ब्रेकिङ न्युज:

मेरो जागरण मेरो जीवन भाग – १६ (पागल प्रेमी)

जागरणपोस्ट ४ बैशाख २०७६, बुधबार ०५:५३

अधिकांश मान्छे हरु , नाम चलेका , पावर फुल , उच्च परिवार , अझै माथी सम्म पहुँच भएका , सुकिला मुकिला नाम सुन्दै गर्व लाग्ने मानिस हरु सँग नजिक हुन खोज्छ्न् । वा मरिहत्ते गर्छ्न् । जो सँग संगत गर्दा इज्जत बढ्नुको साथै अन्य अवसरका ढोका हरु पनि स्वत: खुल्दै जान्छ्न् र त्यस्तै बुद्धिमान हरुलाई समाजले सामाजिक प्राणी भनेर चिन्ने , मान्ने गरेका पनि छ्न् । उखानै पनि छ ” गतिलाको संगत गरे गुवापान, अगतिलाको संगत गरे नाककान” । हाम्रो शिक्षा दीक्षा पनि त्यही र त्यस्तै त्यस्तै छ । हर कोही त्यस्तै चाहन्छ्न् सके सम्म त्यस्तै अनुसरण गर्छन् पनि । त्यस्तै बुद्धिमता अपनाउनेले नै दिन दुई गुणा रात चौगुणा प्रगति गरेका पनि छन् । वाह ! वाहीका भागिदार हुने सु – अवसर पनि प्राप्त गरेकै , देखे भोगेकै हो ।

तर म आज त्यस्तो बुद्धिमान मानिसको चर्चा गर्न लागेको हैन । यो भूगोलका मान्छे भन्दा भिन्न स्वभाव जस्तो लाग्ने अजिब प्राणीको चर्चा गर्न लागेको हुँ । सायद तपाईंलाई यो चर्चा व्यर्थ लाग्न पनि सक्छ । अनुत्पादक पनि हुन सक्छ । तपाईंको प्रगति उन्नतिमा यो अवरोधक निश्चय नै हुन सक्छ । अझै धैर्यता पूर्वक यो आलेख पढी दिनु भयो भने तपाईंको मुटु कमजोर हुन पनि सक्छ । त्यसैले भौतिक उन्नति प्रगति चाहने हरुलाई घातक हुने प्रवल सम्भावना पनि छ । राहत बाँड्दा होस् वा कुनै परोपकारी काम गर्दा होस् बडो तामझामका साथ गर्ने हरुलाई त झनै बकवास वाहीयात लाग्नु स्वभाविक नै हो । जो मान्छेको कार्य र दैनिकी सुन्दा तपाईंलाई घीन लाग्नुका साथै खाने बेलामा सम्झिनु मात्रै भयो भने उल्टी हुन पनि सक्छ । त्यसैले सुकिला मुकिलाले कथमकदाचित पढ्नै परेमा खाने बेलामा नपढी दिनु हुन सादर अनुरोध पनि गर्दछु । मैले शुरुमै भनें , यो समाजको वाहीयात मान्छेको चर्चा गर्दै छु त्यसैले यो आलेख पनि निश्चय नै वाहीयात नै हुनेछ । त्यै पनि धैर्यता पूर्वक पढी दिनु भयो भने समाजमा यस्ता वाहीयात मान्छे चिनी दिनु हुने छ भन्ने आश मात्र हो ।
हो त्यस्तो मान्छे जो , अनागरिक , समाज बाट उपेक्षित , बौलाहा , सडक मान्छे , देख्दै फोहरी , डरलाग्दो , रोगले संक्रमित आदिको पछि पछि लाग्छ , फकाउँछ उस्ले दुर्वचन भने पनि सहस्र सहन्छ , आफ्नो पसिनाको कमाइले एक पेट खुवाउँछ , पीप बगेका घाउ हरू निचोर्छ , धुन्छ पखाल्छ , मल्हम लगाउँछ । त्यति मात्र हैन सडकमा अलपत्र परेका हर प्राणी सित उस्को अगाध प्रेम छ । देश शहरका ठूला मान्छेले उस्लाई चिन्छ्न् चिन्दैनन् वा भोलि चिन्लान् नचिन्लान् भन्न त सक्दिन् तर उस्का दुखी दरिद्र पेमी प्रेमिकाले भने उस्लाई भेटे पछि कहिल्यै बिर्सिदैनन् । हो त्यो त्यस्तो पागल प्रेमी हो । जो समाजका दृष्टीमा पागल र उपेक्षित प्राणीलाई अगाध प्रेम गर्ने फोहरी पागल प्रेमी । उस्ले प्रेम गरेका कति प्राणी उस्को ओझेल पर्नै चाहन्नन् । बिहानै देखि उस्का क्रियाकलापमा सहभागी भएका यिनै आँखाले देख्यो भोग्यो । अझ भनौं भने उस्कै घरमा निर्धक्कका साथ डेरा जमाइरहेकै छ्न् । कैली , काले ,पांग्रे आदि (नाम सम्झिन सकिन पुरैको ) । अरुको भाषा बुझ्छ्न् बुझ्दैनन् तर ती प्रेमी प्रेमिका हरूको दोहोरो आत्मीय सम्बाद हरदिन हरपल चलिरहेकै हुन्छ । एकले अर्कालाई सुम्सुम्याउन पाएनन् भने बेचैन हुन्छ्न् पागल हरु ।

