नवरात्रको दोस्रो दिन – ब्रह्मचारिणीको स्वरूप र चण्डीपाठको पूर्वाङ्ग

डा. मतिप्रसाद ढकाल २ कार्तिक २०७७, आईतवार ०७:१५ विशेष

नवरात्रको दोस्रो दिन – ब्रह्मचारिणीको स्वरूप र चण्डीपाठको पूर्वाङ्ग

डा. मतिप्रसाद ढकाल  /

उठान :शारदीय नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना तथा उपासना गरिन्छ । घटस्थापनाको दोस्रो दिनमा पनि आफ्नो नित्यकर्म सकेर सङ्कल्पपूर्वक दीप, गणेश र कलशको पूजा गरिसकेपछि ब्रह्मचारिणी देवीको पूजा गरिन्छ भने अन्तमा दुर्गासप्तशतीपाठ तथा आआफ्नो कुलपरम्पराअनुसार बलिदान र कुमारी पूजासमेत गरिन्छ । दोस्रो दिन कुमारी पूजा गर्दा तीन वर्षकी कन्याको आवश्यकता पर्दछ । धेरैजसोले घटस्थापना गरिएको कलशमाथि काँस वा तामाका थालीमा पहिलो दिन शैलपुत्रीको पूजा गरेकै ठाउँमा दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गर्दछन् भने कतिपयले प्रत्येक दिन सोही थालीमा दाहिने क्रमले नयाँ सुपारी राखेर ब्रह्मचारिणीको पूजा गर्दछन् । नवदुर्गा भनेर भिन्न भिन स्वरूपको चर्चा गरिए पनि दुर्गा देवी वास्तवमा एउटै हुन् भन्ने ठानेर प्रत्येक दिन एउटै सुपारीमा नवदुर्गाको पूजा गर्ने गरिएको हो भने नवरात्रका अवधिमा प्रत्येक दिन भिन्न भिन्न देवीको स्वरूप हुने मानेर एउटै थालीमा अघिल्ला दिन पूजा गरिएका देवीहरूको सामान्य पूजा गरी नयाँ सुपारी राखेर नयाँ देवीको विशेष पूजा गर्नु पनि युक्तिसङ्गत नै देखिन्छ । नवरात्रमा नवदुर्गाको पूजाअर्चनाको जत्तिको महत्त्व छ दुर्गासप्तशतीपाठको पनि त्यत्तिकै महत्त्व रहेकाले पाठको विषयवस्तुका बारेमा समेत क्रमशः सामान्य जानकारी प्राप्त गर्दै जानु आवश्यक छ ।

नेपालका देवी र शक्ति पीठहरु
नेपालका देवी र शक्ति पीठहरु

ब्रह्मचारिणी देवीको स्वरूप

“ब्रह्म वेदोपनिषद्, ब्रह्मतत्त्वं वा तदध्ययनार्थं व्रतमपि ब्रह्म, तच्चरितं शीलमस्याः” अर्थात् ब्रह्म भन्नाले वेद, उपनिषद् र ब्रह्मतत्त्वलाई बुझिन्छ, त्यस किसिमको अध्ययनसम्बन्धी व्रत पनि ब्रह्म नै हो र त्यही व्रत पालन गर्ने शील वा स्वभाव छ जुन स्त्रीको भन्ने व्युत्पत्तिका आधारमा ब्रह्म शब्दपूर्वक चर् धातुदेखि णिनि प्रत्यय भई स्त्रीत्व विवक्षामा ङीप् प्रत्ययको संयोजनबाट ब्रह्मचारिणी शब्दको निर्माण हुन्छ । ब्रह्मचारिणी शब्दले नवदुर्गामध्येकी दोस्री दुर्गा वा नवरात्रको दोस्रो दिन विशेष पूजाअर्चना गरिने देवीलाई बुझाउँछ भने ब्रह्मचर्य व्रतको पालन गरी ब्रह्मतत्त्वको अध्ययन गर्ने जुनसुकै स्त्रीलाई पनि ब्रह्मचारिणी भनिन्छ । यस दृष्टिले तपस्याको आचरण गर्ने देवत्व र मनुष्य दुवै कोटिका व्यक्तित्वलाई ब्रह्मचारिणी शब्दले द्योतन गर्दछ । शैलपुत्रीका रूपमा प्रकट भएकी नवदुर्गाले महादेव पति पाऊँ भनी हजारौँ वर्षसम्म कठोर तपस्याको आचरण गरेका कारण उनलाई ब्रह्मचारिणी भनिएको हो भने ब्रह्मस्वरूपको प्राप्ति गराउने स्वभाव भएका कारण पनि उनलाई ब्रह्मचारिणी भनेर पुकारिएको हो ।

