निको नै नहुने क्यान्सरजस्ता गम्भिर रोगको उपचारमा ठूलो धनराशी खर्च नगरौं

जागरणपोस्ट ११ श्रावण २०७७, आईतवार ०७:१०

नेपालमा क्यान्सर रोग दिन-प्रतिदिन बढ्दो छ । बदलिँदो जीवनशैली, गलत खानपान, धुँवाधुलोको प्रदुषण तथा सूर्तीजन्य पदार्थका कारण नेपालमा वर्षेनी हजारौं मानिसलाई क्यान्सर लाग्ने गरेको छ । झण्डै बीस हजारको हाराहारीमा नेपालमा क्यान्सर रोगीहरु रहेको अनुमान छ ।

नेपालमा क्यान्सर रोगको अवस्था जति भयावह छ, बिरामीको उपचार पनि त्यति नै जटिल छ । उपचारका लागि मानिसहरु विदेशसम्म जाने गरेका छन् भने आर्थिक अवस्था कमजोर हुनेहरुले घरखेत बेचेर सुकुम्वासी बन्नुपरेेको छ ।

आखिर यो क्यान्सर के हो ? नेपालमा यसको उपचार पद्दतिको अवस्था के छ ? विदेश नै जानुपर्ने हो कि नेपालमै भर पर्दा हुन्छ ? अनि क्यान्सरका बिरामीले ध्यान दिनुपर्ने कुराहरु के कस्ता छन् ?

यिनै प्रश्नहरुको सेरोफेरोमा हामीले वीर अस्पतालमा कार्यरत बरिष्ठ डाक्टर मेडिकल अन्कोलोजिस्ट प्रा. डा. विष्णुदत्त पौडेलसँग क्यान्सर रोगको नालीबेली केलाउँदै लामो कुराकानी गरेका छौं ।

डा. पौडेल हाल न्याम्समा डीएम मेडिकल अन्कोलोजीका कोअर्डिनेटर छन् । उनी हाल ‘नेप्लिज एशोसिएसन अफ प्यालिएटिभ केयर’ का अध्यक्ष पनि हुन् । क्यान्सर रोगीलाई औषधोपचार मात्रै गरेर नपुग्ने भएकाले ‘प्यालिएटिभ केयर’ मा ध्यान दिनु अपरिहार्य रहेको डा. पौडेलको निश्कर्ष छ ।

क्यान्सरको नामै सुन्दा मानिसहरु आत्तिन्छन् । मानिसलाई यो रोगबारे राम्रो जानकारी नभएर यस्तो भएको हो ?

यसमा कमजोरी एकजनाको मात्रै नभएर सबैको छ । क्यान्सर रोगको उपचारमा सरकारले जति गर्नुपर्ने थियो, त्यो भएको छैन । जनतामा पनि क्यान्सरबारे पर्याप्त जनचेतना फैलिएको छैन । बिरामी पनि रोग लागेपछि मात्रै अस्पताल जाने गरेको पाइन्छ । जब कि रोग लाग्नुभन्दा पहिले नै त्यसको स्क्रिनिङ गर्न सकेमात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।

त्यस्तै, सुर्तीजन्य पदार्थका कारण पनि धेरैलाई क्यान्सर भएको पाइन्छ । तर, यसको प्रभावकारी रोकथामतिर कसैको ध्यान गएको पाइँदैन । कानुनले नै अस्पतालको सय मिटरको आसपास सूर्तिजन्य पदार्थ बेच्न रोक लगाएको छ । तर, व्यवहारमा भने अस्पताल वरिपरि नै जथाभावी सूर्तिजन्य पदार्थ बेचेको पाइन्छ । कानुन कार्यान्वयन प्रभावकारी भएको पाइँदैन । त्यस्तै, प्रदुषणले पनि क्यान्सर रोग निम्त्याउने गर्छ । तर, प्रदुषण कम गराउन के-के गर्न सकिन्छ भन्नेतर्फ सरकारको खासै ध्यान गएको पाइँदैन । जनता पनि जागरुक भएको पाइँदैन ।

सबैभन्दा पहिले त कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हो । यसका लागि रोकथाम एकदम जरुरी छ । यसका लागि कारकतत्वहरुबाट बच्नुपर्छ । जस्तै- सुर्तीजन्य पदार्थको सेवन, मद्यपान गर्नबाट आफू पनि बच्नुपर्‍यो । परिवारका सदस्यलाई पनि रोक्नुपर्‍यो ।

