काठमाण्डौ- धुलमाण्डौ, हिलमाण्डौ, मास्कमाण्डौ अनि जाममाण्डौ

जागरणपोस्ट २५ चैत्र २०७५, सोमबार ०३:०४

बिजय ज्ञवाली –

अचेल काठमाडौले आफ्नो परिचय बदलेको छ। हामीले भन्दै, सुन्दै र कल्पना गर्दै आएको काठमाण्डौको त्यो परिचय अब हाम्रोसामु रहेन जुन आशातित थियो। आजकल मान्छेहरु काठमाण्डौलाई विल्कुलै भिन्न नामवाट चिन्न थालेका छन। मन्दिरहरुको शहर, कलाहरुको शहर, पौरखीहरुको सहर, स्वच्छ, सफा अनि रमणिय सहरबाट परिचय बदल्दै केहिअंघिसम्म सपनाको सहरको रुपमा परिचय बनाएको काठमाडौले आजकल त्यो परिचयवाट पनि `अग्रगामी छलाङ्ग´ मार्दै बिल्कुलै नौलो परिचय स्थापित गरेको छ- धुलमाण्डौ, मास्कमाण्डौ र जाममाण्डौ। यो र यस्तै कोलाजहरुमाझ काठमाण्डौको अझ अर्को पनि परिचय पनि छ- हजारौं सपनाहरुले आत्महत्या गर्ने सहर। हो, काठमाडौले हजार सपनाहरुलाई आत्महत्याको डिलमा पुर्याएको छ। कतिपय सपनाहरुलाई आत्महत्या गर्न प्रेरित गरेको छ भने कतिपय सपनाहरु अंकुरावस्थामामै निर्मम निमोठिएका छ्न अधिकांश सपनाहरुलाई खाडीको राप र तापमा मोलमोलाई गरेर बेचिरहेको छ काठमाडौ ।

काठमाण्डौ चिसो अवश्य छ र उत्तिकै रापिलो पनि। संवेदनशिल छ, कठोर पनि छ काठमाडौ। किनकि मान्छेहरुको पहिलो गन्तव्य काठमाण्डौ हुन थालेको छ भने अन्तिम निशाना पनि काठमाण्डौ नै हुनेगरेको छ। तसर्थ काठमाण्डौले धेरै कुरा बेहोर्दै आएको छ र बेहोर्नुपरेको छ। मितेरी गांस्नेदेखी छातीमा गोली दाग्नेसम्मका निर्णय काठमाण्डौ मै हुन्छन। त्यसैले काठमाण्डौ धेरै संवेदनशिल छ।

अलिकती काठमाडौको ईतिवृत खोतल्नुपर्दा काठमाण्डौले धेरै कुरा ब्यहोरेको छ, त्यसैले काठमाडौ अनुभवी छ, पाको छ। यसको ईतिहास आजको भने कदापी होईन। प्रागऐतिहासिक इतिहास भएको यो सहर मध्यकालसम्ममा कान्तिपुर नगरीका रुपमा परिचित थियो। विभिन्न कालखण्डमा भिन्न भिन्न राजबंशको शासन ब्यहोरेको यो शहरले नेपाल एकिकरण देखिबाट भने राजधनीको दर्जाको उपमा पाएको छ। मानववस्तीको ईतिहास खोतल्दा यहाँ नवपाषाण युगका अवशेषहरु भेट्टिएका छन। काठमाडौंको मालीगाउँमा १८५ इस्वी सम्बतको मूर्ति सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष मानिएको छ। चावहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब दुई हजार वर्ष पुरानो चैत्य हो। त्यसैले काठमाण्डौ `कच्ची मिट्टी´ अवश्य होईन। काठमाडौंको मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई प्रथम सांस्कृतिक सभ्यताको केन्द्रको रुपमा लिइने गरिएको छ भने विभिन्न राजवंशी, सेनवंशी, ठकुरी, मल्ल, गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुको शासन पछि राणा र राजाहरुको रजाईं बेहोर्दै आएको काठमाण्डौले अहिले भने गणतन्त्रका नवप्रवेशी ठुल्दाईहरुको हैकम बेहोर्दैछ काठमाण्डौले। यत्तिमात्र होईन काठमाण्डौ, काठमाण्डौलाई अलिकति रक्तपिपासु पनि भन्ने गरिन्छ। यसले वेलावखत धेरथोर रगतको बाछिटाले छिर्किन पनि मन पराउँछ भने कोहि उन्मत्त भएर रगतको होली पनि खेल्दछन भने कसैले रगत पिलाउनुपर्दछ काठमाडौलाई। सत्ता, उन्माद, शक्ति अनि ब्याक्तित्व टकरावमा रगतको होली खेल्ने र रगतको खोलो बगाउने धेरै छन यहाँ। त्यसैले काठमाण्डौले राणाकाल भोग्यो, राजतन्त्र भोग्यो, दरवार हत्याकाण्ड भोग्यो, प्रजातन्त्र भोग्यो अनि भोगीरहेछ गणतन्त्र काठमाडौले। धेरै अनुभव छ काठमाडौलाई र त काठमाडौ पाको पनि छ, कांचो पनि छ।

