घटस्थापना, शैलपुत्रीको स्वरूप र चण्डीपाठको विधि

जागरणपोस्ट १ कार्तिक २०७७, शनिबार ०६:३३ विशेष
सेयर गर्नुहोस्

डा. मतिप्रसाद ढकाल

उठान

प्रत्येक वर्ष चैत्र र असोजमा दुर्गा भगवतीको विशेष आराधना र उपासना गरिन्छ । यी दुवै महिना जाडो र गर्मीका सन्धिस्थल महिना मानिन्छन् । जाडो सकिएर गर्मी लाग्दा र गर्मी सकिएर जाडो लाग्दा मानव स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर शक्ति सञ्चयका लागि शक्तिकी आराध्यदेवी दुर्गा भगवतीको आराधना र उपासना गर्ने गरिएको हो । यी दुवैमध्येमा पनि असोज शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नवरात्रको विशेष महत्त्व रहेको छ । प्रतिपदादेखि महानवमीसम्मका नौ दिनसम्म प्रत्येक दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री नवदुर्गा देवीको आराधना र उपासना गरिने भएकाले यस अवधिलाई नवरात्र भनिएको हो । नवरात्रको पहिलो दिन घटस्थापनापूर्वक नवदुर्गामध्येकी पहिली शैलपुत्री देवीको पूजाअर्चना गरिन्छ ।

घटस्थापना कसरी गर्ने ?

आश्विन शुक्ल प्रतिपदाका दिन नवदुर्गाको प्रतिष्ठाका लागि घडा वा कलश स्थापना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो । यस दिन बिहान आफ्नो नित्य स्नान, सन्ध्या र नित्य पूजा कर्म सकेपछि नैमित्तिक कर्मका रूपमा नवदुर्गाको पूजा गर्न अग्रसर हुनुपर्छ । नवरात्रका अन्य दिनभन्दा पहिलो दिन विशेष सङ्कल्प लिइन्छ । देश, काल, गोत्र, नाम आदि उच्चारण गर्दै मेरो वा हाम्रो जन्ममा दुर्गा भवानीको प्रसन्नताद्वारा सबै प्रकारको शान्ति, दीर्घायु, प्रशस्त धन, छोराछोरी, नातिनातिनी आदिको निरन्तर वृद्धि, लक्ष्मीको स्थिरता, शत्रुको पराजय, आफ्नो कीर्ति र पुरुषार्थ चतुष्टय सिद्धिका लागि आज प्रतिपदादेखि महानवमीसम्म प्रत्येक दिन त्रिकाल वा द्विकाल वा एककाल दुर्गाको पूजा, उपवाससहित रात्रि भोजन वा द्विकाल भोजन गरी नियमपूर्वक अखण्ड दीप प्रज्वलन गरेर प्रत्येक दिन एक आवृत्ति दुर्गासप्तशती (चण्डी) पाठ गरी अन्तमा आफ्नो कुलपरम्पराअनुसार बलि, दान, होम आदि शारदनवरात्र महोत्सव गर्नेछु भन्ने सङ्कल्प लिनुपर्छ । साथै त्यसको पूर्वाङ्गका रूपमा दीप, कलश र गणेशको पूजा तथा नवरात्रको प्रतिपदामा विधान गरिएको घटस्थापना कर्म पनि गर्नेछु भनेर सङ्कल्पमा नै जोड्नुपर्छ ।

प्रतिज्ञासङ्कल्प लिइसकेपछि ब्राह्मणद्वारा वा सम्भव नभए आपैmले दियो र गणेशको पूजा गरेर कलशको पूजा गर्नुपर्छ । कलशको पूजा गर्दा मन्त्र पढ्दै क्रमशः कलश राख्ने भुइँ छुने, जमराका लागि भुइँमा बालुवा राखेर जौ छर्ने, त्यसमाथि सिँगारेर तामा वा माटाको कलश राख्ने, कलशमा गङ्गाजीको जल, चन्दन, सर्वौषधी वा बेसार, दूबो, आँप, पिपल आदिका पात, तुलसीको मठ आदिको माटो, फल, सिक्का पैसा र कपडा चढाउनुपर्छ । कलशमा वरुण देवताको आवाहन, अभिमन्त्रण र प्रार्थना गरिन्छ । त्यसपछि कलशको स्कन्ध (काँध) प्रदेशमा गणेशदेखि वनस्पतिसम्मका देवताको आवाहन गरेर पूजा गर्नुपर्छ।

