आईराख्यो मनभरि।
उकाला, ओरला, तेर्सा गोरेटाबाटोहरु मनभरि दौडिरहे। घरभन्दा अलिक तल खरबारीमा हाम्रा पन्थ भन्ने बुवाको एक्लो घर थियो। सम्झनामा अलिकति धुमिल तस्विर आयो क्यारे ! पश्चिमतर्फ फर्किएको घर, पछाडिपट्टि एकनाले गोठ र गोठमा गाई हुन्थ्यो प्रायश। घरभन्दा अलिक पछाडि यौटा कुवा थियो, त्यहिं कुवाबाट गाईबस्तुलाई मात्र होईन, मान्छेले पनि पानी पिऊने गरिन्थ्यो। अलिक पछि पन्थ बुवाका परिबारहरु केहि माथी गाऊंतिर सर्नुभयो, त्यसपछि हामीले उक्त स्थानलाई `पन्थको घडेरी´ को नामले चिनिन थाल्यो। अलिक पछि उक्त घडेरी हुँदै खत्रीटोलासम्म जोड्ने मूलबाटो खनियो। उक्त मुलबाटोसंगै पानीको मुहान पनि सुक्यो क्यारे, त्यसपछि उक्त स्थानमा पानी देख्न भने पाईएन।

हाम्रो पुरानो घर हुँदा घरको पछाडिबाट कुलो बग्दथ्यो, घरछेवैं पोखरी थियो। पोखरीमाथी बिभिन्नथरि फूलहरु फूलिरहन्थे भने घरको तलमाथी, पछाडि खेतहरु थिए। खेतहरुमा धान, गहुँ मकै, कोदोमात्र होईन, घरपरिवारलाई आवश्यक पर्ने सम्पूर्ण तरकारीहरु उत्पादन हुन्थ्यो। आलु, सेमी, साग, लसुन, प्याज, मुला, काऊलीलगायत सबै उत्पादन अर्गानिक हुन्थ्यो- आज सम्झिंदा पनि मन नै हुरुक्क भएर आऊने भन्या ! के गर्नु, विषादीयुक्त संसारमा बसेर अर्ग्यानिक सम्झना केवल सम्झनामात्र त हुँदारहेछन।

हजुरबुवाले चुरोट पिऊनुहुन्थ्यो। त्यतिखेर ५ रुपियाँमा देउराली भन्ने चुरोट पाईन्थ्यो। तल माझगाऊँको घरमा सानो चुरोट, चिनी, चियापत्तिको पसल थियो। हजुरबुवाले मलाई प्राय: चुरोट लिन पठाईरहनुहुन्थ्यो। मेरो पालो रकेटको गतिभन्दा छिटो दौडिएर हजुरबुवालाई चुरोट ल्याईदिन्थें। त्यतिखेर त्यस्ता उकाला, ओराला, भिराला, खोल्साखोल्सी, भिर पखेरा त बाँदरकै हाराहारी नाघिन्थ्यो। कति बलिया हुन्थे तिघ्रा, खुट्टा। कहिल्ल्यै थकाई भन्ने महसुस नै भएन।
घरमाथी बढेमानको टुनीको रुख थियो। अजंगको ! त्यसमा अरिंगालले प्राय: गोलो लगाऊँथ्यो। त्यसो त घर तलको सालघारीका सालका रुखहरुमा पनि अरिंगालले गोलोहरु लगाएको हुन्थ्यो। साँझ परेपछि कालिजलाई बास बसाल्न र राती परेपछि कालिज र अरिंगालको चक्करमा धेरै समयहरु बिते पनि।