बदलिँदो जीवनशैलीमा विशेष ध्यान दिने, खानपानमा विशेष सजगता अपनाउने, खानामा फलफूल, सागपात खाने, माछामासुमध्ये माछाको प्रयोग बढी गर्ने, प्रदुषण कम गर्ने, व्यायाम गर्ने आदि गरेर पनि यसको रोकथाम गर्न सकिन्छ । त्यसबाहेक स्क्रनिङ जरुरी छ । यसका लागि महिलाहरुले आफ्नो स्तन आफैं जाँच्ने, ३/४ वर्षमा कम्तिमा एकपटक स्तनको स्क्रनिङ गर्ने, विवाहिता महिलाहरुले बेलाबेलामा पाठेघरको मुखको जाँच गर्ने, तथा स्कुल जाने उमेरका किशोर किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने आदि गर्न सकिन्छ । ५० वर्ष पुगेका मानिसहरुले नियमित दिशा-पिसाब जाँच गराएर पनि यसको रोकथाम गर्न सकिन्छ ।

यसको मतलव, क्यान्सरको जाँच गर्न क्यान्सर नै हुनुपर्छ भन्ने जरुरी छैन । क्यान्सर हुनुअगाडि क्यान्सरको स्त्रिmनिङ गराएर पनि जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । यो काम व्यक्तिगत रुपमा पनि गर्नुपर्‍यो, सामाजिक तहमा पनि गर्नुपर्‍यो । र, सरकारलाई पनि दबाव दिनुपर्‍यो ।

नेपालमा क्यान्सरका बिरामीहरु दिन प्रतिदिन बढ्नुको कारण के हो ?

नेपालमा नेशनल क्यान्सर रजिष्ट्री भन्ने छ, जसले प्रत्येक वर्ष नेपालका १०/१२ वटा अस्पतालबाट क्यान्सर रोगीहरुको तथ्यांक संकलन गर्छ । उसको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा करिब १० हजारको हाराहारीमा क्यान्सरका बिरामी दर्ता हुने गर्छन् । बाँकी करिब २० देखि ३० हजार क्यान्सरका विरामी भएको अनुमान गरिन्छ । तर, अस्पतालमा दर्ता भएका बिरामीको संख्या भनेको १० हजारको हाराहारीमा नै रहेको छ ।

बदलिँदो जीवनशैली, गलत खानपान, सूर्तिर्जन्य पदार्थको सेवन, कीटनाशक औषधिको प्रयोग लगायतले क्यान्सर रोगका बिरामी बढिरहेका छन् । हरेक वर्षको डाटाले क्यान्सरका बिरामी बढेकै संकेत गर्छ । तर, दुर्भाग्य के छ भने अन्य देशको भन्दा हाम्रो देशमा क्यान्सरका बिरामी अलि ढीलोमात्रै अस्पताल पुग्ने गर्छन् । कहिलेकाही साधारण उपचार गरेर बिरामीलाई सजिलो पार्न सकिने ठाउँमा पनि कहीँकतै, केही नमिलेर पनि बिरामीले अनावश्यक पीडा भोग्नुपरिरहेको देखिन्छ ।

यसबारे थानकोट हस्पिस र हस्पिस नेपालले केही समयअघि एउटा रिर्सच पेपर नै प्रकाशित गरेको थियो, जसमा हस्पिसमा आउने कति बिरामीलाई पीडा छ भनेर हेर्दा सयमा सय जनालाई नै पीडा भएको वा दुखाई भएको पाइएको थियो । यस्तो दुखाई कम गर्ने औषधि २/४ रुपैयाँ खर्च गरेकै भरमा नेपालमा किन्न पाइन्छ भन्ने कुरा नबुझ्दा पनि बिरामीहरु धेरै ठाउँमा भौंतारिनु परेको रिसर्चमा पाइएको थियो ।

आर्थिक दृष्टिकोणबाट हेर्दा क्यान्सर कत्तिको महंगो रोग हो ?