अचेल काठमाण्डौ पुरै धुलमाण्डौमा परिणत भएको छ र त मास्कमाण्डौको उपमा पाएको छ। मास्कमाण्डौमा मुखौटाहरुको यत्ति तछाँडमछाँड छ कि मानौ, अपराधी नै अपराधीले भरिएको शहरझैं लाग्दछ काठमाण्डौ।कसैले कसैको अनुहार प्रष्ट देख्न छैन, सवैको अनुहार अपराधीको अनुहारजसरी नै छोपिएको छ। काठमाण्डौमा यतिधेरै मास्कधारीहरुको विगविगी हुनुको कारण धुलोआतंक नै हो। मेलम्चिलाई आतंकको दर्जा दिऔं या के को दर्जा दिऔं तर धुलो आतंकको मूल कारण मेलम्ची नै हो। तर सडक बिभाग पनि अछुतो छैन, मेलम्चीलेजस्तै धुलो र हिलोको महाआतंक झनै सडक बिभागले पो मच्चाएको छ। अचेल काठमाण्डौमा सायद यस्तो सडक नहोला कि जहाँ धुलो नउडेको होस, नभत्किएको होस। जता हेर्यो त्यतैका सडक यति नराम्रोसंग भत्काईएको छ कि सायद अब कति वर्ष कुर्नुपर्ने हो ती सडकलाई चुस्त देख्न र धुलोधुवाँवाट उन्मुक्ति पाउनको लागि। घरवाट बाहिर निस्किनेवित्तिकै अनिवार्य मास्क लगाउनै पर्ने भएको छ र आजकल मुखमा मास्क नलगाईकन घरबाहिर निस्किने मानिस विरलै मात्र देखिन थालेको छ। जता गयो उतै धुलो, धुंवा अनि अस्तब्यस्त सडक अनि प्रत्येकका मुख अनिवार्य मास्कले नै छोपिएका छन- अपराधीका झैं। तसर्थ आजकल काठमाडौको अर्को परिचय थपिएको छ मास्कमाण्डौ। काठमाण्डौको नाम फेरिएको छ, साम फेरिएको छ र काठमाडौ परिचय फेरिएको छ- धुलमाण्डौ र मास्कमाण्डौमय काठमाण्डौको परिचय बनेको छ। यत्तिमात्र कहाँ हो र काठमाण्डौले अझ अर्को परिचय पनि बनाएको छ- जाममाण्डौ। यसै त मास्कमाण्डौमा दिनहुंको जामले मास्कधारीहरु आक्रान्त छन अझ त्यसमाथी मेलम्चीरुपी आतंकले गर्दा काठमाण्डौ जाममाण्डौमय भएको छ। अलिकति नाक जोगाउनेखालका सडक थिए धुलमाण्डौ अनि मास्कमाण्डौमा, त्यसमा पनि मेलम्ची आयो, डोजर चलायो, सडकको सत्यनाश बनाएरै छाड्यो नि ! बर्षौं लगाएर बनाएको मेलम्चीरुपी आतंकले निमेषभरमै स्वाहा बनाईदियो नि ! अनि अलिकती तिनै नाक बंचाईरहेका सडक पनि मेलम्चीले पित्र पारिदिएपछि सडकैभरी खाल्डाखुल्डी, थुप्राथुप्री अनि तेर्सिएका मेलम्चीका ईज्जतदार पाईपहरुले गर्दा सडकमा गुड्ने सवारीले अत्यन्तै सास्ती पाउनुपरेको छ। जसलेगर्दा सडकमा झनै जाम हुने गरेको छ। त्यसैले धुलमाण्डौ र मास्कमाण्डौ जाममाण्डौमा परिणत भएको छ।