घरभन्दा केहि पर पानी पँधेरो थियो। पानीको ठुलै मूल थियो। जसलाई हामी कालापानी `काल्पानी´ भनेर चिन्दथ्यौं। त्यहिं पानीको मुलसंगै कुवा पनि थियो। बाह्रैमास भरि रहने उक्त कुवाको पानी कति मीठो मीठो ! सायद पानीको मूल वरपर फोहोर नगरियोस या नहोस भनेर कुवाको माथी रुखमा धजा बानेर राखिएको थियो। त्यसैले त्यो कुवावरपर चप्पल लगाएर जानसमेत मान्छे डराऊँदथे। घाँस दाऊरा पनि गर्न पाईंदैनथ्यो र त पानीको मूल सदावहार थियो। सिंगो गाऊँ त्यहिं कुवाको पानीले पालिएको मात्र थिएन- अलिक तल २/३ हल गोरु रोपाईं गर्नपुग्ने पानी बग्दथ्यो पनि। पछि गाऊँमा बिकाश हुन लाग्यो। पानीको मूलमाथीबाट गाऊँको मूल नेताको घरको आँघनसम्म मोटरबाटो पुर्याऊन पानीको मूलको परवाह पनि गरिएन। पानीको मूलमाथीबाटै मोटरबाटो डोजर लगाएर बनाईयो। पानीको मूल पनि सायद पुरियो होला, त्यसबाट यता त्यो कुवा कहिल्ल्यै भरिएन। बल्लतल्ल मसिनो पाईप लगाएर अलिक तलतिर सिमेन्टेड ट्यांकी बनाएर पानी जम्मा गर्न त थालियो, तर ट्यांकीमा पानी राम्रोसंग जम्मा हुन सकेन। ट्यांकी कहिल्ल्यै भरिएन। ट्यांकीमा जम्मा भएको पानीले गाऊँको तिर्खा मेट्न सकेन र आजभोली सुनिंदैछ गाऊँमा पानीको समस्या छ रे ! पानीको मूल मासेर घरसम्म बाटो लैजाने नेताहरु बुटवलतिर बसाईं सरे, गाऊँमा बसेकालाई पानीको समस्या परेको छ आजभोली। उसो त गाऊँमा बस्नेले अझै पनि मूलवरपर बृक्षारोपण गरेर मूलको संरक्षण गरे पानी अझै पनि पलाऊँथ्यो होला- तर जाँगर फेरि कसैमा छैन।
घरमाथी, तल, दायाँ बायाँ जहिंतहि खेतबारीहरु मलिला हुन्थे। चारै सिजनका खेती र तरकारी उत्पादन हुन्थे। कयौं किमि टाढाको खोलाको पानी कुलोमा ल्याईन्थ्यो, खेतबारीमा लगाईन्थ्यो र त भिरपाखाहरु पनि हरिया हुन्थे बाह्रैमास। खेतका ढिस्का, कान्लाहरुमा अनेकथरि फलफूलहरु मौलाऊँदथें, फुल्दथे, फक्रेका हुन्थे। घाँसपातहरु बाह्रैमास हरिया हुन्थे। न अन्नपानीको दुख हुन्थ्यो, न नै घाँसपातको। दुख गरे धर्तीबाट मनग्ये प्रतिफल पनि प्राप्त हुन्थ्यो।

आजभोली त खेतबारीका कान्ला, ढिस्काहरुमा भएका सबै फलफूलका बोटहरु पनि सुकेर गएका छन। नसुकेका पहेंलिएका छन। घाँसपात डाला, स्याऊलापातहरु पलाऊनै छोडेका छन। खेतबारीहरुको हरिविजोग छ। त्यो उर्वर र हराभरा गाऊँ खण्डहरजस्तै बनेका छन- उजाड।
कयौं किमि पर खोलाबाट आऊने पानी पनि आजकल आऊन छोडेको छ। कुलाहरु नासिदै र मासिदै गएका छन। पहिला बिकाश भन्ने कुन चराको नाम हो भनिन्थ्यो र गाऊँ हराभरा थियो। अहिले गाऊँगाऊँमा बिकाश भएको छ- बस्ती उजाड हुँदै गएको छ। यहाँसम्म कि हाम्रो घरको ढोकाअंघाढिबाट कलकल बग्ने कुलोको ठाऊँमा अहिले कुलो मासिएर मोटरबाटो बनेको छ। भान्छामा गाडी जाने भएको छ, तर घर भने प्राय रित्तो छ।

घरभन्दा केहि पर झर्ल्याङ्ग्दी भन्ने जंगल थियो। झर्ल्याङ्गदिमा पानीको ठूलो मुहान थियो। लगभग निमुवाखर्कको फाँटमा त्यहिं पानीले सिंचाईं गर्न पुग्दथ्यो। झर्ल्याङ्गदिको पानी साह्रै चिसो र मीठो पनि ! प्राय: गाऊँलेहरु शनिवारको दिन पारेर त्यहिं नुहाऊन धुन जान्थे। रमाईलो हुन्थ्यो। आगो बाल्दै ताप्दै नुहाऊँदै गर्नुको मजा पनि बेग्लै ! पछि उक्त मुहानको अलिक माथीबाट गाऊँमा मोटरबाटो आयो। पानीको मुहान सुक्तै गयो। माथी खेतहरुमा रोपाईं पनि हुन छोड्यो। आजभोली उक्त मुहानको पानी मुस्किलले निमुवाखर्कको फाँटसम्म पुग्छ।
निमुवाखर्कको पछाडिपट्टि यौटा ठाडो खोला थियो। खोलाको छेऊँछाऊँमा पानीका मुहानहरु थिए। थोरै तल पानीको कुवा नै थियो। बिचमा एकपटक ठूलो पहिरो गयो र कुवा मासिएको थियो। पछि खोतलखातल गरेर मूल त भेटियो, तर पहिलाजस्तो पानी आऊन सकेन। अझ आजकल त त्यहिं मुहानको माथीबाट मोटरबाटो गएको छ- भएको पानी पनि सुकिसकेको छ रे।

