श्रीलङ्काले गत आइतवार ३०० भन्दा बढ़ीको मृत्यु हुने गरी भएको आतङ्ककारी आक्रमणमा ‘नेशनल तौहीद जमात’ नामको स्थानीय मुश्लिम सङ्गठनको हात रहेको बताएको छ ।
त्यहाँ कुल जनसङ्ख्याको १०% मुश्लिम धर्म मान्नेहरू छन् । श्रीलङ्कामा १२% बढ़ी हिन्दुहरू पनि छन् । झन्डै ८% क्रिश्चियन जनसङ्ख्या छ ।
श्रीलङ्का संविधानत: बौद्ध देश हो । ७०% भन्दा बढ़ीले बौद्ध धर्म मान्दछन् । ईशापूर्व तीन सय शताब्दीअघि भारतका मौर्य सम्राट् अशोकले भारतीय उपमहाद्वीपभर बौद्ध धर्म प्रचारका निम्ति टोली पठाएका थिए । उनका छोरा महेन्द्र मौर्यले तत्कालीन श्रीलङ्काका हिन्दु राजा देवप्रिय (देवानाम् प्रिय)लाई बौद्ध धर्मको अनुयायी बनाएदेखि श्रीलङ्कामा अविच्छिन्न बौद्ध धर्म र संस्कृतिको विकास हुँदै आएको छ । प्राचीन कालदेखि नै त्यहाँको राजधानी अनुराधापुर बौद्ध शिक्षाको अध्ययन-अध्यापन केन्द्र रहँदै आएको छ । भारतमा मध्यकालमा मुश्लिम आक्रमणपछि प्रायः धेरै बौद्ध विहार र विश्वविद्यालय नष्ट भए पनि श्रीलङ्कामा भने त्यो जोगिएको छ ।
धार्मिक कट्टरताको दृष्टिले छिमेकी बङ्गलादेशपछि श्रीलङ्का दोस्रोमा पर्दछ । बढ्दो क्रिश्चियन धर्मान्तरणप्रति बौद्ध भिक्षुहरू क्रुद्ध छन् भने मुश्लिम-बौद्ध झड़पहरू पनि त्यहाँ घटिरहने घटनाहरू हुन् । बहुसङ्ख्यक हिन्दू रहेका तामिल जातिहरूले अलग्गै राज्यको माग राखेर बर्सौं हिंसात्मक आन्दोलन गरेका थिए । तर दुई अल्पसङ्ख़्यकबीच यति ठूलो द्वन्द्व भने देखिएको थिएन । मुश्लिम र क्रिश्चियन दुबै अल्पसङ्ख्यक हुन् ।
मूलतः क्रिश्चियन संस्था र अनुयायीलाई लक्षित गरिएको यो आक्रमणलाई हालसालै न्यूजील्याण्डमा मुश्लिमहरूको पर्वकै दिन दर्जनौंको ज्यान जाने गरी मस्जिदमा भएको आक्रमणसँग गाँसेर समेत हेरिएको छ । दुबै घटना पर्वका दिन भएका छन् र प्रार्थनाका निम्ति जाने निर्दोषहरूले ज्यान गुमाएका छन् ।
र, पनि सरकारको दाबीमाथि धेरैले प्रश्न उठाएका छन् । आक्रमणको पूर्वसूचना समेत सुरक्षा निकायलाई भएको प्रधानमन्त्री स्वयंले बताएका थिए । त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीबीच गहिरो राजनैतिक द्वन्द्व छ र सुरक्षा निकायहरू राष्ट्रपतिप्रति बढ़ी लोयल छन् । स्थानीय मुश्लिम सङ्गठनले आत्मघाती जथ्थामार्फ़त यो घटना घटाएको भन्ने सरकारी ‘भर्सन’लाई धेरैले पत्याएका छैनन् । आक्रमणको प्रकृति, स्तर र क्षति हेरेर पनि यो सबै स्थानीय संस्थाले आफ्नै बलबुतामा गरेको हो भन्ने पत्याउन गाह्रो छ ।
सरकारले दाबी गरे पनि यो घटनाको जिम्मा भने कसैले लिएको छैन । आशा गरौँ, दोषीहरू जो भए पनि समातियून् र यस्तो निर्मम आतङ्ककारी घटना फेरि नदोहोरियोस।