नवदुर्गाको आज तेस्रो दिन – चन्द्रघण्टाको स्वरूप र चण्डीको प्रथम चरित्र

जागरणपोस्ट ३ कार्तिक २०७७, सोमबार ०७:२३ विशेष

डा. मतिप्रसाद ढकाल

उठान

देवीका नौ मूर्ति वा स्वरूपहरूमध्ये तेस्रो स्वरूपको नाम चन्द्रघण्टा हो । नवरात्रको तेस्रो दिन नवदुर्गामध्येकी तेस्री यिनै चन्द्रघण्टा देवीको विशेष आराधना र उपासना गरिन्छ । नवरात्रको पहिलो र दोस्रो दिनमा जस्तै तेस्रो दिनमा पनि नित्यकर्मबाट निवृत्त भएर कर्ताले चन्द्रघण्टा देवीको विशेष पूजाका लागि सङ्कल्प लिनुपर्छ । त्यसक्रममा दीप, गणेश र कलशको पूजनपूर्वक नवरात्रको तृतीय दिनमा चन्द्रघण्टा नामक नवदुर्गाको विशेष पूजाका साथै यथाशक्य चण्डीपाठ गरी आफ्नो कुलपरम्परानुसार बलिदान र कुमारीको पूजा पनि गर्नेछु भनेर सङ्कल्पमा जोड्नुपर्छ । हे चन्द्रघण्टा ! यहाँ आउनुहोस् र बस्नुहोस् भनी आवाहन गरेर चन्द्रघण्टा देवीको स्थापना गर्नुपर्छ र पाद्य आदि षोडशोपचारले चन्द्रघण्टाको पूजा गर्नुपर्छ । पूजा गर्दा “कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम्, कल्याणजननीं नित्यं कल्याणीं पूजयाम्यहम्” भन्ने श्लोक उच्चारण गरिन्छ भने पूmल आदि पूजासामग्री चढाउँदा निर्धारित मन्त्र पढेर चढाइसकेपछि ‘पुष्पं समर्पयामि चन्द्रघण्टायै नमः’ इत्यादि भन्नुपर्छ । शारद नवरात्रको तेस्रो दिन कुमारी पूजा गर्दा चार वर्षकी कन्याको आवश्यकता हुन्छ । तेस्रो दिन पूजा गरिने कुमारीको नाम कल्याणी रहेको छ । कल्याणी कन्याको पूजा गर्दा “कलात्मिकां कलातीतां कारुण्यहृदयां शिवाम्, कल्याणजननीं देवीं कल्याणीं पूजयाम्यहम्” भन्ने श्लोक उच्चारण गरिन्छ । उपर्युक्त दुवै श्लोकमा चन्द्रघण्टा देवीको पूजा गर्दा कल्याणीको र साक्षात् देवीस्वरूप कन्याको पूजा गर्दा पनि कल्याणीकै पूजा गर्छु भन्ने उल्लेख भएका कारण चन्द्रघण्टा र कन्या दुवैको पूजा तथा सम्मान समान किसिमले गर्नुपर्दो रहेछ भन्ने कुराको बोध हुन्छ ।

चन्द्रघण्टा देवीको स्वरूप

निधारमा घण्टका आकारको चन्द्रमा भएका कारण चन्द्रघण्टा नाम रहेको ठानिन्छ । उनको शरीर सुनजस्तै चम्किलो छ । त्यसैले उनलाई प्रसन्न पार्न चाहने भक्तजनले सुनजस्तै पहेँलो रङका कपडा लगाउनु उचित मानिन्छ । उनका दशओटा हातहरू छन् र ती हातहरू गदा, बाण, धनुष, त्रिशूल, खड्ग, चक्रजस्ता विभिन्न अस्त्रशस्त्रले सुसज्जित छन् । उनी सिंहमाथि चढेकी छन् । यसप्रकार उनको स्वरूप युद्धका लागि तम्तयार भएका व्यक्तिकै जस्तो देखिन्छ । वीरता र निर्भयतासँगै सौम्यता र विनम्रताका लागि पनि चन्द्रघण्टाको आराधना गरिन्छ । चन्द्रघण्टालाई आयुर्वेदका दृष्टिले औषधीय तत्त्वका रूपमा पनि विश्लेषण गरिएको पाइन्छ । तदनुसार हामीले उपयोगमा ल्याउने चम्सुर सागविशेष नै चन्द्रघण्टा हो र त्यसले मोटोपनको समस्या निराकरण गर्न सघाउँछ ।