बिकाश आवश्यक त हो- तर बैज्ञानिक र दूरदर्शी बिकाश नहुँदा यस्ता धेरै प्राकृतिक स्रोतहरुको विलय हुन पुगेको छ। पहाडतिर जथाभावी र जवर्जस्ती मोटरबाटो लहडले पानीका अधिकांश मुहानहरु सुकेर गएका छन। मान्छेहरु बसाईसराई गरेर शहरतिर आऊँदा गाऊँहरु भने सुनसान बन्दैछन। पुराना बाटोघाटोहरुको निशानी हराएको छ, मौलिकता हराएको छ, संस्कृति र संस्कार गुमेको छ।

टुनिगैरा भन्ने ठाऊँमा हरेक शिवरात्रीको दिन रातभरि भजनकिर्तन हुन्थ्यो। सारा गाऊँ जम्मा हुन्थे। रातभरि भजनकिर्तनसंगै नाचगान, भेटघाट आत्मियता साटासाट खुवै रमाईलो हुन्थ्यो। त्यहाँ यौटा पानीको ठूलो मुहान थियो। थोरै तल पानीको धारा बनाईएको थियो। ५/६ हल मेलोको लागि उक्त पानी पर्याप्त थियो। आजकल मुहानमाथीबाट मोटरबाटो गएको छ- मुहानमा पानी फिटिक्कै छैन।

जुरेढुंगामा पनि शिवरात्रीमा रातभर भजनकिर्तन हुन्थ्यो। गाऊँभरिका जम्मा हुन्थे। जुरेढुंगामा आऊने पानी सायद ठुलोखोलाको थियो होला- चिसो अनि मीठो। पानीको ठुलै धारो थियो। सुनिन्छ आजकल ठुलोखोलामा पनि पानीको मुहान सुकेर पानी फिटिक्कै छैन रे, किनकि ठुलोखोलाको पानीको मुहानमाथीबाट रिमुवाको लागि मोटरबाटो गएको छ।
लक्ष्मी प्राथमिक विद्यालय माझगाऊँको छेवैंमा पानीको ठूलो मुहान थियो। मुहानमाथीबाट आजकल मोटरबाटो झरेको छ, पानीको मुहान सुक्दै गएको छ।

 

बाँसखर्कको लागि बाँसखर्क खोलामा पानीको ठूलो मुहान थियो। त्यहिं खोलाको अलिक तलको मुहानबाट हाम्रो घरसम्म पानीको पाईप आऊँछ। आजभोली हाम्रो पानीको मुहानमाथीबाट मोटरबाटो गएको छ- पानीको मुहान सुकिसकेको छ भने बाँसखर्क खोलाको पानीको मुहान पनि सिमेन्टेड ट्यांकी बनाएयता संकटमा छ- पहिलाजति पानी छैन उक्त मुहानमा।

अब यसो बिचार गरौं त- जब बस्ती पूर्ण थियो, तब बिकाश भन्ने कुराको अनुभव गाऊँले कहिल्ल्यै गर्न पाएन। जब गाऊँ गाऊँमा बिकाशको बाढि आयो, तवसम्म गाऊँ रित्तिईसकेको छ। बंचेखुचेका पनि ताल परे शहर छिर्ने दाऊमा छन।
अर्कोतर्फ बिकाशले बिनाश पनि बोकेर ल्यायो। पहाडमा जथाभावी डोजर चलाऊँदा अधिकांश जमिनहरु भत्किएर गएका छन। पानीका मुलहरु नासिएर गएका छन, बस्तीहरु जोखिममा परेका छन, खेतबारी, कुलो कुलेसोहरु मासिएर गएका छन, रुखजंगल मासिएर गएका छन।
यति हुँदाहुँदै पनि गाऊँ गाऊँमा अहिले भैराखेको अद्भूत बिकाशसंगै सरकारले नितिगतरुपमैं बस्तीहरु गाऊँकेन्द्रित गर्नको लागि प्रेरणादायी निति अवलम्वन गर्नसके उजाडिएका गाऊँहरु पुनश्च: सदावहार बनाऊन सकिन्थ्यो कि?
फेरिपनि बाँसको झाङ्गमा गएर कलिलो तामाको टुसा परक्क निमोठेर ल्याएर आफ्नै खेतबारीमा उत्पादन भएको आलुसंग मिसाई आलु तामाको तरकारीसंग धित मरुन्जेल २/४ छाक खान सकिन्थ्यो कि कसो त?

