कम्यूनिष्ट : जुट्न कहिल्ल्यै नजान्ने, फुट्न आईतवार नै नचाहिने

जागरणपोस्ट १६ कार्तिक २०७७, आईतवार २०:४७

बिजय ज्ञवाली

जुट्न कहिल्यै नजान्ने, फुट्न भने आइतबार नै नचाहिने भन्ने कथन नेपालका वामपन्थी दलहरूमाथि निरन्तर प्रयोग भैरहन्थ्यो। २२ अप्रिल १९४९ तदनुसार १२ वैशाख २००६ मा लेनिन जयन्तीको अवसर पारेर कलकत्ताको श्यामबजारस्थित एउटा सरकारी अड्डामा पुष्पलाल श्रेष्ठ, नरबहादूर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशीको अग्रसरतामा नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो। पार्टी स्थापनाको करिब ५ महिनापश्चात् अर्थात् १५ सेप्टेम्बर १९४९ मा ने.क.पा.को प्रथम घोषणापत्र प्रकाशित गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टी स्थापनाका ६९ वर्षयताका अवधिहरू कम्युनिस्ट पार्टीहरूका लागि कहिल्यै पनि सुखमय रहेनन्। विभिन्न कालखण्डहरूमा फुट र गुटको चरम सिकार हुँदै आइरहेका नेपालका कम्युनिस्ट पार्टीहरूमध्ये पछिल्लो समय दूई ठूला वाम घटक एकीकरण गरी सिंगो नेपाल कम्युनिस्ट पार्टीको निर्माण गरिए तापनि अझै स–साना कम्युनिस्ट दल र गुटहरू अस्तित्वमै रहिआएका छन्।

विशेष गरेर एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने र एकले अर्कालाई सिध्याएरै छाड्ने मनोरोगले ग्रस्त नेपालका वामपन्थी नेताहरूमध्येका प्रमुख रोलकर्ताहरू एक भएतापनि यसको दिगोपनाको बारेमा संशय उहिल्ल्यैदेखि नै गरिएको थियो। विगतमा नेपालका वामपन्थीको चरित्र नजिकैबाट देखिरहेका कारण यस्तो संशय गरिरहनुपर्ने आधार धेरै नै छन्। एउटै जंगलमा शेर महाशेरहरूबीच मनमुटाव र द्वन्द्व बारम्बार नचर्किएको भने होईन। अहिलेको समयसम्म आईपुग्दा एकताको सूत्रमा बाँधिएकोझैं गरेर जनतालाई उल्लु बनाऊंदै आएता पनि सैद्धान्तिक एकता अलपत्र परिराखेकै अवस्थामा फेरि पनि नेपाल कम्युनिस्ट पार्टी विघटनका समाचार सार्वजनिक हुँदैगर्दा बधाई तथा शुभकामना मात्र भन्न सकिएला।

कुनै पनि क्रान्तिकारी आन्दोलनले आफ्नो अतीतबाट सिक्ने हो। व्यवहार र प्रयोगको धरातलमा टेकेर आफ्नो बाँकी कार्यभार अगाडि बढाउनुपर्दछ। काम गर्दा आईपर्ने समस्या र गल्तीहरूबाट पाठ सिकेर नै बाँकी योजनाहरूको कार्वान्वयनलाई अगाडि बढाउनुपर्ने हो तर नेपालका वामपन्थी दलहरूमा गल्तीबाट पाठ सिकेर अगाडि बढ्ने साहस कहिल्यै देखा परेन। बरु उल्टै गल्तीमाथि गल्ती गर्दै गइरहे। जसको परिणाम वामपन्थीहरूले बारम्बार फुट र गुटको चरम सिकार हुनुपरेको हो।