केहीले आर्थिक अभावका कारण उपचार पाउन सकेका छैनन् । कोहीले दूरदराजमा भएका कारण र उपचारको सुविधा सबैतिर उपलब्ध नभएका कारण पनि सुविधा पाउन सकेका छैनन् । अलिअलि सिस्टमले पनि अप्ठेरो पारेको देखिन्छ । सरकारले दिने एक लाख रुपैयाँकै उपचार सेवा लिनसमेत लामो प्रक्रिया अपनाउनुपर्ने देखिन्छ । सबैतिर राम्रो तरिकाले काम नभएको हो । त्यसैले यसको उपचारका लागि जुन किसिमको सिस्टमको विकास हुनुपर्ने हो, त्यो नभएकाले पनि समस्या आएको जस्तो लाग्छ ।

तर, सबै क्यान्सर महंगो हुँदैन । केही क्यान्सरको उपचार थोरैमा पनि गर्न सम्भव छ । जस्तो- सरकारले दिने एक लाखसम्मको सुविधाले स्तन क्यान्सरको हकमा ६ साइकलसम्मको केमोथेरापी दिन सकिन्छ । त्यस्तै फोक्सोको क्यान्सरमा पनि साधारण केमोथेरापीले पुग्छ ।

डा. देवकोटा पो सक्षम हुनुहुन्थ्यो । आफ्नो चाहना र इच्छा अनुसार नै बेलायत जानुभयो । तर, त्यही प्रकृतिको रोग भएको मानिसलाई बेलायत जान सुझाव दिइयो भने त्यो परिवारको अवस्था के होला ?
अब अघि भनेजस्तै टार्गेटेड थेरापी तथा अन्य थेरापी केही महंगा होलान् । नत्र सबै उपचार महंगो छैन । यहीँ (वीर अस्पतालमा ) रेडियोथेरापी ५ हजारमा गर्न सकिन्छ । अझ सरकारले चाहने हो भने यसलाई निःशुल्क पनि गर्न सकिन्छ । यति हो कि यसलाई सिस्टममा लैजान सकियो भने मात्रै पनि उपलब्ध स्रोत साधनबाटै यस क्षेत्रमा धेरै काम गर्न सकिन्छ । सरकारले औषधिहरु सस्तोमा दिएर पनि यो समस्या कम गर्न सकिन्छ ।

कुन भागको क्यान्सर बढी जटिल हो ?

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी छ भने पुरुषहरुमा फोक्सोको क्यान्सर पहिलो स्थानमा छ । त्यसपछि पेटको क्यान्सर र मुखको क्यान्सर धेरै छ । अन्य रोगको दाँजोमा त क्यान्सर रोग जटिल नै मानिन्छ । यो रोगको कारण मृत्यु हुने दर पनि विश्वमा धेरै छ ।

विशेषगरी, हाम्रो जस्तो विकासोन्मुख देश, जहाँ स्रोतसाधनको कमी छ, हामीले धेरै बिरामीलाई बचाउन सक्दैनौं त्यसैले यो जटिल नै छ । यद्यपि, क्यान्सरको उपचारमा पनि धेरै विकास भैसकेको छ । समयमै रोग पहिचानद्वारा उपचार गरेको खण्डमा धेरै क्यान्सरलाई निको पनि पार्न सकिन्छ ।

तर, कहिलेकाँही ल्युकेमिया लगायतका रक्त क्यान्सर, गाँठागुँठी वा लो ग्रेडको क्यान्सरको उपचार गरिहाल्न पनि जरुरी छैन । पर्दैन । त्यसको उपचार गर्नु र नगर्नु एउटै हो । तर, कतिपय मानिसले बुझ्दाबुझ्दै वा नबुझेर, उपचार गरिरहेकै हुन्छन् । जबकि सबै क्यान्सरमा उपचार जरुरी छैन, त्यो क्यान्सरको स्टेज र परिस्थितिमा पनि भर पर्छ ।

तर, नेपालमा प्रायः बिरामीलाई सुरुमै क्यान्सर भएको जानकारी दिइँदैन, यो कत्तिको उचित हो ?

यसका दुईवटा पक्ष छन् । हामी पाश्चात्य जगतमा दीक्षित भएका डाक्टर र पूर्वी समाजमा हुर्केका मानिसहरुका आ-आˆनै धारणा छन् । आˆनो रोगबारे जान्न पाउने बिरामीको अधिकार हो भन्दै पाश्चात्य जगतमा यस्ता रोगबारे बिरामीलाई जानकारी दिने गरिन्छ । बिरामीले थाहा पाउनुपर्छ भन्ने गरिन्छ । यसको राम्रो पक्ष पनि छ । किनकि जब तपाईलाई मर्दैछु भन्ने थाहा हुन्छ, त्यसबेला तपाईलाई कतिपय व्यवहारिक तथा आर्थिक कुरा मिलाउन समय मिल्छ । मनका साधारण इच्छाहरु पूरा गर्न सक्छन् । त्यसकारण जानकारी दिनु सही पनि हो ।

तर, हाम्रो जस्तो समाजमा परिवारका सदस्यले बिरामीलाई रोगबारे जानकारी नगराउनुको कारण के हो भने यसले बिरामीलाई थप पीडा हुन्छ भनेर सोच्ने गरिन्छ । त्यसैले यो विषय अलिकति जटिल पनि छ ।

विकासक्रमको कुरो गर्दा नेपालमा क्यान्सरको उपचार कहिलेदेखि, कसरी सुरु भयो ?