=====================================

नेपालमा प्रतिदिन कति किलो चामल वर्वाद पारिन्छ?

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालू आवको आठ महिनामा नेपालमा ५ तारे होटलको संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३/७४ मा तारे स्तरको होटल संख्या १२० थियो । ५ तारे होटलवाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३/७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ होमस्टे पनि सञ्चालनमा रहेका छन् ।

यसहिसावले ५ तारे होटल तथा पर्यटकस्तरिय होटल, लज तथा रिसोर्टमात्र गन्ने हो भने चालु आर्थिक वर्षमा नेपालमा जम्माजम्मी १,१०२ वटा ठूला होटल, रिसोर्ट तथा लजहरु संचालनमा छन। यि ठूला होटल, रिसोर्ट तथा लजहरुमा दैनिकजसो हुने पार्टि, सेमिनार, गोष्ठीलगायतका ठूला कार्यक्रमको दौरान खेर जाने अन्नको त कुनै हिसाव नै छैन, तथापी यस्ता ठूला होटल रिसोर्टहरुमा न्यूनतम पनि दिनको एक किलो चामल खेर त जसरि पनि गैरहेको हुन्छ। हामिले दिनको न्यूनतम १ किलोका दरले हिसाव गर्ने हो भनेपनि एकैदिनमा यि होटल रिसोर्टहरुवाट मात्र १,१०२ किलो चामल खेरा गैरहेको पाऊँछौं। एकदिनमा मात्र १,१०२ किलो चामल खेरा फाल्दछौं भने महिनादिनमा मात्र ३३,०६० किलो चामल वर्वाद गरिरहेका हुन्छौं। अव यसलाई वार्षिक रुपमा जोड्ने हो भने ३,९६,७२० किलो चामल वर्वाद पारिराखेका हुनेरहेछौं। यि ठूला होटल तथा रिसोर्टहरुमा एकवर्षमा मात्रै वर्वाद भएको ३,९६,७२० किलो चामलको त कुनै हिसावकिताव नै हुंदैन। यो त अति न्यूनतम आँकडा मात्र हो। यस्ता ठूला होटल तथा रिसोर्टहरुमा ठूला भोजभतेर हुंदा ठूलो मात्रामा भात खेरा गईरहेको हामी देख्दछौं। त्योसमेत जोडेर अन्य सानाठूला होटल, रेस्टुरेन्ट तथा होमस्टेमा अनयासै वर्वाद भएर जाने चामलको हिसावकिताव त विकराल नै देखिन आऊँछ।

३,९६,७२० किलो (न्यूनतम आँकडाअनुसार) को चामल वर्षमा अनयासै खेरा फाल्न सक्ने हैशियत भएका हामी भने त्यत्तिकै अनुपातमा धान उत्पादन गर्न भने असमर्थ हुंदै गैराखेका छौं। तराईक खेतियोग्य उर्वर जमिन जति मासेर प्लटिङ्ग र कंक्रीटको मरुभूमिमा रमाएका मात्रै छैनौं कि पहाडका वस्ती र उर्वर भूमीहरु सवै बाँझो राखेर हामी रेमिट्यान्सको जिन्दगी उफ्रिराखेका छौं। स्थिति यस्तो भयाभह भैसक्यो कि अव त आफ्नै देशको माटोमा उव्जनी भएको चामलसमेत हामिलाई नशिव हुन छोडिसकेको छ। चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार नेपालले भारतलगायत तेस्रो मुलुकबाट गरेर करिव २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बराबरको चामल आयात गरेको तथ्यांक छ।

वाह,कृषिप्रधान देश !
वाह हाम्रो परिश्रम र गौरव !!

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४