“दधाना करपद्माभ्यामक्षमालाकमण्डलु ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।”

अर्थात् दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु लिएकी ब्रह्मचारिणी नामक देवी ममा प्रसन्न होऊन् भन्ने कामना गरिएकाले ब्रह्मचारिणी देवीको शारीरिक स्वरूप बुझ्न हामीलाई केही सहज हुन्छ । नवरात्रको दोस्रो दिन कतिपय साधकले आपूmभित्रको कुण्डलिनी शक्ति जागृत गर्न पनि ब्रह्मचारिणी देवीको आराधना गर्ने गर्छन् । बह्मचारिणी देवीको उपासना गर्नाले तपस्या, त्याग, वैराग्य र इन्द्रियसंयम गर्ने शक्ति आर्जन हुन्छ भन्ने विश्वास गरिन्छ ।

ब्रह्मचारिणी देवीको पूजा गर्दा “त्रिपुरां त्रिगुणाधारां ज्ञानमार्गस्वरूपिणीम्, त्रैलोक्यवन्दितां देवीं त्रिमूर्तिं पूजयाम्यहम्” भन्ने लौकिक मन्त्र उच्चारण गरिन्छ । ब्रह्मचारिणीको पूजा गर्नाले ज्ञानमार्गमा प्रवृत्त हुनेहरूलाई विशेष सफलता प्राप्त हुन्छ । साक्षात् कुमारी वा कन्याको पूजा गर्दा “मन्त्राक्षरमयीं लक्ष्मीं मातृणां रूपधारिणीम्, नवदुर्गात्मिकां साक्षात् कन्यामावाहयाम्यहम्” भनेर कन्याको आवाहन गरी देवीको पूजा गरेजस्तै तरिकाले कन्याको पूजा गरिन्छ ।

चण्डीपाठ गर्दा अपनाउनुपर्ने सावधानी

जुनसुकै पाठ गर्दा पनि मीठो स्वर, अक्षरहरूको स्पष्ट उच्चारण, पद वा शब्दहरूको विभाग, धैर्य र सामूहिक रूपमा पाठ गर्दा एउटै लयमा पाठ गर्नु उत्तम मानिन्छ भने पाठ गर्दा गीत गाएजस्तै गर्नु, उच्चारण गर्दा हतार गर्नु, टाउको हल्लाउँदै पढ्नु, अर्थको जानकारी नै नभईकन पढ्नु र अलि अलि कण्ठ भएकै भरमा पुस्तक नहेरीकन पाठ गर्ने प्रयास गर्नुलाई राम्रो मानिँदैन । जबसम्म पाठ गर्दै गरेको अध्याय पूरा हुँदैन तबसम्म बीचमा पाठ बन्द गर्न वा कुराकानी गर्न हुँदैन । यदि भूलवश पाठ गर्दागर्दै बीचैमा पाठ रोकियो वा कुराकानी गरियो भने पढ्दै गरेको अध्यायको पुनः पूरै पाठ गर्नुपर्छ तर आजकल धेरैजसो पण्डित–पुरोहितहरूले पाठ गर्दागर्दै बीचमा कुराकानी गरे पनि पुनः पूरै अध्याय दोहो¥याएर पाठ गरेको देखिँदैन । यसबारेमा यजमान स्वयंले विशेष निगरानी राख्नुपर्छ । पुस्तक हातमा लिएर पढ्दा पाठ गरेको आधा मात्र फल पाइन्छ । तसर्थ पुस्तक राखेर नै पढ्नुपर्छ । चण्डीपाठ गर्दा मनमनै होइन उच्च स्वरमा पाठ गर्नुपर्छ तर धेरै जोरजोरले उच्चारण गर्न भने राम्रो मानिँदैन । एक हजार श्लोक वा मन्त्र भएको पुस्तक कण्ठस्थ भए पनि पुस्तक हेरेर नै पाठ गर्नुपर्छ तर त्यसभन्दा कम श्लोक वा मन्त्र भएको पुस्तक भने कण्ठस्थ भएमा नहेरीकन पनि पाठ गर्न सकिन्छ । चण्डीपाठ गर्दा स्तोत्र वा अध्यायको अन्तमा आउने इति, वध, अध्याय र समाप्त शब्दहरूको उच्चारण गर्नु हुँदैन । चण्डीपाठ गर्ने व्यक्तिले पाठ गर्नुभन्दा पूर्व नै यस किसिमका सावधानीहरूबारे जानकारी हासिल गर्नुपर्छ ।

