जनकपुरधाम – पछिल्ला केही दिनयता बलात्कारीलाई फाँसीको माग जोडतोडले उठ्न थालेको छ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई फाँसी दिनुपर्ने ट्विट गरेपछि महिला सांसदहरुले जोडतोडले बलात्कारीलाई फासीको माग गरिरहेका छन्।
आज जनकपुरमा पनि बलात्कारीलाई फाँसीको माग गर्दै महिला अधिकारकर्मी र युवा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। युथ एलान्यस अगेन्ट रेप (यार) नामक संस्थाको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी सजाय दिनुपर्ने माग गरेका हुन्।
जनकचोकबाट निकालेको प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर बलात्कारीलाई फाँसी देऊ, पोल पोलमा सरकार टोल टोलमा बलात्कार, बलात्कारीलाई संरक्षण गर्न पाइँदैनजस्ता नारा प्रदर्शनमा उत्रेका महिला अधिकारकर्मी र युवा अभियन्ताहरुले लगाएका छन्।
पछिल्लो समय बलात्कारका घटना टोलटोलमा भइरहे पनि बलात्कारीहरु राजनीतिक दबाब र प्रशासनको संरक्षणमै उन्मुक्ति पाइरहेकाले प्रदर्शन गरिएको महिला अधिकारकर्मी गुञ्जा रायले बताइन्।
सरकार उदासिन हुँदा बलात्कार बढेको आरोप रायले लगाइन्। उनले बलात्कारीलाई फाँसी नदिएसम्म बलात्कार घटना नरोकिने बताइन्।
रायले भनिन्, ‘धनुषाधामकी एक बालिकालाई विगत ३ वर्षदेखि यौन शोषण गर्नेमाथि पनि प्रहरीले मुद्दा दर्ता गर्न चाहेको छैन।अपराधीहरु पीडितलाई धम्काउँछन्, तर प्रहरीले चासो देखाएका छैन।’
रायले प्रशासनले नै बलात्कारीलाई संरक्षण गर्न थालेपछि आश्चर्य लागेको बताइन्। उनले पीडितको उजुरी लिएर पनि दर्ता नगरेको र उजुरी दिएको भनेर अपराधी धम्काउँदा पीडित असुरक्षित बनेको गुनासो गरिन्।
युवा अभियन्ता शैलेन्द्र चोरबार यादवले बलात्कार घटना रोक्न तीन सरकारमध्ये कसैको प्राथमिकतामा नपरेको गुनासो गरे। उनले भने, ‘चुनावका बेला नेताहरुले गाउँगाउँमा सिंहदरबारको नारा दियो। तर सिंहदरबार त आएन। कम्युनिष्टको सरकारमा बलात्कारी टोल टोलमा उत्पादन भयो।’