केही समय पहिले ‘पेपरलेस क्याबिनेट बैठक’ बस्यो भनेर मीडियामा ठूलो प्रचारबाज़ी भयो । मैले उक्त कुरालाई व्यंग्य बनाई व्याख्या गरें । कामको विरोध थिएन, तरिका र टाइमिङ प्रति व्यंग्य थियो । ‘देशका आधारभूत र नागरिकका प्राथमिक आवस्यकतामा ध्यान दिन छोडेर एउटा सामान्य प्राविधिक कार्यलाई बढाइचढाई गरी प्रचार गर्नु नागरिकको ध्यान मोडेर सस्तो पपुलरिटी आर्जन गर्ने खेलो हो’ भन्ने मेरो तर्क थियो । मेरै एक मित्र उक्त प्रविधिका सोंचकर्ता,खोजकर्ता र कार्यकर्ता भएकोले उनी बाट मलाई यस विषयमा मलाई विस्तृत जानकारी दिइयो,उक्त प्रयोगका दीर्घकालीन उद्देश्य सम्झाइयो र एक किसिमले ‘क्लीयर’ बनाइयो । म ‘कन्भिन्स्ड’ पनि भएँ । आख़िर भौतिक युगमा विज्ञान प्रविधिको कुरो थियो त्यो, विज्ञानलाई नपत्याइ सुख पनि थिएन/छैन । मैले देखेको विश्व अनि हाँसिल गरेको ज्ञानले आजको विकसित समयको सम्पूर्ण आधार नै विज्ञान र प्रविधिलाई मान्छ । यसर्थ सुरुमा व्यंग्य गरे पनि मैले सरकारको पेपरलेस मीटिंगलाई एउटा उपलब्धिकै रूपमा लिएँ ।(तत् पश्चात के कति काम र प्रगति भइरहेको छ,म अनविज्ञ छु) ।
मैले यो प्रसंग किन जोड्न खोजें भने उनै प्रधानमन्त्री हुन, जो बिहान उठेर ‘विज्ञान प्रविधि बिना समृद्धि सम्भव छैन’ भनेर भाषण पनि गर्छन । अनि उनै प्रधानमन्त्री हुन, जो बेलूका एक फरक शारीरिक गुण भएको बालकलाई ‘भगवान र अलौकिक’ भनी व्याख्या गर्न लागी पर्छन । पार्टीका भक्त,झोले अनि केही नबुझेका,नपढेका,नजानेका,विश्व परिवेश नदेखेका,देखे पनि बुझ्न नखोजेका गवाँर तथा जानेर पनि जानेको कुरामा बोल्न डराउने/नचाहने पाखन्डीहरू कमेण्टमा नआउनु कृपया ! मेरो प्रश्न केही सोंचवान,विषय-विज्ञ र जानकार साथीहरूलाई छ – यस्ता प्रधानमन्त्रीमा तपाई कुन किसिमको भिजन देख्नुहुन्छ ? जो, भाषणको लागि विज्ञानलाई मानेको बताइदिन्छन तर कर्मकाण्डीमा अलौकिकता र देवत्वका कुरा गर्छन । एक बालक जसको शारीरिक अवस्था अलि भिन्न र पृथक छ, उनलाई भगवान प्रमाणित गर्न र उनको नाममा लूट मच्चाउने केही गिरोहलाई राज्यकोष बाट आर्थिक संरक्षण गर्न देशकै पहिलो अभिभावक, त्यो पनि कथित कम्यूनिष्ट नेता,भौतिकवादी दर्शनको अनुयायी किन गोडा फालेर लागेको होला ?!
भनिन्छ, मानिस सबै तिर (शरीरबाट,दिमाग बाट अनि उमेर बाट) बाट कमज़ोर र जीर्ण बन्दै गए पछि भगवानको नाम जप्न थाल्छ,तीर्थ व्रत चाहर्न थाल्छ,अध्यात्मिकताका कुरा गर्न थाल्छ । एक हद सम्म सामान्य मानिसले आफ्नो ‘रिटायर्ड ज़िन्दगी’मा यी सब गर्नु ‘टाइम किलिंग’को हिसाबले स्वभाविक पनि मान्न सकिन्छ तर देशको कार्यकारी प्रमुख अन्य धेरै काम छोडेर (गर्न नसकेर वा नचाहेर) एक बालकलाई भगवान बनाई प्रचार गर्न लागी पर्नु र उक्त बालकको नाम बेचेर लुटी खान उद्दत समूहलाई मलजल गर्न पुग्नु कति लाज मर्दो कुरा हो ?