विदेशतिर त थोरै थोरै भत्काउने, अनि टालिहाल्ने, फेरि अलिकती भत्काउने अनि त्यसलाई टाल्ने या वैकल्पिक मार्गको प्रयोगद्वारा रातारात सडक दुरुस्तै बनाएर छाड्थे, तर हाम्रोमा य निमेषभरमै लथालिंग पार्यो, बनाउने बेलामा भने सर्वोच्चको आदेश कुर्नुपर्ने, मेलम्चीले सडक बिभाग, सडकले महानगर, महानगरले फलानो, फलानोले फलानोको मुख ताक्यो अन्तत: हात लाग्यो जिरो ! यस्तै छ हाम्रो विकाशको मोडल, तरिका। सायद विदेशीले पनि हाम्रो विकाश गर्ने तरिकावाट केहि सिक्ने कि? किनकी दह्रो कनिसनको खेल हुन्छ बाबु ! त्यसैले छोड आफ्नो रोलमोडलको विकाश, नेपाल आऊ, विकाश के हो त्यो सिक, कमिसनको खोलो भनेको के हो त्यो पनि राम्रोसंग सिकेर जाऊ, आफ्नो देश नेपालजस्तै बनाउ न, हुंदैन र विदेशीमहोदय?
अलिकती व्यवहारिक पाटोको कुरा गर्ने हो भने विकाशको दिर्घकालिन निति अवलम्वन गर्नैपर्दछ। मेलम्ची आउंदैछ भनेर सरकार र सडक बिभागलाई थाहा नभएको होईन। त्यतिखेर नै सडक बनाउंदा र पिच गर्दा मेलम्ची आयोजनासंग सहकार्य गरेर सडकमा मेलम्चीको पाईप संगै लैजान सकिन्थ्यो, तर त्यो दुरदृष्टी कसैमा आएन। नआएको त नहोला, तर त्यतिखेर सवैका आंखाले भविष्यको कमिशनको वहार देखेका होलान, त्यसैले त्यतिखेर नै त्यो काम नभएको मान्न सकिन्छ। अहिले आएर भएको त्यहिं छ, मेलम्चीले भटाभट भत्काउंदै गईरहेको छ, अव यता त्यहिं भत्काएको टाल्न कहाँदेखी कहाँसम्म कमिसनको जालो बिच्छिएको छ, आखिर खोजेकै त्यहिं हो। नत्र त काठमाडौमा सडक विस्तारसंगै मेलम्ची आयोजनाका पाईपहरु उक्त आयोजनासंग समन्य गरेर पहिल्ल्यै गाडिईसकेका हुन्थे अनि सडक विस्तार गरिन्थ्यो। भैगो अव यो त भयो भयो। यसरी भत्किएका बाटाहरु एकवर्षपछि मात्र बनाउने भनेको मात्र छ, बन्ने त कहिले हो राम जाने। तर फेरि अर्को महाकमिशनको चक्कर देख्तैछु म। कुरो के भने नि अव फेरि यो तन्द्र्याङ्ग र तुन्द्रुङ्ग पोलहरुमा झुण्ड्याईएका शहर नै कुरुप बनाउनेगरी तेर्साईएका तारहरुलाई जमिनमुनी गाडेर लैजाने प्रस्ताव आयो भने फेरि सडकको यस्तै दुरावस्था हुनेहोला। फेरी सडक भत्काईने होलान, धुलो र हिलोले फेरि पनि काठमाण्डौ आक्रान्त हुनेहोला। तसर्थ त्यस्तो दुरावस्था आउनुपुर्व सरकार र सम्बन्धित निकायले बेलैमा सोंचेर यसतर्फ पनि ध्यान दिनसके आगामी सडक विस्तारसंगै यो कामले पनि पूर्णता पाउनेथियो। सहरको सौन्दर्यता बढेर जानेथियो। मेलम्चीसंगै लैजान सकेको भए अझै उत्तम हुन्थ्यो, तरपनि पिच हुनुभन्दा अंगावै यि तारहरुलाई पनि जमिनमुनीवाट विस्तार गरेर मात्र पिच गरेमा धेरै ठूलो काम हुनेथियो। नत्र मेलम्चीको जस्तै आतंक तार जमिनमुनीवाट लैजाने वाहानामा फेरि दोहोरिनेछ।

