घटस्थापनाको आज चौंथो दिन – कूष्माण्डाको स्वरूप र चण्डीको मध्यम चरित्र

जागरणपोस्ट ४ कार्तिक २०७७, मंगलवार ०५:३१ FLASH NEWS

डा. मतिप्रसाद ढकाल

नवरात्रको चौथो दिन कूष्माण्डा देवीको विशेष आराधना र उपासना गरिन्छ । कूष्माण्डा देवीको आराधना गर्दा भक्तको मन अनाहत चक्रमा अवस्थित हुन्छ । अघिल्ला दिनहरूमा जस्तै यसदिन पनि नित्यकर्मबाट निवृत्त भएर दीप, गणेश र कलशको पूजा गरी शारदीय नवरात्रको चतुर्थ दिनमा कूष्माण्डा देवीको पूजा र यथाशक्य चण्डीपाठ गर्नेछु भनेर सङ्कल्प लिनुपर्छ । हे कूष्माण्डा देवी ! यहाँ आउनुहोस्, यहाँ बस्नुहोस्, सुप्रसन्न हुनुहोस् र हामीलाई वरदान दिन अग्रसर हुनुहोस् भनेर देवीलाई पुकारिसकेपछि आसन, पाद्य आदि षोडशोपचारले देवीको पूजा गर्नुपर्छ । देवीको पूजा गर्ने क्रममा “अणिमादिगुणोदारां मकाराकारचक्षुसम्, अनन्तशक्तिभेदां तां कामाक्षीं पूजयाम्यहम्” भन्ने मन्त्रको उच्चारण गरिन्छ । प्रत्येक पूजासामग्री देवीलाई अर्पण गरिसकेपछि ‘… समर्पयामि कूष्माण्डायै नमः’ भन्नुपर्छ । यदि आफ्नो कुलपरम्पराअनुसार कुमारी पूजा गर्ने प्रचलन छ भने देवीको पूजा गरेपछि लगत्तै देवीको पूजा गरेकै विधिले पाँच वर्षकी कन्याको पूजा गर्नुपर्छ । नवरात्रको चौथो दिन पूजा गरिने कन्यालाई ‘रोहिणी’ नामले सम्बोधन गरिन्छ । कन्याको पूजा गर्दा “अणिमादिगणाधारामकाराद्यक्षरात्मिकाम्, अनन्तशक्तिकां लक्ष्मीं रोहिणीं पूजयाम्यहम्” भन्ने मन्त्रको उच्चारण गर्नुपर्छ । देवीको र कुमारीको पूजा गरिसकेपछि यथासम्भव चण्डीपाठ गरी अन्तमा सधैँभैmँ आरती र पुष्पाञ्जलि पनि लिइन्छ ।

कूष्माण्डा देवीको स्वरूप

“कुत्सित उष्मा कूष्मा– त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डा” अर्थात् तीन प्रकारको तापले युक्त भएको संसार नै जसको उदर वा पेटमा छ त्यस्ती देवीलाई कूष्माण्डा भनिएको हो । ‘कु’ र ‘उष्मा’ दुवै शब्दका बीचमा सवर्णदीर्घसन्धि भएकाले ‘कूष्माण्डा’ शब्दको निर्माण हुन पुगेको हो तर धेरैजसो लेखकले प्रमादवश ‘कुष्माण्डा’ अनुपयुक्त शब्दको उल्लेख गर्ने गरेका छन् । ‘कु’ अर्थात् अलि अलि र ‘उष्मा’ अर्थात् तातालाई ‘कूष्मा’ भनिन्छ । “कूष्मा अण्डेषु बीजेषु यस्य” अर्थात् अलि अलि उष्मत्व बीजमा पाइन्छ जसको भन्ने अर्थमा ‘कूष्माण्ड’ शब्दको निर्माण हुन्छ । त्यसले नेपालीमा कुभिन्डो भन्ने अर्थ दिन्छ र कहीँ कहीँ त्यही कुभिन्डालाई फुस्रे पनि भन्ने गरिन्छ । आयुर्वेदका दृष्टिले कुभिन्डो रक्तशोधक र मानसिक रोगका लागि अमृतसमान मानिन्छ । अत्यधिक गर्मी भयो भने शीतलता प्राप्तिका लागि गाउँघरमा कुभिन्डो खाने प्रचलन छ । कुभिन्डालाई बताउने त्यही कूष्माण्ड शब्ददेखि स्त्रीत्व विवक्षामा टाप् (आ) प्रत्यय भएर कूष्माण्डा शब्दको निर्माण भएको हो । कूष्माण्डा शब्दका आधारमा कुभिण्डामा भैmँ थोरै थोरै उष्म तत्त्व अन्तर्निहित भएकी देवी नै कूष्माण्डा हुन् । नारी र पुरुषमा गर्भाधान गर्न सक्ने जुन शक्ति छ त्यो शक्ति कूष्माण्डा भगवतीकै शक्ति मानिन्छ । त्यति मात्र होइन प्राणीभित्र विद्यमान प्राणशक्तिको आधार पनि कूष्माण्डा देवीबाट नै प्राप्त भएको ठानिन्छ ।

