भरत पोखरेल:भेनेजुएलाको वर्तमान संकट बारे विश्वमा र हाम्रै देश नेपालमा पनि तीन धारणाहरु रहेका देखिन्छन् । पहिलो भेनेजुएला सरकारका राष्ट्रपति निकोलस मदुरोको समर्थन दोस्रो मदुरोको विरोध र तेस्रो तटस्थ । भेनेजुएलाका राष्ट्रपति मदुरोले जनवरी १०, २०१९ मा त्यहाँको सर्वोच्च न्यालयका सभापति माइकेल मोरेनोद्वारा ९० राष्ट्रहरुका प्रतिनिधिसामु छ वर्षका लागि दोस्रो कार्यकालको शपथ लिए । मदुरो मे २०, २०१८ मा भएको निर्वाचनमा विजयी भएका थिए । भेनेजुएलाका १६ वटा पार्टीहरुले निर्वाचनमा भाग लिएका थिए भने तीन पार्टीहरुले निर्वाचन वहिष्कार गरेका थिए । निर्वाचनमा ९३,८९,०५६ मत खसेको थियो । निर्वाचनमा ६ जनाको राष्ट्रतिका लागि उमेदवारी परेको थियो जसमा दुई जनाले उमेदवारी फिर्ता लिएका थिए । निकोलस मदुरोले ६२,४८,८६४ (६७.८४ प्रतिशत) मत पाएका थिए, दोस्रा हुने हेनरी फाल्कनले १९,२७,९५८ (२०.९३ प्रतिशत) मत, तेस्रो हुने जाभिएर बर्टुकीले १०,१५,८९५ (१०.८२ प्रतिशत) मत र चौथो हुने रेनाल्डो कोइजादाले ३६,२४६ (०.३९ प्रतिशत) मत पाएका थिए । फ्रान्सिसको भिस्कोन्टी ओसोरियो र एलेकजाण्ड्रो राटीले उमेदवारी फिर्ता लिएका थिए । विश्वभरिका १५० निर्वाचन पर्यवेक्षकहरु, १४ देशका निर्वाचन आयोगका सदस्यहरुले पर्यवेक्षण गरेको यो निर्वाचन बारे अमेरिकी पूर्वराष्ट्रति जिमी कार्टर भन्छन् भेनेजुएलाको निर्वाचन हामी १९९२ देखि हेरिरहेका छौं त्यहाँको निर्वाचन विश्वकै सर्वोत्तम निर्वाचनमध्येको एक हुने गरेको छ ।
भेनेजुएला विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो । त्यहाँ विश्वको दोस्रो देश बराबर सुनको खानी छ, हिराको ठूलो परिमाण मौजूद छ भने विद्युतीय उपकरणहरुमा प्रयोग हुने कोल्टानको खानी पनि छ । भेनेजुएलाले उत्पादन गरेको ४१ प्रतिशत तेल अमेरिका निर्यात गर्छ । उसले प्रतिदिन तीन मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । चीनको तेल उत्पादन ३.५ मिलियन ब्यारेल प्रतिदिन उत्पादनले उसलाई पुग्दैन र २० बिलियन अमेरिकी डलरको तेल आयात गर्ने संझौता भेनेजुएलासँग गरेको छ । चीन र भेनेजुएलाले सेम्टेम्बर १४,२०१८ मा दुईपक्षीय रणनितिक सम्झौता गरेका थिए । यसमा तेल, खानी, सुरक्षा, प्रविधि, वित्त र स्वास्थ्य विषयहरु समावेश छन् । भेनेजुएलाले सुन टर्की पठाएर त्यहाँ प्रशोधन गरी रुस आदि देशहरुमा पठाउने गरेको छ र सुन निर्यात गरेका देशहरुबाट भेनेजुएलाले सन २०१९ मा ६ लाख टन गहुँ आयात गर्ने निर्णय गरेको छ । आर्थिक रुपले भेनेजुएलामा कृषि र उद्योगमा समृद्धि नहुँदा डच डिजिज प्रभाव पनि देखिने गरेको छ । दक्षिण अमेरिकालाई आफ्नो करेसाबारी ठान्ने अमेरिकाको बक्रदृष्टि लिबिया पछि भेनेजुएलामा परेको छ ।
जनवरी ५,२०१९ मा प्रतिपक्षी ३५ वर्षिय जुआन गुआइदो राष्ट्रिय सभाको सभापति चयन भएपछि मदुरोलाई अवैधानिक राष्ट्रपति भन्दै आफूलाई स्वयं घोषित राष्ट्रपति भनी आन्दोलन चलाएका छन् । स्वतन्त्रता र प्रजातन्त्रका वहानामा अमेरिकाको सहयोगीको रुपमा क्यानाडा, ब्राजिल, अर्जेनटिना, कोलम्बिया, चिली, पेरु, कोष्टारिका, इक्वेडोर, ग्वाटेमाला, प्याराग्वे, बेलायत, फ्रान्स, जर्मनी, स्पेन देखिएका छन् भने मदुरोको पक्षमा रुस, चीन, टर्की, मेक्सिको, क्युबा, बोलिभिया, सिरिया, दक्षिण अफ्रिका, उरुग्वे छन् । हिजो आइतबारसम्म मदुरालाई राष्ट्रपति पद छाड्न आठ दिने अल्टिमेटम दिइएको थियो तर जनताको समर्थनमा मदुरोले सो प्रस्ताव ठाडै अस्विकार गरिदिएका छन् । भेनेजुएलाको राजधानी क्याराकस लगायत देशका विभिन्न सहरहरुमा मदुरोको समर्थनमा सभाहरु आयोजना भइरहेका छन् । त्यसो त अगस्त ६,२०१८ मा एउटा सभा सम्बोधन गर्ने क्रममा मदुरोमाथि ड्रोनबाट सांघातिक हमला पनि भएको थियो । अमेरिकाले यस्ता दुष्ट्याँइ पहिले पनि गरिआएको छ । सन १९६४ मा ब्राजिल र बोलिभिया, १९६८ मा पेरु, १९७३ मा चिली र उरुग्वे, १९७६ मा अर्जेन्टिना, १९८९ मा प्याराग्वे र पनामा, २००४ मा हाइटी आदि देशहरुमा अमेरिकाले गरेको हस्तक्षेप विश्वले विर्सेको छैन । वर्तमान भेनेजुएला संकट अमेरिकी साम्राज्यवादले आफ्नो स्वार्थका लागि सिर्जना गर्न खोजेको अर्को एउटा कडी हो।