मेरो जागरण मेरो जीवन भाग – ११

जागरणपोस्ट २४ चैत्र २०७५, आईतवार १६:५२

बम विष्फोट !

घटना २०३० साल तिरको हुनु पर्छ मिति ठ्याक्कै याद भएन । समी तहरा (अहिले मणिपाल शिक्षण अस्पताल भएको ठाउँ ) त्यहाँ शाही सेनाको तारो हान्ने (सुटिङ्ग गर्ने) ठाउँ थियो । प्रायः अभ्यास चली रहेकै हुन्थ्यो । कहिले काहीं आवतजावतमा असहज भए पनि हामी भुराभुरीको आय श्रोतको थलो पनि थियो । अभ्यास शुरु हुन अघि र सकिए पछि भिन्न भिन्न मेलोडीमा बिगुल फुक्थे आर्मीले । पहिलो बिगुल फुके पछि हामी हुरुरु तोकिएको सुरक्षित स्थानमा तारो हानेको हेर्न पुगि सकेका हुन्थ्यौं । कहिले लामै समय चल्थ्यो अभ्यास कहिले छोटो समयमै सकिन्थ्यो । जब अन्तिम बिगुल बज्थ्यो हाम्रो दौड शुरु हुन्थ्यो । खोका सिसा खोज्न । भित्ता भित्तामा अर्जुन दृष्टि लाएर खोजिन्थ्यो । खोज्ने मान्छे धेरै हुँदा अलि कम भेटिन्थो । मान्छे कम हुँदा धेरै । दुईचार पटकपटक जम्मा गरे पछि सबै मिल्ने साथीहरुको मिलाएर बाँडाकोमा लगेर बेचिन्थ्यो । दामासाहिले भाग बण्डा गरिन्थ्यो । कहिले काहीं त डेड दुई रुपैयाँ नै पर्थ्यो भागमा ।

हुन त मेरो अरु पनि थिए आर्जन हुने श्रोत हरू , सिजन सिजनको झोले व्यापार नै हुन्थ्यो भन्दा पनि हुन्छ । तिँजु , अमला, पानी अमला , अम्बा , सुन्तला , निबुवा , कटुस , बेडुलो , खनियो , अमरा, चुत्रो सिजन अनुसार झोलामा हालेर लगेकै हुन्थें । स्कुलको घण्टी नलाग्दै लगभग व्यापार गरेर सक्थें । कथम कदाचित सकिएन भने गोप्य ठाउँमा लुकाएर राख्थें र एक बजेको छुट्टीमा फेरि व्यापार शुरु भै हाल्थ्यो । ग्राहक बजार तिर बाट आउने साथी हरु थिए उनीहरु सँग पैसा हुन्थ्यो म संग फलफूल भोलिपल्टको लागि अघिल्लै दिन बुक गर्थे मलाई यो ल्याई दे , त्यो ल्याइ दे भनेर । सुन्तला , अम्बा भने ताजा लए किन्दैन थे काँचो भनेर । झरेका , दुईचार दिन बासी भएर पहेंला भएका झ्याप झ्याप बिक्थे । बाटो कुरेर बस्थे मेरा ग्राहक ।

हजुर ! बम विष्फोटको प्रसङ्ग जोड्दै छु । बम विस्फोट हुनुको केही दिन अगाडि देखि राती पनि अभ्यास चलिरहेको थियो । त्यो क्षेत्र २४ सै घन्टा निषेधित गरिएको थियो । सैनिकले सुरक्षा दिई रहेका थिए । हामी दुईचार पटक गयौं सैनिकले जान दिएनन् र केही दिन अझै खुल्दैन भनेर जाकारी दिए । हामी जान छाड्यौं । त्यता गाईवस्तु पनि छिर्न दिएका थिएनन् । त्यो ठाउँ पुरै चरनको थियो । त्यसरी निषेध गर्नुको कारण रातीको अभ्यासमा बम मिस भएको रहेछ । सम्भावित एरियामा सुरक्षा घेरा लाउन त्यो ठाउँमा निषेध गरिएको रहेछ । हामीले त्यता गाईवस्तु पनि धेरै दिन देखि लैजान छाडेका थियौं । सैनिक हरूले शंका लागेको ठाउँमा घेरा हालेर छोडेछन् । सुरक्षा दिन पनि छोडेछ्न् कि थाहा भएन । गण्डकी पारीका केटाकेटी आएर सिसा खोका खोज्न थाली सकेका रहेछ्न् । र एउटा समूहले त्यो मिस भएको बम भेट्टाएछ्न् । सामुहिक भएकोले ठूलो गोला बाँडेर लिने भनेर अलिवर नारायणस्थानको ठिक साम्ने पट्टि समीको चौतारा नजिक ल्याएर ढुंगामा राखेर ढुंगाले हान्दा बम विष्फोट भएछ । चारै जना छिचिन्याट्टै । ठूलो दुर्घटना भएकोले पोखरा भरी हल्ला फैलियो । त्यो दिन एघार बजे पछि वरपरका मान्छे खनिए । दृष्य बीभत्स थियो । कसैका आँखा ओभाना भएनन् । स्कुल पनि बन्द भयो । त्यो घटना देखि खोका सिसा खोज्न जानै छोड्यौं धेरैले । त्यो दिन सम्झदा ऐले नि जिरिङ्ग हुन्छ ।

पढ्नुहोस मेरो जागरण मेरो जीवन भाग – १०

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८