चन्द्रमा हाम्रो मनको प्रतीक हो । हाम्रो मनमा निकै उतारचढाबहरू आइरहन्छन् । सकारात्मकभन्दा नकारात्मक भावनाहरूले गर्दा हाम्रो मन अशान्त भइरहन्छ । चन्द्रमा सदैव घटबढ भएजस्तै हाम्रो मन पनि घटबढ भइरहन्छ । हाम्रो विचारमा हाम्रै मन प्रतिबिम्बित हुन्छ । त्यसैले चन्द्रमाजस्तै हाम्रो मन वा विचार पनि निरन्तर परिवर्तनशील हुनुपर्छ । घण्ट सचेतता र एकाग्रताको प्रतीक हो । हामीले मन्दिरमा घण्ट बजाउँदा त्यसले देवतासमक्ष भक्तजन आएको सूचना दिन्छ भने भक्तजनलाई पनि सतर्क भएर देवताको दर्शन गर्न प्रेरित गर्छ । जसरी घण्ट जति बजाए पनि त्यसले एकै किसिमको आवाज निकाल्छ त्यसरी नै हाम्रो मनमा अनेकौँ किसिमका दुःखकष्टहरूले बाजा बजाइरहे पनि हामीले धैर्यपूर्वक एकै किसिमको व्यवहार अपनाउँदै एकै किसिमको कुराकानी गर्न सक्नुपर्छ भन्ने प्रतीकात्मक अर्थको शिक्षा पनि हामीले चन्द्रघण्टा देवीको पूजा गर्दा प्राप्त गर्न सक्छौँ ।

चण्डीलाई दुर्गासप्तशती भन्नुको रहस्य

चण्डी र गीता दुवैमा ७०० श्लोकहरू रहेका छन् । ५७ उवाच, ४२ अद्र्धश्लोक, ५३५ श्लोक र त्रिपाद् मन्त्र वा श्लोकलाई टुक्रा टुक्रा पारी पढिएका ६६ ‘नमस्तस्यै’लाई समावेश गरेर चण्डीमा ७०० श्लोक सङ्ख्या मानिएको छ भने गीतामा विशुद्ध श्लोकको सङ्ख्या मात्र ७०० रहेको छ । दुर्गा भगवतीको उपासना गर्ने ७०० श्लोक सङ्ख्या रहेका कारण चण्डीलाई ‘दुर्गा–सप्तशती’ भनिएको हो । सप्तशतीमा तेह्र अध्यायहरू छन् र तिनमा क्रमशः १०४, ६९, ४४, ४२, १२९, २४, २७, ६३, ४१, ३२, ५५, ४१ र २९ श्लोकहरू रहेका छन् । गणनागत श्लोक सङ्ख्याका दृष्टिले पाँचौँ अध्याय लामो देखिए पनि पूर्ण श्लोक सङ्ख्याका दृष्टिले पहिलो अध्याय लामो देखिन्छ भने छैटौँ अध्याय सबैभन्दा छोटो रहेको छ । कथावस्तुको स्रोतका दृष्टिले सप्तशती मार्कण्डेय पुराणको सावर्णिक मन्वन्तरअन्तर्गतको देवीमाहात्म्यबाट साभार गरिएको हो ।

चण्डीलाई तीन चरित्रमा विभाजन

चरित्रका दृष्टिले चण्डीलाई प्रथम, मध्यम र उत्तर गरी तीन प्रकारमा विभाजन गरिएको छ । पहिलो अध्याय प्रथम चरित्रमा केन्द्रित छ र यसमा ब्रह्मा ऋषि, महाकाली देवता, गायत्री छन्द, नन्दा शक्ति, रक्तदन्तिका बीज, अग्नि तत्त्व र ऋग्वेद स्वरूप श्रीमहाकालीको आराधना गरिएको छ । दोस्रो, तेस्रो र चौथो अध्यायहरू मध्यम चरित्रसँग सम्बन्धित छन् र यिनमा विष्णु ऋषि, महालक्ष्मी देवता, उष्णिक् छन्द, शाकम्भरी शक्ति, दुर्गा बीज, वायु तत्त्व र यजुर्वेद स्वरूप श्रीमहालक्ष्मीको आराधना गरिएको छ । पाँचौँदेखि तेह्रौँसम्मका नौ अध्यायहरू उत्तर चरित्रसँग सम्बन्धित छन् र यिनमा रुद्र ऋषि, महासरस्वती देवता, अनुष्टुप् छन्द, भीमा शक्ति, भ्रामरी बीज, सूर्य तत्त्व र सामवेद स्वरूप श्रीमहासरस्वतीको आराधना गरिएको छ । प्रथम र मध्यम शब्दका साहचर्यमा उत्तम शब्दको प्रयोग नगरी उत्तर शब्दको प्रयोग गर्नुले अघिल्ला दुवै चरित्रलाई पूर्व चरित्र र अन्तिम चरित्रलाई उत्तर चरित्र पनि ठान्न सकिने सम्भावना देखिन्छ ।