काठमाडौलाई सफा एवं धुलोमुक्त बनाउन हामी नागरिकको भूमिका पनि अहम रहन्छ। दैनिक हाम्रो सानो प्रयासले पनि काठमाण्डौलाई ७५% प्रतिशत सफा राख्न सकिन्छ, त्यसको लागी घर तथा ब्यवसायिक भवन बनाउने बाहानामा सडकमै माटो, ढुंगा, गिट्टी र बालुवा थुपारेर आफ्नो घर या ब्यवसायिक भवन बनाउने र बाटोको स्वच्चता अनि सुन्दरता विगार्ने काम कहिं कसैवाट नगर्ने, नगराउने। काठमाण्डौ लगायत देशका मूख्य शहरहरुमा बाटो बिग्रीनु, धुलो बढी उढ्नु, हिलो जम्नुका मूख्य कारणमध्ये मान्छेको यो चरित्र पनि एक हो। घर वा व्यवसायिक भवन बनाउंदासम्म सडकमा खुवै सामानहरु थुपार्छन, अनि काम सकिईसकेपछी त्यसठाऊँको मर्मत एवं सफाईमा आजसम्म कसैको पनि ध्यान गएको पाईएको छैन। हामिलाई घर, परिवार,पैसा, इज्जत, मान, सान, रवाफ र सम्मान भने खुवै चाहिन्छ, तर घरबाहिरको एक इन्च पनि सफा गर्ने नैतिक हिम्मत हामिमा छैन। घरआंगन चिटिक्क चाहिने प्रत्येकले आफ्नो घरवरपर दायाँवायाँ कम्तिमा पनि १/१ मिटर उस्तै गरेर चिटिक्क पार्ने हो भने त राजधानी आधाभन्दा धेरै सफा हुनेथियो। सवै घरधनीहरुले आफ्नो घरको वरपर कम्तिमा १/१ मिटरका दरले चिटिक्क पार्ने, खोल्साखोल्सी छन भने सामुहिक रुपमा सफा गर्ने पद्धतिको विकाश गर्ने, अंघाडी नाली या यस्तै सानो कुलोहरु छ भने पनि साप्ताहिकरुपमा सफा गर्ने नैतिक हिम्मत जुटाउने हो भने त काठमाण्डौ ७५% सफा हुनेथियो। तर विडम्वना ! आफ्नो घरआँघन, परिवार र घर चिटिक्क चाहनेले आफ्नै गेटअंघाडिको फोहोर सफा गर्ने हिम्मत गर्दैनन। तसर्थ घरवरिपरि फोहोर राख्नेलाई सभ्य भन्ने कि ग्रामिण भेगमा बस्ने मानवलाई सभ्य भन्ने? जसले घरआँघन मात्र नभएर सिंगो टोलको बाटोघाटो, मठमन्दिर, पार्टीपौवा, चौतारो, खानेपानीका धाराहरु, बिधालयलगायत सार्वजनिक स्थानहरुलाई निकै महत्व दिएर सफा एवं चुस्त राखेका हुन्छ्न। म त सहरियालाई आडम्वरी, परनिर्भर, असभ्य एवं फोहोरी भन्छु भने गाउंलेहरुलाई मिलनसार, स्वावलम्वी, सभ्य एवं संस्कारयुक्त स्वच्छ जिवनशैलिका मानव भन्दछु। यसमा कसैको चित्त नदुखोस। गर्ने आफैले हो। बुझ्ने आफैले हो।

र, यो पनि पढ्नुहोस- होटल तथा रेष्टुरेन्टका खाना कति गुणस्तरिय?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८