नेपालमा क्यान्सर रोगको उपचार सुरु भएको सन् १९९१ बाट हो । त्यसबेला बीर अस्पतालबाटै क्यान्सरको उपचार सुरु भएको हो । त्योभन्दा अगाडि नेपालमा क्यान्सरको उपचार गर्ने संस्थाहरु थिएनन् । केही तालिम प्राप्त चिकित्सकहरुले कान्ति अस्पतालमा उपचार त गर्नुहुन्थ्यो । तर, उपचारकेन्द्रकै रुपमा विकसित भएको भनेको वीर अस्पतालबाटै हो ।

त्यसबेला वीर अस्पतालमा आउने क्यान्सरका बिरामीमध्ये महिलाहरुमा पाठेघरको क्यान्सर, स्तन क्यान्सर नै प्रमुख थियो । त्यस्तै, पुरुषहरुमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर प्रमुख थियो, जुन अहिले पनि छ ।

त्यसबेला वीर अस्पतालमा क्यान्सर रोगको उपचार रेडियोथेरापीबाट सुरु भएको थियो । शल्यक्रिया गर्ने चिकित्सकहरुले उपचार शल्यक्रियाद्वारा नै उपचार गर्थे । त्यसबेेला स्तन क्यान्सर भएमा स्तन नै काटेर फालिन्थ्यो । अहिले क्यान्सर भएको भाग तथा वरिपरिको केही भागमात्रै काटेर फालिन्छ । यसको अर्थ के हो भने अब सर्जरीमा पनि परिवर्तन आएको छ ।

उपचार प्रविधिमा आएको त्यो परिवर्तन के हो ?

पहिले पूरै भाग काटेर फाल्ने गरिएकोमा अहिले निश्चित ठाउँलाई मात्रै काटेर फालिन्छ । त्यस्तै, जहाँ क्यान्सर छ, त्यसलाई मात्रै फोकस गरेर उपचार गरिन्छ । तर, त्यसलाई सम्पूर्ण बिरामीमाझ पुर्‍याउन सकिएको छैन, त्यो अर्कैर् कुरा हो ।

रेडियोथेरापीमा पनि नयाँ-नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । पहिले कोबाल्टबाट सुरु भएको रेडियोथेरापी मेसिन अहिले लिनियाकसम्म आइसकेको छ । पहिले केमोथेरापी थियो भने अहिले टार्गेटेड थेरापी आइसकेको छ । यस हिसाबले परिवर्तन त आएकै छ । अझै यसलाई समस्त रुपमा समग्र रुपमा सर्वसाधारणमाझ पुर्‍याउन सकिएको छैन, त्यो बेग्लै कुरा हो । बरु भएकै कुरालाई पनि राम्ररी सदुपयोग गर्न सकेमात्रै पनि नेपालमा धेरै ठूलो कुरा हुन्थ्यो ।

अहिले हाम्रो देशमा क्यान्सरको उपचारमा के- कस्ता प्रविधिहरु प्रयोगभइरहेका छन् ?

क्यान्सरको उपचारमा सबैभन्दा पुरानो उपचार पद्दति शल्यक्रिया नै हो, जसमा क्यान्सर भएको भागलाई काटेर फाल्ने गरिन्छ । त्यसपछि आएको उपचार पद्दति रेडियोथेरापी हो । त्यसपछि आएको केमोथेरापी हो, जसमा औषधि तथा इन्जेक्सनको माध्यमद्वारा बिरामीको उपचार गरिन्छ । त्यसपछि पनि नयाँ आएको भनेको टार्गेटेड थेरापी हो । यो पनि एक किसिमको औषधि नै हो । र, यो उपचार पद्दति पनि नेपालमा विकसित हुँदै गएको छ ।

क्यान्सर रोगको उपचारमा कुन प्रविधि प्रयोग गरिने भन्ने कुरा क्यान्सरको स्टेज अनुसार फरक हुन्छ । तथापि अहिले आएको टार्गेटेड थेरापी अलि मंहगो हुने भएकाले यो उपचार पद्दति सबैको पहुँचमा पुग्न सकेको छैन । अन्य उपचार पद्धति त प्रायः सबै प्रयोगमै छन् ।

विश्वमा पाइने उपचार पद्दति नेपालमा छ त ?