कलशको विधिपूर्वक पूजा गरिसकेपछि कलशमाथि काँस वा तामाको थाली राखी त्यसमाथि नवदुर्गाको प्रतिमा र प्रतिमा सम्भव नभए सुपारी राखेर त्यसमा नवरात्रको पहिलो दिनकी शैलपुत्री देवीको प्राणप्रतिष्ठा गरिन्छ । हे भगवती दुर्गा ! तपाईं यहाँ आउनुहोस्, बस्नुहोस्, स्थिर र प्रसन्न भएर प्रतिष्ठित हुनुहोस् भनेर आवाहन गर्नुपर्छ । त्यसपछि यथाशक्ति र यथाज्ञान नवदुर्गाको पूजा गरी अन्तमा आफ्नो कुलपरम्पराअनुसार कुभिन्डोको बलि दिइन्छ भने प्रत्येक दिन दुई वर्षदेखि दश वर्षसम्मका कुमारीहरूको पूजा गरी उनीहरूलाई मीठो मीठो भोजन गराएर यथासम्भव दक्षिणा र वस्त्र आदि उपहार दिइन्छ ।

जमरा कहिले र केको राख्ने ?

जहाँ घटस्थापना गरिन्छ त्यसकै भुइँमा गमला, टपरी वा केराको पात बिछ्याएर त्यसमाथि बालुवा राखी त्यसमा जौ छरिन्छ । यवाङ्कुर शब्दबाट जमरा शब्दको उत्पत्ति भएको मानिएकाले जमरा जौको मात्र राख्नुपर्ने हो तर पहाडका कतिपय ठाउँमा जौको अभाव भएका कारण हाम्रा पुर्खाहरूले कहीँ मकै मात्रको, कहीँ गहुँ र मकैको त कहीँ जौ, गहुँ र मकै मिसाएर शुद्ध माटामाथि जमरा राख्ने चलन चलाएको पाइन्छ । मकैलाई मर्कटान्न अर्थात् बाँदरको अन्न मानिने भएकाले सम्भव भएसम्म मकैको जमरा नराख्नु राम्रो हो । जमरा राख्नुभन्दा अघिल्लो दिन जमराका लागि गेडागुडीहरू भिजाएर राख्ने प्रचलन रहेकाले घटस्थापनाको अघिल्लो दिनको औँसीलाई जमरे औँसी भन्ने गरिएको हो । बागलुङ, पर्वत आदि जिल्लातिर जमरे औँसीका दिन जमराका लागि गेडागुडी भिजाएर राख्ने र नवरात्रको दोस्रो दिन द्वितीयाका जून हेरेर मात्र जमरा राख्ने प्रचलन रहेको छ । वास्तवमा यस किसिमको प्रचलन शास्त्रीय नभएर आञ्चलिक व्यवहार हो । यद्यपि राम्रोसँग भिजेका गेडागुडीलाई द्वितीयाका दिनमै जमरा राख्ता सहज रूपमा उम्रिन्छन् तथापि घटस्थापनाका दिनमै जमरा राख्नु शास्त्रीय दृष्टिले युत्तिसङ्गत देखिन्छ ।

शैलपुत्री कस्ती देवी हुन् ?

“प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी” भनेर दुर्गासप्तशती पुस्तकको देवीकवच (श्लोक ३) मा उल्लेख भएअनुसार शैलपुत्री देवी नौवटी दुर्गा देवीमध्येकी पहिली देवी हुन् । ‘प्रचुराः शिलाः सन्ति अत्र’ अर्थात् अत्यन्त धेरै शिला वा ढुङ्गाहरू छन् जहाँ भन्ने व्युत्पत्तिअनुसार शिला शब्ददेखि अण् प्रत्यय भएर शैल शब्द बन्दछ । शिलाहरूले युक्त भएको ठाउँ नै शैल, पर्वत वा पहाड हो । पहाड वा शैलकी पुत्री नै शैलपुत्री हुन् जसलाई शैलजा र पार्वती पनि भनिन्छ । दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल र निधारमा अर्धचन्द्र धारण गरेकी अनि नन्दी अर्थात् साँढेमा चढेकी देवीलाई शैलपुत्री भनेर चिनिन्छ । शैलपुत्री नाम रहनु, अर्धचन्द्र धारण गर्नु र साँढेलाई वाहन बनाउनुले शैलपुत्री देवीलाई भगवान् शङ्करकै अर्धाङ्गिनी पार्वती हुन् भनेर चिन्न हामीलाई गाह्रो पर्दैन । पर्वतराज हिमालयको तपस्या र आराधनाबाट प्रसन्न भएर कृपापूर्वक उनकी पुत्रीका रूपमा शैलपुत्री प्रकट भएकी हुन् भन्ने कुरा पुराणहरूमा उल्लेख भएको पाइन्छ । नवरात्रको पहिलो दिन यिनै शैलपुत्री देवीको पूजा र आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य र मोक्षसमेत प्राप्त हुने विश्वास गरिन्छ । शैलपुत्री देवीको शिला वा पत्थरसँग सम्बन्ध रहेको छ । पत्थर, माटो आदि सम्पूर्ण जड पदार्थ नै शैलपुत्रीको स्वरूप भएका कारण शैलपुत्रीको पूजाअर्चना गर्नाले संसारका सम्पूर्ण जडपदार्थमा परमात्माको अस्तित्व छ भन्ने कुराको शिक्षा पनि हामीले प्राप्त गर्न सक्छौँ ।