तापत्रयलाई जसले आफ्नै शरीरभित्र समाहित गरेर आफ्ना भक्तजनलाई तापरहित बनाएर सुख दिन्छिन् तिनै देवीलाई कूष्माण्डा भनेर चिन्नुपर्छ । कूष्माण्डा देवीका आठ हात भएकाले यिनलाई अष्टभुजा देवी भनेर पुकारिन्छ । उनका ती आठ हातमा कमण्डलु, धनुष, बाण, कमल, कलश, चक्र, गदा र जपमाला रहेका छन् । उनी सिंहमाथि बसेकी हुन्छिन् भने उनलाई आफ्नै नामअनुसार कुभिण्डोको बलि बढ्ता प्रिय मानिन्छ । कूष्माण्डा देवीमा उष्म तत्त्व विद्यमान भएकाले उनको निवास सूर्यमण्डलको भित्री लोकमा छ भन्ने मान्यता रहेको छ । “आरोग्यं भास्करादिच्छेत्” अर्थात् सूर्यबाट स्वस्थताको चाहना राख्नुपर्छ भन्ने मान्यता रहेका सन्दर्भमा सूर्यमण्डलको भित्री लोकमा निवास गर्ने कूष्माण्डा देवीको उपासना गर्ने भक्तजनलाई आरोग्य र दीर्घायुका साथै यश र बल पनि प्राप्त हुने विश्वास गरिन्छ ।

चण्डीको मध्यम चरित्र

चण्डीका १३ अध्यायहरूमध्ये दोस्रोदेखि चौथो अध्यायसम्मका तीन अध्यायलाई मध्यम चरित्र मानिएको छ । यजुर्वेदको स्वरूप ठानिएको मध्यम चरित्र महालक्ष्मीलाई सन्तुष्ट दिलाउनका लागि पाठ गरिन्छ । परापूर्व कालमा देवताहरू र दैत्यहरूका बीचमा वर्षौंसम्म युद्ध भएको थियो । युद्धमा दैत्यहरूले देवराज इन्द्रलाई परास्त गरेपछि दैत्यराज महिषासुर इन्द्रको आसनमा बसेको थियो । त्यसपछि सबै देवता शङ्कर र विष्णुका समीपमा गएर महिषासुरको वध गर्ने उपायका बारेमा अनुरोध गर्छन् । प्रथमतः विष्णुका मुखबाट महान् तेज प्रकट भयो । त्यसपछि सबै देवताहरूको शरीरबाट अतुलनीय तेज प्रकट हुन पुग्यो । सबैको त्यही तेजबाट नारीका रूपमा चण्डिकाको उत्पन्न भयो । तिनलाई सबै देवताहरूले भिन्न भिन्न शक्ति र अस्त्रहरू प्रदान गरेर सर्वशक्तिमान् बनाए । दैत्यहरूसँगको युद्धमा देवीले मात्र होइन उनको वाहन सिंहले पनि आफ्नो पराक्रम देखायो । त्यस युद्धमा ती देवीले दैत्यका सेनाहरूको क्षणभरमै विनाश गरिन् । उनले दैत्यहरूमाथि विजय हासिल गरेको देखेर आकाशबाट देवताहरूले पुष्पवृष्टि गरे भन्नेसम्मको कथावस्तुलाई चण्डीको दोस्रो अध्यायले समेटेको छ ।