अक्टोबर क्रान्ति अर्थात् १९१७ अक्टोबरमा रुसको समाजवादी क्रान्ति सफल भएपश्चात् माक्र्सवादको झिल्काले नेपाललगायत पिछडिएका, उपनिवेश, अर्धउपनिवेश र अन्य मुलुकहरूलाई पनि छोएको थियो। देश परिवर्तनमा महत्वपूर्ण क्रान्ति र सम्झौताहरूमा अहम् भूमिका निर्वाह गर्दै आएको नेपालको वामपन्थी शक्ति जसरी दक्षिणपन्थी शक्तिहरूसँग संघर्ष गर्दै आएको छ, उसै अनुपातमा वैचारिकरुपमा रक्षात्मक स्थितिमा पनि रहिआएको छ। एकीकृत क्रान्ति भनिदै आए तापनि सारमा अस्तित्व रक्षाकै लागि संघर्षरत नेपालको कम्युनिस्ट शक्ति तिनै दक्षिणपन्थी शक्तिहरूको आक्रमणको सिकार पनि बन्दै आइरहेको कुरा कटुसत्य हो। फलस्वरुप कम्युनिस्टहरूको इतिहासदेखि वर्तमानसम्म टुटफुट र गुटैगुटको राजनीति मौलाएको हो।

समाजवादी क्रान्ति गर्ने उद्देश्यसाथ १९४९ मा पहिलोपटक लुकिछिपी कम्युनिस्ट पार्टीको स्थापना भए यताका दृष्टान्त सरसर्ती नियाल्ने हो भने, पुष्पलालदेखि पुष्पकमलसम्म आइपुग्दा नेपाली कम्युनिस्टहरूका हाँगाबिँगा दर्जनौं पुगिसकेका छन, तर यी सबै खेमाहरू आफैंमा अस्तित्व रक्षाको संकटमा छन् भने यिनीहरू सबैको मुख्य कमजोरी भनेको अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो। मोहनविक्रमले मोहन वैद्यको अस्तित्व स्वीकार्दैनन् भने वैद्यले मोहनविक्रमको। एकले अर्कालाई सामन्तवादी, नवसामन्तवादी, जड्सूत्रवादी, संशोधनवादी, उग्रराष्ट्रवादी लगायतका आरोपले अलाप्ने गर्दछन। कम्युनिस्ट–कम्युनिस्टबीचमै पनि पानी बाराबारको स्थितिसम्म पुग्ने यी शक्तिहरू कुनै आधार, सिद्धान्त, मार्गदर्शनविना एक–अर्कोमा अचानक विलय हुन पनि किञ्चित पछि हट्दैनन। गुट र उपगुट तथा स–साना समूहमा विभक्त अधिकांश कम्युनिस्टहरू क्रमशः शिथिल र क्षयीकरण हुनुको प्रमुख कारण नै यिनीहरूको कमजोर धरातल हो।

वास्तवमा भन्नुपर्दा, सन् १९५६ मा खुश्चेव गुटले प्रतिपादन गरेको नीति प्रस्टरुपमा माक्र्सवादसँग सम्बन्धविच्छेद नै थियो। नेपालका पछिल्ला ठूला वाम घटकहरूको संसदीय अभ्यास र क्रियाकलाप हेर्दा कतै यी दलहरूले पनि माक्र्सवाद र लेनिनवादसँग सम्न्धविच्छेद नै गरेका त होइनन् भन्ने प्रश्न तेर्सिएर आउँछ। तत्कालको लागि व्यवहारमा संसदीय प्रतिस्पर्धा र बोलीमा माक्र्स र लेनिन भजाए तापनि वास्तवमा अब कम्युनिस्ट चरित्र भेट्नै गाह्रो छ।

पुँजीवादी व्यवस्थालाई ध्वंश पारी समाजवादी व्यवस्थाको निर्माण गर्ने अठोट गरेका नेपालका एकथरी कम्युनिस्ट दलका नेता नै आजकल पुँजीपति बनेका छन्,नवसम्भ्रान्त वर्गमा उक्लिएका छन्। हिजो सर्वहारा वर्गको मुक्तिका लागि भनेर बन्दुक उठाएकाहरू आज आफ्नै सम्पत्ति जोगाउनका लागि बन्दुकको सहारा लिँदै छन्। अर्का थरी कम्युनिस्टहरू तिनै नवसम्भ्रान्त वर्गमा ऊक्लिएका पूँजीपतिहरूद्वारा स्थापित पुँजिवादी व्यवस्थालाई ध्वंश गरी समाजवादको स्थापनाको खातिर मजदुर आन्दोलनको पुनश्चः दिवास्वप्ना देख्दै छन्।