नवदुर्गालाई कुन कुन फुूल चढाउने ?

हामीले विभिन्न देवीदेवताको पूजाअर्चना गर्दा कुन कुन पूmल कुन कुन देवीदेवतालाई चढाउन हुन्छ र कुन कुन पूmल चढाउन हुँदैन भन्ने बारेमा विशेष ख्याल गरेका हुँदैनौँ । देवीलाई विशेष गरेर रातो पूmल बढ्ता मनपर्छ भने सुगन्धित सेतो पूmल पनि देवीलाई उत्तिकै प्रिय मानिन्छ । बेली, चमेली, चम्पा, अशोक, बेलपत्र, कमल आदि पूmल पनि देवी भगवतीलाई चढाउन सकिन्छ । कुनै कुनै शास्त्रमा दूबो, मालती र तुलसी देवीलाई चढाउन निषेध गरिएको छ भने कुनैमा चढाउन सकिने व्यवस्था गरिएको छ । त्यसैले देवीलाई दूबो चढाउन भक्तजनहरू कहिल्यै अग्रसर भएको देखिँदैन । अन्य पूmलहरू प्राप्त नभएमा निषिद्ध मानिए पनि मालती र तुलसीसमेत देवीलाई चढाउन सकिन्छ ।

चण्डीपाठ कसरी गर्ने ?

नवरात्रमा घटस्थापनादेखि महानवमीसम्म सप्तशतीपाठ गरिन्छ । सप्तशती भन्नाले ७०० श्लोकमा समेटिएको मुख्यतः चण्डीका तेह्र अध्यायलाई जनाउँछ तर सप्तशतीपाठ वा चण्डीपाठ गर्दा तेह्र अध्यायको मात्र पाठ गरेर पुग्दैन । चण्डीपाठ गर्दा सुरुका देवीकवच, अर्गलास्तोत्र र कीलकस्तोत्र पढ्नैपर्छ भने अन्तमा रहेका प्राधानिकरहस्य, वैकृतिकरहस्य र मूर्तिरहस्य पनि पाठ गर्न छुटाउनु हुँदैन । कुनै शस्त्रअस्त्रद्वारा आपूmलाई सुरक्षित हुन कवच धारण गरेजस्तै सबै प्रकारको रक्षा गर्न समर्थ भएकाले महाकालीको स्वरूप देवीकवच पाठ गरिन्छ । हामीले घरमा रहेको धनसम्पत्तिको सुरक्षा गर्न ढोकाको भित्री भागमा आग्लो लगाउने गर्दछौँ । त्यसैगरी चण्डीपाठको सुरक्षाका लागि महालक्ष्मीको स्वरूप अर्गलास्तोत्र पाठ गरिनु आवश्यक छ । हामीले घर बनाउँदा स्थिरताको प्रतीक खम्बा (पिलर) वा गाईवस्तुलाई बाँध्न कीलो गाड्ने गर्दछौँ । त्यसरी नै चण्डीपाठको स्थिरता वा एकाग्रताका लागि महासरस्वतीको स्वरूप कीलकस्तोत्र पाठ गर्ने गरिएको हो । चण्डीपाठ गर्दा देवीको जुन विधिद्वारा जुन स्वरूपको आराधना गर्नुपर्छ त्यसको मुख्य रहस्य बुझ्नका लागि महालक्ष्मीको स्वरूप प्राधानिक रहस्यको पाठ गरिन्छ । देवीका विभिन्न स्वरूपको रहस्य बुझ्न तथा चण्डीपाठ कसरी गर्ने ? भन्ने रहस्य बुझ्नका लागि वैकृतिक रहस्यको पाठ गर्ने गरिएको हो । चण्डीपाठमा रहेका तीन चरित्रमध्ये कुनै एउटामात्र चरित्रको पाठ गर्नुप¥यो भने मध्यम चरित्र (२—४ अध्याय) पाठ गर्न सकिन्छ तर प्रथम चरित्र (१ अध्याय) वा उत्तर चरित्र (५–१३ अध्याय) मध्ये कुनै एकको मात्र पाठ गर्नु हुँदैन । त्यस्तै आधा चरित्रको मात्र पाठ गर्दा पनि त्यसको फल प्राप्त हुँदैन । देवीका विभिन्न मूर्तिहरूको रहस्य बुझ्नका लागि मूर्तिरहस्यको पाठ गरिन्छ ।