नेपाल विकाशोन्मूख देश भएकाले हाम्रा केही सीमाहरु छन् । बेलायत, अमेरिकालगायतका देशमा उपलब्ध सबै उपचार पद्दति त यहाँ छैनन् । यस्ता पद्दति भनेको देश जति विकसित भयो, त्यत्ति नै विकसित हुने हो । सुविधाहरु पनि त्यही अनुसार हुने हो ।

तर, पनि क्यान्सर रोगमा अपनाइने उपचार पद्दति नेपालमा पनि लगभग उस्तै नै छ । खाली त्यसलाई बिरामीमाझ उपलब्ध गराउन तथा बिरामीको पहुँचमा पुर्‍याउने व्यवस्था गर्न जरुरी छ ।

यस्तो हुँदाहुँदै विशिष्ट व्यक्तिहरु विदेश जानुको कारण के हो ?

नेपाल एउटा विकासोन्मुख राष्ट्र भएकाले आर्थिक दृष्टिकोणले सकिन्छ र बाहिर गए राम्रो उपचार पाइन्छ भन्ने मानसिकताका कारण पनि थुप्रै मानिस विदेश गएको पाइन्छ । त्यसबाहेक, कहिलेकाहीँ बाध्यता पनि हुन्छ । सुविधा पाइन्छ भने जाऔं भनेर जानेहरु पनि धेरै छ ।

विदेश जानेमा यहीँ उपचार सम्भव नभएका वास्तविक रोगीहरु नै हुन्छन् भन्ने पनि छैन । यदि नेपालमा उपचार नहुने रोगहरुको हकमा क्यान्सर रोगका विशेषज्ञहरुले रोगको प्रकृति अनुसार सिफारिस गर्ने प्रचलन भयो भने त्यसलाई रोक्न सकिन्छ ।

क्यान्सरको उपचारसम्बन्धी कुरा गर्दा जहिले पनि किमोथेरापीको प्रयोग हुने गरेको सुनिन्छ । तर, विकसित देशमा त किमोथेरापी फेजआउट भैसक्यो भन्छन् नि ?

तपाईलाई कसले भन्यो ? अहिले पनि मकहाँ अमेरिका, बेलायत, क्यानाडामा पढेका विद्यार्थीहरु आउने गर्छन् । म पनि बेलाबेलामा विश्वका विभिन्न देश घुम्ने गर्छु । मैले यो किन भन्दैछु भने विश्वमा के-कस्ता उपचार पद्दति प्रयोग भैरहेका छन् भन्ने बारेमा म राम्रोसितले अपडेट छु । अहिले पनि विभिन्न देशहरुमा केमोथेरापी नै प्रयोगमा छ । आउटडेटेड नै भैसकेको छैन । तर, अहिले केमोथेरापीका साथसाथै टार्गेटेड थेरापी उपलब्ध भएकाले त्योचाँहि उतातिर धेरै प्रयोग हुन थालेको छ ।

हामी पनि बिरामीलाई टार्गेटेड थेरापीलाई केमोथेरापीसित मिलाएर दिने गर्छौं । त्यसैले यति भन्न सकिन्छ कि विश्वबाट केमोथेरापी हटिसकेको छैन ।

केमोथेरापी र टार्गेटेड थेरापीबीच के भिन्नता छ ?

सामान्यतयाः हाम्रो शरीरमा कोषिकाहरुको वृद्धि भैरहेका हुन्छन् । तर, क्यान्सर भएमा शरीरका कोषिका अनियन्त्रित तरिकाले बढ्ने गर्छन् । जसलाई नियन्त्रण गर्न केमोथेरापी दिइने गरिन्छ ।

केमोथेरापी भनेको एकप्रकारको औषधि नै हो । यो इन्जेक्सन तथा औषधिको माध्यमद्वारा पनि दिइने गरिन्छ । शरीरभित्र गएपछि यसले शरीरमा वृद्धि भइरहेको कोषिकालाई असर पार्छ, जसका कारण केमो लिने मानिसको कपाल झर्नुका साथै रगत कमी हुनेलगायतको असर पर्ने गर्छ ।

केमोथेरापीले कुन कोषिका क्यान्सरजन्य हो र कुन क्यान्सररहित हो भन्ने छुट्याउँदैन । र, यसले बारुदको छर्राझैं शरीरका सबै कोषिकाहरुलाई असर पार्ने हुदाँ यसको साइड इफेक्ट धेरै हुने गर्छ ।

जबकि टार्गेटेड थेरापीले बन्दूकको गोलीले झैं क्यान्सर भएको विशेष भागमा मात्रै प्रहार गर्ने हुदाँ यसको ‘साइड इफेक्ट’ केमोथेरापीको तुलनामा केही कम हुने गर्छ ।

डा. साहेब, तपाई ‘नेप्लिज एशोसिएसन अफ प्यालिएटिभ केयर’ को अध्यक्ष हुनुहुन्छ । के हो यो ‘प्यालिएटिभ केयर’ भनेको ? यसबाट क्यान्सरका बिरामीलाई के फाइदा हुन्छ ?