महिषासुरका सेनाहरूको मृत्यु भएपछि सेनापति चिक्षुरका साथै चामर, उदग्र, उग्रास्य, उग्रवीर्य, महाहनु, बिडाल, दुर्धर र दुर्मुखका साथमा देवीको युद्ध भयो । ती सबै दैत्य सेनाहरू मारिएपछि महिषासुर भैंसीको रूप धारण गरेर देवीका साथमा लड्न युद्धमा होमियो । उसले बारम्बार भैंसी, सिंह र पुरुषको भेष बदल्दै सिङले खोतलेर पर्वतहरू फ्याँक्न थाल्यो । त्यसै सन्दर्भमा चण्डिकाले ए मूर्ख ! म जबसम्म मधुपान गरिरहन्छु तबसम्म तँ क्षणभरका लागि भए पनि खुब गर्जिराख । मेरा हातद्वारा यहीँ तेरो मृत्यु भएपछि छिटै नै देवताहरूले पनि गर्जना गर्नेछन् भन्ने कुरा देवीले यसरी व्यक्त गरिन्:

गर्ज गर्ज क्षणं मूढ मधु यावत् पिबाम्यहम् ।
मया त्वयि हतेत्रैव गर्जिष्यन्त्याशु देवताः ।।
(दुर्गासप्तशती ३।३८)

युद्धका क्रममा देवीले अन्तमा महिषासुरको वध गरिन् । त्यसपछि महिषासुर दैत्यका सेनाहरू रणमैदानबाट भागेर गए भने देवताहरूले दुर्गादेवीको स्तवन गर्दै नृत्यसमेत गरेको कुरा चण्डीको तेस्रो अध्यायमा वर्णन गरिएको छ ।

युद्धमा महिषासुर र उसका सेनाहरूको मृत्यु भएपछि सबै देवताले दुर्गादेवीको स्तुति र पूजा गर्छन् । फलस्वरूप दुर्गादेवी प्रसन्न भएर देवताहरूको चाहनाअनुरूप उनीहरूलाई ‘जब जब देवीको स्मरण गर्छौं, तब तब हजुरले हामीलाई दर्शन दिएर हाम्रा महान् सङ्कटहरूलाई दूर गरिदिनुहोस्’ भन्ने इच्छित वर दिएर देवी अन्तर्धान हुन्छिन् । शुम्भादि दैत्यहरूलाई नष्ट गर्न गौरीदेवीको शरीरबाट प्रकट हुने देवीका बारेमा यसपछि वर्णन गरिने कुराको सङ्केत पनि चण्डीको चौथो अध्यायमा व्यक्त भएको छ ।

चण्डी वा दुर्गाका नौ स्वरूपहरू मानिए पनि तिनहरू मूलतः एउटै शक्ति मानिन्छन् किनभने परमेश्वरले एउटै मातृशक्तिको सृष्टि गरेका थिए । त्यही शक्ति व्यवहारमा आवश्यकतानुसार मुख्यतः भवानी, विष्णु, दुर्गा र काली गरी चार प्रकारमा प्रकट भएको पाइन्छ । सम्पूर्ण जगत्का प्राणीहरूको सृष्टि गर्ने र भोग गर्ने सन्दर्भमा त्यही शक्ति भवानीका रूपमा प्रकट भएको हुन्छ भने सम्पूर्ण प्राणीहरूको सुरक्षा र तिनलाई स्नेह गर्ने सन्दर्भमा त्यही शक्तिले विष्णुको स्वरूप लिएको हुन्छ । त्यसैगरी युद्धका बेलामा त्यही शक्ति चण्डी वा दुर्गा बनेर प्रकट हुन पुग्छ भने क्रुद्ध हुँदा वा रिसाउँदा त्यही शक्ति कालीका रूपमा प्रकट भएको हुन्छ । त्यसैले कूष्माण्डा नवदुर्गामध्येकी चौथो शक्ति वा स्वरूप मानिए पनि युद्धका सन्दर्भमा उनको स्वरूप चण्डी वा दुर्गाकै रूपमा प्रकट भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०