राप्रपाका नेता सुनिलबहादुर थापा एक दर्जन नेताहरू र अन्य धेरै कार्यकर्ताका साथ १३ साउन ०७७ मा नेपाली काँग्रेसमा प्रवेश गर्नु अर्थपूर्ण र महत्वपूर्ण छ ।
तन राप्रपामा मन काँग्रेसमा !
जवदेखि सुनिलमा राजनीतिक इच्छा बढ्दैआएको देखिन्थ्यो, राप्रपाको केन्द्रीय नेतृत्व तहमा बसे पनि उनका विचारहरू काँग्रेसपरस्त वा काँग्रेसमैत्री भएको आभास पाईन्थ्यो । मैले कतिपय साथीहरूलाई भने पनि,”Keep watching ! One fine day, this fellow may join to Nepali Congress !”
नेपालको राजनीतिमा सूर्यबहादुर थापालाई दुस्साहसी, सिद्धान्तहिन, भ्रष्टाचारका अधिष्ठाता, अवसरवादी, प्रजातान्त्रिक संघर्षका बाधक आदि जेजे भनिन्छ, ती सबै वास्तविकताका रुपमा जगजाहेर छ । त्यसबारे पुस्तकै तयार हुनसक्ला !
तर अधर्म बोल्नु हुँदैन, उनले एउटा राम्रो काम के गरेछन् भने आफ्नो एक्लो छोरालाई दोष लाग्ने सम्पत्तीबाट टाडै राखेर मितब्ययता र सादगी सिकाए । साथै आफ्ना फोहोरी र सिद्धान्तहिन राजनीतिक गतिविधिबाट पनि अलग राखे ।
सुनील बिसौं वर्ष राष्ट्रसंघ सेवा (UN System) मा राम्रो पदमा काम गरेर सेवानिवृत्त भएपछि सक्रिय राजनीतिमा बाबु सूर्यबहादुर थापाले उत्तराधिकारीका रुपमा ल्याएका व्यक्तित्व हुन् । उनीसँग नयाँ सोच र अनुभव छ ।
नेपाली काँग्रेस भनुँ वा आजको नेकपा, धेरैवटा घटक र धातु मिलेर बनेका पार्टी हुन् यी !
स्वयं गणेशमानजी प्रजापरिषदबाट नेपाली राष्ट्रिय काङग्रेसको संस्थापक हुनुभएको हो ।
बनारस हिन्दू विश्वविद्यालय (BHU) का नेपाली विद्यार्थीहरूको नेपाली छात्र संघ, २००४ सालमा काठमाडौँको ‘नेपाल प्रजा पञ्चायत’ तथा ‘जयतु संस्कृतम’ आन्दोलन, भारतमा कार्यरत गोर्खा लीग तथा ‘अखिल बर्मा नेपाली एशोसिएसन’, कलकत्ताको ‘यङ्ग गोर्खा एशोसिएसन’ आदि विभिन्न संघ–संस्था नेपाली काङग्रेसको स्थापनासँगै समाहित भए ।
काङग्रेसबाट चोइटिएर गएको मातृकाप्रसाद कोइरालाको “राष्ट्रिय प्रजा प्रार्टी” २०१३ बैशाखमा काङग्रेसमै विलय भयो ।
२०५९ मा शेरबहादुर देउबाको सभापतित्वमा नेपाली काँग्रेस फुटेर बनेको ‘नेपाली काँग्रेस (प्रजातान्त्रिक)’ २०६४ असोजमा फेरि नेपाली काँग्रेसमै विलय भएको हो ।
२०१७ सालमा तत्कालीन संसदको मूख्य विपक्षी दल गोरखा परिषद सिङ्गै र त्यसका नेताहरू भरत शम्शेर, बेनीबहादुर कार्की आदि काङग्रेसमा निःशर्त विलय भए । २०१७ साल माघमा भएको पार्टीको आकस्मिक राष्ट्रिय सम्मेलनकै समयमा प्रजा परिषदका सभापति भद्रकाली मिश्र, संयुक्त प्रजातन्त्र पार्टीका महामन्त्री काशीप्रसाद श्रीवास्तब र तराई काँग्रेसका महामन्त्री रामजनम तिवारी (‘तिवारी बाबा’) ले पनि आफ्ना पार्टीहरू नेपाली काँग्रेसमा बिलय गराए ।
२०४६ सालपछि काँग्रेसकै छुटभैया मातृकाबाबु, कीर्तिनिधि विष्ट, श्रीभद्र शर्मा, रविचरण श्रेष्ठद्वारा स्थापित राष्ट्रिय प्रजा पार्टी पनि झन्डैसहित काँग्रेसमा विलय भयो ।
२०६४ माघ १८ गते काँग्रेसबाट अलग भएर धेरै घाटको पानी पिएर आखिर आफ्नै पार्टी ‘नेपाल लोकतान्त्रिक फोरम’ गठन गरेका विजयकुमार गच्छदार, जितेन्द्रनारायण देव, रामजनम चौधरीले पार्टीलाई २०७४ असोज ३० गते काँग्रेसमा विलय गराए ।
सुनिल थापा तथा उनीसँग नेपाली काँग्रेस प्रवेश गरेका अन्य सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना !
(चन्द्रमणी गौतम)