यथार्थ यो हो- सरकार संचालनमा ओली लगभग फेल भएका छन । फेल भएका छन- आफूले गरेका भुइँफूट्टे भाषण र आकास-पाताले बाचा पूरा गर्नमा । अनि आफ्नो असफलतालाई ढाक्न एक बालकको सहारा लिइरहेका छन, दैवी शक्तिको सहारा लिइरहेका छन, अन्धविस्वासको सहारा लिइरहेका छन । मानिस सबै भन्दा बढ़ी भावुक धर्मको मामिलामा हुन्छ । यो लेख लेखिरहँदा मलाई कैयौं धार्मिक (कथित आस्तिक) मानिस बाट गाली बर्सिन सक्छ । बर्सियोस् । सत्य लेख्न म किन डराऊँ ?
राइट दाजुभाइले बनाएको प्लेन चढेर आई, युद्धले जर्जर बनाएको हिरोशिमा र नागाशाकिको देश,जसलाई यहाँका राजनीतिज्ञ र नागरिकको कठोर प्रतिज्ञाले यती माथि उठायो त्यही देशको एउटा सुविधायुक्त सहरको सामान्य नागरिकलाई सजिलै मिल्ने सुविधायुक्त कोठा बाट, स्टिभ् जब्स नामको मानिसले बनाएको एपल फोन प्रयोग गरी, म भन्दा उमेरले कान्छो भाई मार्क जुकरवर्गले बनाएको फेसबुक मार्फत म यी सब कुरा लेखिरहेको छु । म मा कुनै किसिमको अन्धता छैन । म मा अविष्कार हरू प्रतिको आस्था छ । विज्ञान प्रतिको भक्ति छ । यसर्थ म आस्तिक व्यक्ति हुँ -ज्ञानको आस्तिक,विज्ञानको आस्तिक । मानिसले नै बनाएको यो भव्य विश्वलाई आफ्ना नांगा आँखाले देखेको मलाई पाखन्डको चरणमा पुग्न कहिलै नपरोस् ।
एक छिन हाम्रो संस्कारका कुरा गरौं । कुनै छारे रोग लागेको मानिस एकाएक काँप्न सुरु गर्यो भने जति नै पढ़ेलेखेको मानिसले पनि पहिलो नजरमा उसमा ‘भगवान उत्रेको’ नै देख्छ । कसैले पछि बिचार गर्लान तर अधिकांशले डरै डरमा यही मानेर बसिरहन बाध्य हुन्छन । यो हामीलाई सिकाइएको शिक्षा,हाम्रो संस्कार र चलाइएको चलनको उपज हो । अहिले ओलीको मुख बाट ‘आदित्य-महात्म्य’ सुनेर ताली बजाउने शिक्षित/अशिक्षित झुण्ड यही पाखन्डी संस्कार बाट उत्पादित ‘प्रोडक्ट’ हो । र यो ‘प्रोडक्ट’को देश देखि बिदेश सम्म बोलवाला छ । बहुमत यही झुण्डको छ देश देखि परदेश सम्म । यो झुण्ड हरेक परिवर्तनहरूमा र व्यवस्थाहरूमा एक किसिमको डर र भ्रम पैदा गरेर आफ्नो स्वार्थ सेकिरहन माहिर छ । त्यही झुण्ड आदित्य दाहललाई अलौकिक र सके सम्म भगवान नै घोषणा गरेर राज्यकोष तथा नागरिक बाट मनग्ये रकम लुट्न अग्रसर देखिन्छ र यसको नेतृत्व भौतिकवादी दर्शन बाट जन्मिएको देशको सबै भन्दा ठूलो कम्यूनिष्ट पार्टीका नेताले गरिरहेका छन, कति लाजमर्दो ?! स्मरण रहोस, एउटा अर्को गिरोह केही वर्ष यता राम बहादुर बमजनलाई पनि भगवान घोषणा गर्न मरिमेटेर लागेको थियो/छ तर कथित भगवानको डेरामा अचेल सरकारले छापा मारेको मार्यै छ दिनहुँ । कथित भगवान विभिन्न अपराधमा संलग्न भएको खबर पनि प्रकाशित भइरहेका छन बेला बेलामा । यही नियति आदित्य दाहलको नाममा मच्चाउन लागिएको ‘लूट-२’ मा पनि दोहोरिने निश्चित छ ।
र अन्त्यमा,
शरीरिक रूपले अशक्त बालक प्रति मेरो पूर्ण सहानुभूति छ । सानो उमेरको उनको प्राकृतिक ज्ञान र गुण प्रति सम्मान पनि छ । उनलाई राज्यले राम्रो उपचार गर्ने र पढ्न पाउने हक प्रदान गरोस, आपत्ति रहन्न । तर उनको नाममा लूट मच्चाउन खोज्नेहरूलाई फाउन्डेसन लगायतका विभिन्न आवरणमा प्रोत्साहन गर्ने गरी र आफ्नो सरकार संचालनको सुरूवाती असफलता बाट नागरिकको ध्यान अन्यत्र मोड्ने गरी प्रधान मन्त्री जस्तो व्यक्ति बाट अपुष्ट अलौकिकताका नाममा चलाइएको स्याल-हुइयाँको म घोर निन्दा र भर्त्सना गर्दछु.