काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार जिल्ला र जनवर्गीय सङ्गठनको एकता घोषणा गर्ने भएको छ । आइतबार काठमाडौँमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ले नेकपाले सोमबार काठमाडौँमा आयोजना गर्ने विशेष कार्यक्रममा एकताको घोषणा हुने बताएका हुन् ।
दाहालले पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्दैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै उनले पार्टी एकता प्रक्रिया टुङ्गोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए। साथै उनले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने धारणा पनि राखेका छन् । उनले एकताको तीन महिनाभित्रै गर्ने भनिए तापनि केही ढिलाइ भएको स्वीकार गर्दै अब एकतापछि पार्टी नयाँ अभियानमा लाग्ने बताए । दाहालले पार्टी एकतालाई जनताले अनुमोदन गरेकै कारण अहिले मुलुकमा कम्युनिस्ट नेतृत्वको दुई तिहाइ सरकार गठन भएको जिकिर गरेका छन् । एक वर्षमा सरकार र पार्टी एकताका विषयमा समीक्षा गर्ने प्रक्रियामा पार्टी रहेको उनको भनाई छ ।
कार्यक्रममा नेकपाबाट प्रदेश ३ मा क्रियाशील ७० वर्षभन्दा माथिका पुरुष र ६० वर्षभन्दा माथिका महिला ज्येष्ठ कम्युनिस्ट नेताहरूलाई सम्मान गरिएको थियो । जसमा प्रदेश तीनमा एक जिल्लाबाट दुई–दुई जनालाई छनौट गरिएको थियो ।