त्यही पात्र भेट्न महिनौ देखि मनमा बेचैनी चली रहेको थियो । शारीरिक कठिनाइका कारणले भौतिक रूपमा भेट्न अँगालो मार्न सकि रहेको थिइन तर आत्मा भने जोडिइ सकेको थियो । प्रेमको एउटा पाटो भौतिक शरीर पनि हो जो सम्वेदनाको सम्बाहक पनि । जस्लाई छातीमा एक पटक टाँस्न मात्र पाए पनि मेरो भौतिक दुखाइ कम गर्ने स्वार्थ थियो म सित ।

“मूकं करोति वाचालं पङ्गुं लङ्यते गिरिं ।
यत्कृपा तमहं वन्दे परमान्द माधवम् । “

इच्छा र कृपा भए शारीरिक कठिनाइले छेक्दैन भन्ने वैदिक वचनमा पनि छ । त्यसैले आवाज शर्मा (बाला अधिकारी) र म काठमाडौ भक्तपुर , धुलिखेल हुँदै सिन्धुपाल्चोक सदर मुकाम चौतारा बिहानै हानियौं । चौताराको चौतारै अगाडि त्यही माया/सम्वेदनाको पोकाको घर रहेछ । जस्ले हजारौं उपेक्षित हरुको हर दिन दुख पीडामा मल्हम लगाउँछ आश्रय दिन्छ । जहाँ सपरिवार नै हाम्रो स्वागतार्थ तमतयार थिए । मन त जोडिएकै थियो भौतिक रूपमा पनि न्यानो साटासाट गर्यौं र आफूलाई धन्य सम्झिंदै इश्वरलाई धन्यवाद दियौं । त्यो पात्र थियो राज्यले अमित घिमिरे भनेर परिचयपत्र थमाई दिएको मान्छे । जो मान्छेमा हुन पर्ने गुण भन्दा पनि अलग गुण भएको मान्छे ।जो आफ्नो दुखाइ भन्दा अरुको दुखाइमा दुख्ने गर्छ हरदम । सामान्य मध्यम वर्गको जस्तो घर जस्ले घरको न्यून गर्जो टार्ने गर्छिन् अमितकी सहयात्री/ अर्धाङ्गिनी गंगाले । अमित १२/१५ घण्टा
पसिना बगाउँछ्न् शिक्षण र सञ्चारमा । दुबै पेशा सजिला अवश्यै छैनन् सबैले देखे भोगेकै हो । त्यही पैसा पनि दुखी दरिद्रका घाउमा सके जति मल्हम लगाउँछ्न् । कुशल अमूर्त चित्रकार र साहित्यमा पनि उतिकै पकड छ । साहित्यमा होस् या चित्रमा दुखी दरिद्र कै पीडा ओकलेका हुन्छ्न् ।
तिनी हरूकै मायामा चुर्लुम्म डुबेका हुन्छ्न् । घरका भित्ता भरी किताबका आवरण चित्र र उनले पाएका सम्मान /मायाको चिनोले भरिएका छन् । उनले आज सम्म कमाएको त्यही हो । तर पनि उनको प्राथमिकता ती कहिल्यै पर्न सकेका छैनन् । दुखी दरिद्र अपहेलित उपेक्षित मात्र उनको प्राथमिकतामा पर्छ्न् ।

माथी नै भने अमितकि सहयात्री गंगा हुन् भनेर , जस्तो नाम उस्तै कर्म छ उनको । सायद गंगा , गंगा जस्तै नभैदिएको भए अमित, अमित हुन सक्दैनथ्यो । जसरी गंगामा सफा नदी खोला आए पनि समाहित हुन्छ्न् , दुर्गन्धित नाला आए पनि समाहित हुन्छ्न् त्यसरी नै अमितकी गंगा पनि समाजले भनिने बौलाहा , फोहरी , जोगी , अघोरी उपेक्षित , रोगी , बुढा बुढी
र असाध्य घाउ पीप बगेका जीव जन्तु जस्तालाई अमितले बोकेर/डोर्‍याएर ल्याए पनि उनी केही भन्दिनन् सकेको सेवामा खट्छिन् सहयोग गर्छिन् अमितलाई । उनी हरुलाई न त घीन नै लाग्छ न त समाज सित लाज नै लाग्छ ।

एउटा अघोषित ओझेलमा परेको परोपकारी प्रेमी परिवार सँग अन्तरङ्ग कुरा गर्दा गर्दै दिन गएको , रात छिप्पिएको पत्तै भएन । भोलि पल्ट जसै फर्कनै पर्ने थियो । बिहानै चौतारा बस पार्क सम्म अमितका प्रेमी हरू
कैली, पांग्रे , काले लगाएत१२/१५ अरु दलबल सहित आएर बिदाइ गरे हामीलाई । भौतिक आँखाले कैली , पाङ्ग्रेका समूहलाई समाजले कुकुर भनेर चिने तापनि , अमितलाई बुझ्नेले उसका प्रेमी प्रेमिका भनेर चिन्दा रहेछन् । अमितको परिवार र अमितका प्रेमी प्रेमिका हरुको मायाले पगाल्नु सम्म पगाल्यो । जो शब्दमा व्यक्त गर्न असमर्थ नै भएँ । तर सम्झना अमिट रहने छ ।

यो पनि पढ्नुहोस – जमदारको नाति भाग -१५

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।
साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४