सप्तशतीको पहिलो अध्याय प्रारम्भ गर्नुभन्दा पहिला र तेह्रौं अध्यायको समाप्तिपछि पनि न्यास र १०८ पटक जप गर्न भुल्नु हुँदैन । देवीकवच प्रारम्भ हुनुभन्दा अगाडि सप्तश्लोकी दुर्गा, दुर्गाष्टोत्तरशतनामस्तोत्र र शापविमोचनमन्त्रको पाठ गरिन्छ भने कीलकस्तोत्रपछि वेदोक्त तथा तन्त्रोक्त रात्रिसूक्तहरू र देव्यथर्वशीर्षस्तोत्र पनि पाठ गरिन्छ । त्यसैगरी उत्तराद्र्धमा न्यास र जपपछि ऋग्वेदोक्त तथा तन्त्रोक्त देवीसूक्तहरूको पाठ गर्ने परम्परा छ भने मूर्तिरहस्यपछि दुर्गामानसपूजा, देव्यपराधक्षमापनस्तोत्र र अन्तमा अनिवार्य रूपमा सिद्धिकुञ्जिकास्तोत्र पाठ गर्नु आवश्यक छ । यसरी कुनै थप मन्त्रविना आद्योपान्त रूपमा गरिने पाठलाई साधारण चण्डीपाठ भनिन्छ भने चण्डीका तेह्र अध्यायभित्रका प्रत्येक श्लोकसङ्ख्याको अघि र पछि पनि कुनै विशेष श्लोक वा मन्त्र दुई दुई पटक दोहो¥याएर आद्योपान्त चण्डीपाठ गर्ने विधिलाई ‘सम्पुटपाठ’ भनिन्छ । परन्तु गाउँघरका कतिपय पुरोहितहरूले त्यसरी दुई दुई पटक दोहो¥याएर पढ्नुपर्ने मन्त्रलाई एक एक पटकमात्र पढेर ‘पुटितपाठ’ गर्ने दुष्प्रचलन पनि चलाएको पाइन्छ । त्यसबारे सम्बद्ध यजमानहरू र जानेबुझेका पुरोहितहरूले यथासमयमै त्यस्ता अबुझ पुरोहितहरूको आँखा खोलिदिनु आवश्यक छ ।

बैठान

प्रत्येक वर्ष नवरात्र आउँछ र जान्छ तर हामी भने नवरात्रको शास्त्रीय मर्यादा र महत्त्वबाट क्रमशः परिचित हुँदै जान सकेका छैनौँ । नवरात्र शक्तिसञ्चयको महापर्व भएका कारण नवरात्रको अवधिभर महाकाली, महालक्ष्मी र महासरस्वती तीनै शक्तिको आराधना र उपासना गरिन्छ । हिंसाको न्यूनीकरणका लागि कुभिन्डो आदिको बलि दिइन्छ भने शक्तिकै प्रतीक ठानेर नवरात्रको पहिलो दिन दुई वर्षकी कन्याको पूजाअर्चना गरिन्छ । चेतन पदार्थ मात्र होइन जड पदार्थमा पनि ईश्वरको अस्तित्व स्वीकार्न पहिलो दिन शैलपुत्री देवीको आराधना र उपासना गर्ने गरिएको हो । यसरी विधिपूर्वक घटस्थापना गरी घटका मुनि जौका जमरा र घटमाथि शैलपुत्रीको पूजा गर्दै विधिपूर्वक यथाशक्य चण्डीपाठ गरेर नवरात्रको पहिलो दिनलाई शक्तिसञ्चयको प्रस्थान विन्दु ठान्ने गरिन्छ ।

(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।)

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२