चण्डीपाठको पूर्वाङ्ग

दुर्गासप्तशतीपाठ वा चण्डीपाठ गर्दा चण्डीका १३ अध्याय मात्र पाठ गरेर हुँदैन । त्यसका लागि पूर्वाङ्ग र उत्तराङ्गका रूपमा रहेका विविध स्तोत्रको पाठ र न्यास, जप आदि विधिहरू पनि अवलम्बन गर्नु आवश्यक हुन्छ । पूर्वाङ्गअन्तर्गत सप्तश्लोकी दुर्गा, दुर्गाष्टोत्तरशतनामस्तोत्र, शापविमोचनमन्त्र, देवीकवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त र तन्त्रोक्त दुवै रात्रिसूक्त, देव्यथर्वशीर्ष, नवार्णविधि (न्यास), तान्त्रिक मन्त्र १०८ पटक जप र सप्तशतीन्यास पर्दछन् ।
सप्तश्लोकी दुर्गापाठमा सात श्लोक छन् । शिवले पार्वतीसँग कलियुगमा सबै कार्यको सिद्धिका लागि उपाय बताउन आग्रह गरिएका सन्दर्भमा दुर्गाको प्रीतिका लागि सप्तश्लोकी दुर्गापाठ गर्ने गरिएको हो । शिवजीले पार्वतीसँग भगवती दुर्गा प्रसन्न हुने सतीदेखि ब्रह्मवादिनीसम्मका १०८ नामको चर्चा गर्ने सन्दर्भमा दुर्गाष्टोत्तरशतनामस्तोत्रको रचना भएको हो । देवीको ध्यान र पूजा गर्नुपूर्व कुमारीको पूजा गर्ने प्रसङ्ग पनि यही स्तोत्रमा आएको छ । सङ्कल्प गरिएको वा आँटेताकेको आफ्नो काम सिद्ध हुन सकोस् भन्ने कामनाले शापविमोचनमन्त्रको पाठ गरिन्छ । मान्छेलाई सबै प्रकारले सुरक्षित राख्न सक्ने साधन बताउनका लागि मार्कण्डेयले अनुरोध गरेपछि ब्रह्माजीले जुन साधनको उपदेश गरेका थिए त्यसैलाई चण्डीमा देवीकवचका नामले चिनिन्छ । सुरक्षाकवचका रूपमा यस स्तोत्रलाई पाठ गर्ने व्यक्तिले यसलोकमा र परलोकमा समेत सुख प्राप्त गर्न सक्नेछ भन्ने विश्वास राखिएको छ ।
अर्गलास्तोत्रमा मार्कण्डेय ऋषिले देवीसँग गरेको प्रार्थना समावेश गरिएको छ । जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा देवीसँग विभिन्न मागहरू राखिएको छ । यसको पाठ गर्नाले चण्डीपाठ गरेसरहको फल मिल्नाका साथै प्रशस्त धन पनि प्राप्त हुने विश्वास गरिएको छ । मार्कण्डेय ऋषिले नै देवीसँग गरेको अर्को प्रार्थना कीलक नामले प्रसिद्ध छ । सानो स्वरले कीलकको पाठ गर्दा थोरै फल प्राप्त हुन्छ भने उच्च स्वरले पाठ गर्दा पूर्णफल प्राप्त हुन्छ भन्ने अपेक्षा राखिएको छ । वेदोक्त रात्रिसूक्तमा जसरी धन दिएर आफ्ना भक्तजनलाई ऋणमुक्त गराउनुहुन्छ त्यसरी नै ज्ञान दिएर अन्धकाररूपी अज्ञानलाई हटाउनुहोस् भनेर देवीसँग विशेष अनुरोध गरिएको छ । तन्त्रोक्त रात्रिसूक्तमा चण्डीको प्रथम अध्याय (श्लोक ७२–८२) का १५ श्लोकहरू समेटिएका छन् र यिनमा सुरथ राजाको जिज्ञासा शान्त गर्ने क्रममा मार्कण्डेय ऋषिले ब्रह्माद्वारा भगवती निद्रादेवीको जुन स्तुति गरिएको थियो त्यही स्तुतिको चर्चा गरेका छन् । देव्यथर्वशीर्षमा देवताहरूले देवीसँग आफ्नो स्वरूप बताइदिन अनुरोध गरेपछि देवीले आफ्नो विस्तृत परिचय दिएकी र परिचय पाइसकेपछि देवताहरूले देवीको विभिन्न प्रकारले स्तुति गरेको कुरा उल्लेख गर्दै अन्तमा देव्यथर्वशीर्षलाई अविद्यानाशिनी ब्रह्मविद्या ठानिएको छ ।

