मेरो जागरण मेरो जीवन भाग – २० (परशुराम)

जागरणपोस्ट २७ बैशाख २०७६, शुक्रबार ०८:५३

निमावि पढ्दा खेलकुदमा बाहेक अन्य क्रियाकलापमा म तेज विद्यार्थी मै पर्थें। त्यसैले शिक्षक र साथीभाइको प्रिय पात्र नै थिएँ । स्कुल नगर क्षेत्र मै भए पनि गाउँले परिवेश थियो। बजार र गाउँको बीचमा भएकोले विद्यार्थी दुबै परिवेशका थिए। बजारिया हरूले हामी गाउँलेलाई अलि हेय कै दृष्टिकोण बाट हेर्थे। तर म क्लासमा जान्ने भएकोले आलो पालोमा क्लास लिडरको जिम्मा पनि पाउँथे । अरु क्लास लिडर भन्दा म धेरै नरम र सहज थिएँ त्यसैले पनि मलाई धेरैले मन पराउँथे। त्यस्मा पनि बजारिया साथी मध्ये मिल्ने साथीमा परशुराम थियो। नाम परशुराम भए पनि उ मेरालागि घनश्याम नै थियो। मजाजनको छोरा भएकोले पैसा कहिल्यै टुट्दैन्थ्यो उसंग। पढाइ पनि राम्रो थियो। जहिले पनि दशौं स्थान भित्रै पर्थ्यो। हिसाबमा त मभन्दा तेज नै। त्यति भैकन पनि ऊ अलिक उग्र स्वभावका थियो। झैझगडा होस् या जोखिमको काम, उ अंघाढि सरिहाल्थ्यो। त्यस्ता कार्यमा हामीलाई पनि उक्साउने। अग्ला पर्खालबाट फडाल्ने,चरा च्याखुरा समाउने, गुच्चा, खोपी, तास खेल्न उक्साउने आदि गर्थ्यो र लगानी पनि उसैले गर्थ्यो। त्यस्को बदलामा गाउँमा पाइने सिजन अनुसारका फलफूल आदि हामिले दिनुपर्थ्यो। त्यो बेला पोखरामा एउट सिनेमा हल मात्र थियो (कल्पना सिनेमा हल) फिल्म फेरिएको सूचना पनि ताजै सुनाउँथ्यो। कहिले कुन फिल्म लाग्यो, उसकै मुखबाट थाहा लाग्थ्यो र प्राय: शुक्रबार फिल्म पनि उसकै लगानीमा हेरिन्थ्यो । हेरेका फिल्मको रेकर्ड मैले राख्थें। त्यो क्रम चल्दै जाँदा डेढ दुई सय जति फिल्म पुगुन्जेल मैले रेकर्ड राखें तर पछि पछि भने छोडियो ।

हाम्रो कट्टु प्राय पछाडि फाट्थ्यो, परशुराम उर्फ घनश्यामको भने अगाडि पट्टी फाट्थ्यो। कारण थियो, उसका अघाढिपट्टीका खल्तीले कहिल्यै आराम पाउँदैन्थे,खुजुरा ढ्याक पैसा,एउटा खोपी खेल्दा चप्काउने ठूलो ढ्याक र गुच्छाले गर्दाखेरि। सधैं अगाडि पट्टी पुक्क पार्नै पर्ने हामीलाई बाहिर बाट छाम्न लाउँथ्यो, हामीले अनुमान लगाऊनुपर्थ्यो कि उसंग गुच्छा र पैसा कति छ भनेर। सर हरूले बेलामौकामा छापा मारेर खोस्ने पनि गर्नुहुन्थ्यो, तर भोलिपल्ट जिमकातिम बनाईहाल्थ्यो। यो क्रम दोहरिरहन्थ्यो। पछि भने सरहरुबाट निगरानी धेरै नै बढ्नथाल्यो र प्राय उसंग भएका गुच्छाहरु खोसुवामा पर्न थाले। अब भने प्रार्थना अगाडि नै पैसा र गुच्चा लुकाउनुपर्ने भयो। त्यति गर्दापनि उसको दैनिक खल्ती छाम्न भने बिर्सिंनुहुन्थेन सरहरुले। सायद उसका अभिभावकले पनि निगरानी राख्न सरहरूलाई आग्रह गरेको हुनुपर्दर्छ। (पसल बाट आँखा छल्यो कि त खुजुरा पैसा चोट्याइ हाल्ने भएकोले) सरहरूले जातिबित्ती गर्न थाले पछि उसलाई रीस उठेछ। एक दिन प्रार्थना हुने दिन दुबै खल्ती पुक्क पारेरै प्रार्थनामा उभियो उ। मैले देखि हालें र सुझाई हालें- सामान लुकाउन भनें, उनले छोड्दे देखा जाएगा भन्ने संकेत गर्‍यो। त्यो दिन लाइनमा चेक गर्दै मीरा म्याडम् आउनु भयो। खल्ती पुक्क देखेर सोझै परशुराम तिर सोझिनु भयो। त्यो देखेर मेरो कान तातो भैसकेको थियो, तर उ निर्धक्क उभिई रहेको थियो। म्याडमले खल्ती नछामी लामो काठको रुलरले एक सुईठन लगाईहाल्नुभयो र गुच्चा ढ्याक झिक् भनेर निर्देशन दिनु भयो। उसले भने केहि छैन भनेर ठाडो जवाफ दियो । फेरि अर्को सुइँठन हानेर झाप्पै खल्तीमा हात हाल्नु भयो।