क्यान्सर भएपछि यसको रोकथाम गर्ने एउटा उपचार पद्दति हुन्छ । जसमा सर्जरी गर्ने, रेडियोथेरापी दिने, किमो लगाउने गरिन्छ । तीबाहेक पनि क्यान्सरका बिरामीलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक पीडा हुन्छ । कुनै परिवारको एकजनालाई क्यान्सर भयो भने परिवारका समस्त व्यक्ति मानसिक तथा आर्थिकरुपले पीडित हुन्छन् ।

त्यसैकारण, क्यान्सरका बिरामीलाई क्यान्सरको मात्रै उपचार नगरेर उसलाई र उसको परिवारलाई शारीरिक, मानसिक, सामाजिक र आर्थिक सर्पोट गर्ने जुन एउटा होलिस्टिक एप्रोच हो, त्यसलाई हाम्रो भाषामा प्यालिएटिभ केयर भनिन्छ । क्यान्सरको उपचारमा यो अति आवश्यक छ ।

प्यालिएटिभ केयर भनेको मुख्यगरी क्यान्सरको बिरामीको ‘क्वालिटी अफ लाइभ’ सुधार गर्नु हो, क्वान्टिटी हैन । उदाहरणका लागि कुनै एउटा बिरामी एक महिना वा ६ महिनामात्रै बाँच्नेछ भने उसको उमेरलाई लम्ब्याउने भन्दा पनि ऊ जति दिन बाँच्छ, त्यति दिन शारीरिक वा मानसिक पीडा कम गराउन खोज्नु हो । अनावश्यक खर्च नगराउनु हो ।

यसका साथसाथै बिरामीको परिवारका सदस्यहरुलाई पनि सपोर्ट गर्ने, ढाडस दिने, बिरामीको अवस्थाबारे उनीहरुलाई जानकारी गराउने लगायतका सम्पूर्ण सर्पोट गर्ने काम प्यालिएटिभ केयर अन्तर्गत पर्छन् ।

कहिलेकाहीँ यस्तो पनि स्थिति आउँछ कि क्यान्सरको मुख्य उपचार पद्दति सर्जरी, रेडियोथेरापी, किमोथेरापीको खासै काम रहँदैन । त्यस्तोबेला प्यालिएटिभ केयर मात्रैको पनि आवश्यकता पर्न सक्छ । कहिलेकाहीँ सुरुको अवस्थामा प्यालिएटिभ केयरको आवश्यकता थोरै मात्र पर्न सक्छ । तर, रोग माथ्लो स्टेजमा पुगेपछि बिरामी र उनको परिवारलाई यसको आवश्यकता बढी पर्न सक्छ ।

हामीले वीर अस्पतालमा पनि प्यालिएटिभ केयर दिँदै आएकाछौं । भक्तपुर अस्पतालले पनि प्यालिएटिभ केयर दिँदै आएको छ । त्यस्तै, हस्पिस तथा हस्पिस नेपालले पनि काठमाडौंका विभिन्न स्थानमा प्यालिएटिभ केयर दिँदै आएको छ । भरतपुर अस्पतालले पनि यो सेवा दिँदै आएको छ ।

हुन त म मेडिकल अन्कोलोजिस्ट हुँ । तर, नेपालमा केमोथेरापी मात्र पर्याप्त छैन, यसबाहेक पनि विशेष उपचारको जरुरत छ भनेर यो क्षेत्रमा लागेको हुँ ।

प्यालिएटिभ केयरको अवधारणा विश्वमा कसरी आयो ?