चण्डीको प्रथम चरित्र

चण्डीको प्रथम चरित्रमा पहिलो अध्याय मात्र समेटिएको छ । यो अध्याय मार्कण्डेयको भनाइबाट प्रारम्भ भएको छ । मार्कण्डेयका अनुसार आठौँ मनु मानिने सावर्णि सूर्यका पुत्र हुन् र उनको उत्पत्तिको चर्चा यहाँ गरिएको छ । स्वारोचिष मन्वन्तरमा चैत्रवंशी सुरथ नामका राजा थिए । आफ्ना प्रजालाई औरस सन्तानकै रूपमा पालनपोषण गर्दागर्दै पनि राज्यमा कोलाविध्वंसिनी नामक उनका एउटा शत्रु देखापरे । तिनै शत्रुद्वारा युद्धमा परास्त भएका राजा सुरथ सिकार खेल्न वनमा जाने क्रममा मेधा मुनिको आश्रममा पुगे । त्यहाँ नै राजा सुरथको समाधि नामक वैश्यसँग भेट भयो । वैश्य पनि आफ्नै परिवारद्वारा तिरस्कृत भएर वनमा आउनुपरेको थियो । घरबाट आपूmलाई तिरस्कारपूर्वक निकाला गर्ने परिवारजनप्रति पनि वैश्यले घृणा होइन अत्यन्त प्रेम गरिरहेको कुरा व्यक्त गर्छ । राजाले पनि आपूmमा राजसी मोह छुट्न नसकेको बताउँछन् । दुवैजनाले आपूmलाई मेधा ऋषिको सेवामा संलग्न गराउँछन् । ऋषि र मुनिमा पार्थक्य रहे पनि यी दुवै शब्द पर्यायवाचीकै रूपमा प्रयोग हुनसक्छन् भन्ने कुरा यस अध्यायले पुष्टि गरेको छ । मार्कण्डेयको कथनमा मेधालाई मुनि ठानिए पनि राजा र वैश्यलाई ज्ञानोपदेश गर्ने सन्दर्भमा तिनै मेधा मुनिलाई ‘ऋषिरुवाच’ का माध्यमले ऋषिका रूपमा उल्लेख गरिएको छ । तिनै ऋषिले राजा र वैश्यका सामु महामाया देवीको उत्पत्तिको वर्णन गरेका छन् ।

शेषशायी विष्णुको कानेगुजीबाट मधु र कैटभ नामका दुई असुरहरू उत्पन्न (सम्भाव्यता अन्वेषणीय) भए तर ती दुवै सृष्टिकर्ता ब्रह्माको वध गर्न तत्पर भए । शेषशायी विष्णुलाई जगाउन ब्रह्माले योगनिद्रा स्तवन गरे । विष्णु निद्राबाट जागेर दुवै दैत्यका साथ पाँच हजार वर्षसम्म बाहुयुद्ध गरे । उनीहरू अत्यन्त बलशाली भएकाले तिनलाई महामायाका माध्यमबाट मोहजालमा फँसाएर विष्णुले ‘मेरै हातबाट मर’ भन्ने वरदान माग्न बाध्य बनाए । त्यसपछि विष्णुले ती दुवै दैत्यको वध गरे भन्ने विषयवस्तुको वर्णन चण्डीको प्रथम चरित्रमा वा पहिलो अध्यायमा भएको पाइन्छ ।

बैठान

सनातन धर्ममा मुख्यतः गणेश, देवी, विष्णु, सूर्य र शिव गरी पाँच देवीलाई पाञ्चायन देवताका रूपमा बढ्ता उपासना गर्ने गरिन्छ । त्यसमा पनि ‘कलौ चण्डीविनायकौ’ अर्थात् कलियुगमा चण्डी र गणेश बढ्ता उपास्य मानिन्छन् । गणेशको पूजा नगरीकन त कुनै कर्म नै गुरु हुँदैन । त्यस्तै जुनसुकै कर्म गर्दा शक्तिको बढी आवश्यकता हुने भएकाले शक्तिकी प्रतीक चण्डी वा दुर्गादेवीको आराधना र उपासनाको विशेष महत्त्व रहेको हो । नवदुर्गाका नौ स्वरूप भए पनि तिनलाई मुख्यतः महाकाली, महालक्ष्मी र महासरस्वतीकै प्रतीक मान्न सकिन्छ । त्यसैले चण्डीका तीन चरित्रमा तिनै तीन देवीले प्रतिनिधित्व गरेका हुन् । महाकाली देवता रहेको प्रथम चरित्रमा सृष्टिकर्ता ब्रह्माजीलाई नै मार्न उद्यत भएका मधु र कैटभ दुवै राक्षसलाई मार्नका लागि महाकालीले महामायाका रूपमा प्रकट भएर विष्णुलाई संहार गर्न प्रेरित गरेकी हुन् । प्रथम चरित्रको आदिमा ध्यान गर्ने सन्दर्भमा उल्लेख गरिएको “खड्गं चक्रगदेषु…” श्लोकमा वर्णन गरिएअनुसारको महाकालीको स्वरूपसमेत चन्द्रघण्टा देवीमा भेट्न सकिन्छ।

लेखकद्वारा थप – नवरात्रको दोस्रो दिन – ब्रह्मचारिणीको स्वरूप र चण्डीपाठको पूर्वाङ्ग

(लेखक ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन्)

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०