खल्तीमा हात के हाल्नु भएको थियो म्याडम एक्कासी चिच्याउनु भयो र हात फट्कार्दै दौडिनु भयो । उ मुसुमुसु हाँसिरहेको थियो । म्याडम चिच्याएको र उहाँको क्रियाकलाप देखेर एक्कासी खैलाबैला भयो । सरले अगाडि बाट शान्त रहन निर्देशन दिनु भयो र आफैं परशुराम भएको ठाउँमा आउनु भयो उहाँ पनि मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । केही गडबडी छ भन्ने सोच्नु भयो होला । मुसुमुसु हाँस्दै के गडबड गरिस् हँ भनेर सोध्नु भयो। सरदेखि अलि डराएजस्तो गरि “क्यै गरेको छैन सर !” भन्यो। यसपाली चैं सरले पिटपाट क्यै गर्नु भएन। जे राखेको भए नि झिक भन्नुभयो। उस्ले सावधानीपूर्वक दुईटै खल्तीबाट दुई ओटा मसला पोको पार्ने सोली जस्तो झिक्यो। सर,म्याडमलाई हेर्दै मरिमरि हाँस्न थाल्नुभयो। म्याडम् निलीकाली देखिइन्, म्याडम बाहेक सबै हाँस्न थाले। सरले परशुरामको कान निमोठे जस्तो मात्रै गरेर, यो साच्चैको परशुराम हो यस्लाई जिस्क्याउन हुन्न भनेर म्याड्मलाई व्यङ्ग्य गरे जस्तो गर्नु भयो र ती दुई सोली अगाडि ल्याएर सबैलाई देखाउनु भयो, अरु सर हरू झन् जोडले हाँस्न थाल्नु भयो। परशुराम मुसुमुसु मुस्काई रहेकै थियो। उस्ले यस्ता उट्पट्याङ्ग पैल्यै पनि कयौंपटक गरिसकेको थियो। कहिले गंगटा, कहिले ठूलाखालका भट्टेकिरा, कहिले सर्पका बच्चा उसले खल्तीमा राख्नेगर्दथ्यो।
त्यो दिन भने नयाँ आइडिया लगाएछ। सोलीमा चाल्ने सिस्नोको पात मजाले मिलाएर सावधानी पूर्वक खल्तीमा राखेछ मुख भने खुल्लै रहेछ।
म्याडमको हात झ्याप्पै चाल्ने सिस्नोमा पर्‍यो। म्याडमले सोच्नु भएछ कुनै विषालु जीव राखेको रहेछ, टोक्यो कि भन्ने सम्झेर पोलेको भन्दा पनि त्रासले गर्दा चिच्याउनु भएको रहेछ। त्यो दिन मुस्किलले राष्ट्रिय गान गाइयो तर परेड खेल्ने समय भने टरेर गयो।

यो पनि पढ्नुहोस मेरो जागरण मेरो जीवन भाग – १९ ( सैनी आमा )

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८