बेलायतमा सिसिलिस सन्ड्रसु भन्ने नर्स हुनुहुन्थ्यो । उहाँ सेन्ट क्रिस्टोफर भन्ने अस्पतालमा काम गर्नुहुन्थ्यो । त्यहाँ कार्यरत डाक्टरहरु बिरामीको पीडा कम गर्नेतर्फ भन्दा केवल रोगमा मात्रै केन्दि्रत भएर काम गरेको देखेर सिसिलिसले नै प्यालिएटिभ केयर सुरु गर्नु भएको हो ।

उहाँले यो सेवा सुरु गर्दा उहाँ नर्सका रुपमा मात्रै काम गर्ने हुदाँ नर्सको कुरा कसैले नसुनेपछि उहाँ पछि गएर डाक्टर नै बन्नुभयो । यसरी सिसिलिसले सन् १९६७ मै यो सेवा सुरु गर्नु भएको हो । पछि यो उपचार पद्दति अरु देशहरुमा पनि विकास हुन थाल्यो । हाल प्यालिएटिभ केयर संसारभर प्रचलनमा छ ।

म बेलायतबाट र्फकंदा नेपालमा प्यालिएटिभ सम्बन्धी अवधारणा खासै विकास भएको थिएन, जसका कारण बिरामीहरु मर्न पाए हुन्थ्यो भन्ने गर्थे । जब कि एक रुपैयाँको औषधिबाट पनि यस्तो पीडा सजिलै कम गर्न सकिन्थ्यो । यो कुरा मैले विदेशमा देखेको भएर मलाई यसको निकै अभाव खड्कियो । त्यसपछि मैले यही विषयमा काम गर्न सुरु गरें ।

मैले श्रीलंकामा अन्कोलोजीको तालिम लिने क्रममा देखेको थिएँ । यसबारे बेलायतमा तालिम लिदाँ थाहा पाएँ । त्योभन्दा पनि यहाँ उपचार लिन आउने बिरामीहरु छटपटाइरहेको र नेपालमा प्यालिएटिभ केयरसम्बन्धी अलगै युनिट नभएकाले पनि मलाई लाग्यो, यी बिरामीलाई किमो भन्दा धेरै प्यालिएटिभ केयरको जरुरत छ । त्यसैले मैले यस क्षेत्रमा केही गर्ने सोचें र सौभाग्यवस यसमा पढ्ने र पढाउने अवसर पनि पाएँ ।

तर, यसमा हाम्रो समाजले जति बुझ्नुपर्ने हो, त्यति बुझिसकेको छैन । अझै धेरै गर्न बाँकी छ । त्यसैलेस्वास्थ्य मन्त्रालयसित मिलेर हामीले विभिन्न कार्यक्रमहरु दिँदै आएका छाैं ।

प्यालिएटिभ सेवा क्यान्सरका विरामीलाई मात्रै दिइन्छ वा अरु विरामीलाई पनि ?

यो केयर अरु बिरामीलाई पनि दिन सकिन्छ । हामी क्यान्सर रोग विशेषज्ञ भएकाले क्यान्सरमा बढी फोकस छांै । तर, यो केयर रुघाखोकी लागेका, दम लागेको, मिर्गौला फेल भएका, मुटु रोगी वा अन्य कुनै पनि बिरामी जो अन्तिम अवस्थामा छन्, र उपचार सम्भव छैन, उनीहरुलाई पनि दिन सकिन्छ, चाहे त्यो एड्सकै बिरामी किन नहोस् । तर, नेपालमा चाहिँ क्यान्सर विशेषज्ञ धेरै यसमा लागेकोले यसमै बढी दिइन्छ ।

प्यालिएटिभ केयर सुरु गरिसकेपछि बिरामीको पीडामा कमी आएको पाएँ । बिरामीलाई दुखिरहेको छ, पोलिरहेको छ भने पनि यसको मद्दतले विरामीलाई राहत मिलेको महसुस भयो । त्यसबाट बिरामीले जुन राहत पाउँछन्, त्यसबाट सन्तुष्टि पाइन्छ ।

क्यान्सरको रोगीका लागि विरामी भएपछि उसलाई क्यान्सरको उपचार त चाहिन्छ नै । उपचारका साथमा अन्य सर्पोट पनि एकदमै जरुरी पर्छ । मैले कतिपटक देखेको छु, जो महिलाहरु क्यान्सर भएर आउँछन्, र, उनीहरु सुरुकै स्टेजमै आए भने पनि म कहिले मर्छु भन्ने चिन्ता भन्दा पनि मेरा छोराछोरीले भविश्यमा पढ्न पाउँछन् कि पाउँदैनन्, खान पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ता बढी हुने गरेको छ । यसकारणले पनि क्यान्सरका बिरामी र उनीहरुको परिवारलाई सहयोग आवश्यक छ ।