चण्डीमा पूर्वाङ्गपाठका रूपमा रहेका सप्तश्लोकी दुर्गादेखि देव्यथर्वशीर्षको पाठ गरिसकेपछि महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रसन्नताका लागि विनियोग गरी ऋष्यादिन्यास, करन्यास, हृदयादिन्यास, अक्षरन्यास र दिशाको न्यास गर्नुपर्छ । त्यसपछि देवीको ध्यान र मालाको प्रार्थना गरी “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” तान्त्रिक मन्त्र १०८ पटक जपिन्छ । देवीलाई जप निवेदन गरेपछि महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रीतिका लागि विनियोग गरी करन्यास र हृदयादिन्यास गरेर देवीको प्रार्थना गरिसकेपछि पूर्वाङ्गपाठको क्रम पूरा हुन्छ । चण्डीको पहिलो अध्याय सुरु गर्नुभन्दा पहिला गरिने चण्डीपाठकै अङ्ग पूरा नगरीकन गरिएको चण्डीपाठ पूर्ण नहुने भएकाले पाठको फल पनि पूरा प्राप्त गर्न सकिँदैन ।

बैठान

नवदुर्गा भगवती शक्तिकी प्रतीक मानिन्छिन् । शक्तिसँग सम्बद्ध सम्प्रदायलाई शाक्त सम्प्रदाय भनिन्छ । शाक्त सम्प्रदाय विशेष गरी मन्त्रमा भन्दा तन्त्रमा बढ्ता आश्रित छ । त्यसैले नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने क्रममा मन्त्रभन्दा तान्त्रिक श्लोकहरूकै बढ्ता उपयोग गरिन्छ । नेपालमा तन्त्र विषयमा हालसम्म अध्ययन र अनुसन्धानहरू भइरहेका छन् तर तन्त्रविषयक अध्ययन र अनुसन्धानको अवस्था भने सन्तोषजनक छैन । ब्रह्मचारिणी देवीको पृथक् पूजाअर्चना गर्नाले निश्चय नै अध्येता, साधक र तपस्वीहरूको ज्ञानको मार्ग फराकिलो हुन सक्नेछ । तसर्थ नवदुर्गामध्येकी दोस्री देवीका रूपमा ब्रह्मचारिणीको पूजाअर्चनासँगै चण्डीपाठ गर्दा अपनाउनुपर्ने सावधानीलाई मनन गर्दै चण्डीपाठको पूर्वाङ्ग स्तोत्र र न्यासका बारेमा गम्भीर चिन्तन–मनन गरिरहनु आवश्यक छ ।

(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०