क्वालिटी लाइफमा रोगलाई मात्रै फोकस गरिँदैन । एउटा बिरामी आउँदा स्तन क्यान्सरको समस्या मात्रै लिएर आएको हुँदैन । उसलाई क्यान्सर छ भने औषधि दिँदा उसको शारीरि पीडा कम हुन्छ भने त्यो पनि क्वालिटी लाइफभित्रै पर्दछ । सँगै उसलाई मानसिक तनाव पनि भैरहेको हुन्छ । यस विषयमा कुराकानी गरेर पनि उसको तनाव कम गर्न सकिन्छ । कहिलेकाहीँ बिरामीहरु आत्तिने, दौडने गर्छन् । त्यसबेला उनीहरुलाई उनको क्यान्सर कुन स्टेजको हो भन्नेबारे काउन्सिलिङ्ग गरेर पनि उनीहरुको ‘क्वालिटी अफ लाइफ’ राम्रो बनाउन सकिन्छ ।

तर, क्यान्सरका बिरामीलाई प्यालिएटिभ केयरमा जोड दिने कि उपचारमा ? एउटा क्यान्सरको बिरामीका लागि ‘क्वालिटी अफ लाइभ’ बढी आवश्यक हुन्छ कि ‘क्वान्टिटी’ ?

तपाईले धेरै राम्रो प्रश्न गर्नुभयो । कतिपय अवस्थामा एउटा क्यान्सरको बिरामीका लागि क्वान्टिटी अफ लाइभ पनि महत्वपूर्ण हुन्छ । जसमा विभिन्न उपचार पद्दतिको प्रयोगद्वारा बिरामीलाई निको पार्न सकिन्छ । त्यसबेला हामीले क्वालिटीमा भन्दा क्वान्टिटीमै केन्दि्रत हुनुपर्ने हुन्छ ।

उदाहरणका लागि, हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै लिन सकिन्छ । उहाँको क्यान्सर निको हुने स्टेजमा थियो । उपचार गरियो । निको पारियो । अहिले क्वान्टिटी अफ लाइभ बिताइरहनुभएको छ । सक्रिय जीवन बिताइरहनुभएको छ ।

त्यस्तै, यसभन्दा अगाडि पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पनि क्यान्सर भएको थियो । उपचार गरियो । निको बनाइयो । यसले क्वान्टिटी अफ लाइफ बढ्यो र देशको प्रधानमन्त्री नै बन्नुभयो । भर्खरै देख्नुभयो, नेपालकै वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा बेलायत नै गएर त्यत्रो पैसा खर्च गरे पनि आखिर उहाँलाई निको पार्न सकिएन ।

यसकारण, बिरामी कुन अवस्थामा छ, त्यो निर्क्याैल गर्न जरुरी छ । पैसा खर्च गरेर निको नहुने बिरामीलाई घरबार, खेत, सम्पत्ति बेचेर उपचार गर्नुपनि हुँदैन । जुन, हाम्रो देशमा यदाकदा देखिने गरेको छ । डा. चित्रबहादुर वाग्लेको कहानी योभन्दा अछुतो छैन ।

डा. वाग्ले अन्तिम अवस्थामा आउनुभयो । उपचारका लागि भारत पनि जानुभयो । लाखौं रुपैयाँ खर्चिनु भो । जिन्दगीभरको कमाइ सक्नुभो । पत्रपत्रिकामै पनि कुरा आयो, कि श्रीमती र छोराछोरीलाई अप्ठेरो भयो । यो भनेको ‘मिस गाइडेड’ हो ।

निको नहुने क्यान्सरलाई निको हुँदैन पनि भन्न सक्नुपर्छ । अनावश्यकरुपमा पैसा खर्च गराएर मात्र काम छैन । किनभने, क्यान्सरका विरामीमात्रै एक्लो हुँदैन । उसको पनि परिवार हुन्छ । उनीहरुलाई पनि बाँच्नुपर्छ । त्यसैले, यो कुरालाई छुट्याउन जरुरी छ । निको हुनसक्ने बिरामीलाई हदैसम्मको उपचार गरेर निको नहुनेलाई निको हुँदैन भन्न जरुरी छ ।

डा. देवकोटा पो सक्षम हुनुहुन्थ्यो । आफ्नो चाहना र इच्छा अनुसार नै बेलायत जानुभयो । तर, त्यही प्रकृतिको रोग भएको मानिसलाई बेलायत जान सुझाव दिइयो भने त्यो परिवारको अवस्था के होला ? त्यसैले, यस्तो रोगको उपचार गर्दा विचार गर्नैपर्ने हुन्छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८