वास्तवमा नेपालका कम्युनिस्टहरूको चित्र र चरित्र नै माक्र्स, लेनिन, माओको नाम बेची मजदुरको ढाडमा टेकेर सत्ताको लिस्नु चढ्नु हो। फरक यत्ति हो, एकथरी कम्युनिस्ट गुटहरू यस्तासम्म छन् जो अवसर प्राप्त नहुन्जेलसम्म घोर क्रान्तिकारी र वैचारिक देखिए तापनि अवसर प्राप्त हुनासाथ वैचारिक विचलनसँगै राजनीतिको आदर्शलाई पनि तिलश्मी दिन पछि पर्दैनन्। र, अर्का थरी कम्युनिस्टले घोर छलकपट गरेर छिट्टै सत्ताको रस्वादान गर्न पुगे अनि संसदीय दल–दलमा भाष्य भएर गए भने छलकपट गर्न नजानेका कतिपय कम्युनिस्ट कोरा आदर्शका नारामै मात्र सीमित छन्। अवसर पाउनासाथ तिनीहरूको गन्तव्य पनि उही संसद् नै हुनेछ।

कुनै पनि क्रान्ति सम्पन्न गर्नका लागि दुई पाटा हुन्छन्। ती मध्ये एउटा पाटो हो संसदीय यात्रा। हालै मात्र एकीकृत पार्टी नेकपाको यात्रा संसदीय यात्रा हो। एकीकृत हुनुभन्दा अघि पनि यी पार्टीहरूले संसदीय लोकतन्त्रकै यात्रालाई निरन्तरता दिँदै आएका हुन्। भलै पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीले करिब एकदशक सशस्त्र संघर्ष गरे तापनि आखिर उसको पनि अन्तिम गन्तव्य संसदीय प्रणाली नै रहेछ भनेर अब धेरै प्रस्ट्याउनै परेन।

जनयुद्धको औचित्य पुष्टि गर्न नसकेको तत्कालीन माओवादी र सशस्त्र झापा विद्रोहपश्चात् शान्तिपूर्ण संसदीय राजनीतिमा अभ्यस्त यी दुई फरक धारका शक्तिलाई सँगै संसदीय अभ्यासमा अभ्यस्त गराउने सूत्रचाहिँ चर्चित १२ बुँदे सम्झौता नै हो। तत्पश्चात् यी दुई प्रमुख दल सँगै संसदीय राजनीतिमा होमिए तापनि बितेका दशक यी दुई पार्टीचको सम्बन्ध धेरै नै उतारचढावपूर्ण रहँदै आएको थियो। एकले अर्कालाई सिध्याइछाड्ने रणनीतिका साथ अगाडि बढिरहेका यी प्रमुख शक्ति अन्ततः एक–अर्कामा विलय भएर पनि टुक्रीने समय आईपुगेको छ। त्यसैले होला राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैनन भनिएको। क्रान्तिको दोस्रो पाटो भनेको सशस्त्र संघर्ष नै हो। नेपालमा हाल सशस्त्र संघर्षको सम्भावना नरहे तापनि यदाकदा नेत्रविक्रम चन्द नेतृत्वको समूहले हतियार उठाउने धम्की बेलाबखत दिँदै आइहेको छ। माउ पार्टीबाट जनयुद्धलाई धोखा भएको र बाँकी क्रान्ति अधुरै रहेकाले अब दोस्रो जनयुद्धको माध्यम बाँकी क्रान्तिको अभिभारा पूरा गर्नुको विकल्प छैन भन्दै तत्कलीन माओवादीबाट पटक–पटक चोइटिएर गएका वैद्य, चन्दलगायतका समूहबाट बेलाबखत हतियार उठाउने धम्की दिए तापनि नेपालमा अहिले तत्कालै हतियारसहितको संघर्ष आवश्यकता छैन। एक त विगतको जनयुद्धको औचित्य अहिलेसम्म पुष्टि हुन नसकिरहेको अवस्थामा फेरि अर्को जनयुद्ध गर्छु भन्नु मूर्खतासिबाय केही होइन।

माक्र्सले कहीँ लेखेका छन्– इतिहासले आफैंलाई दोहो¥याउँछ तर हुबहु दोहो¥याउँदैन। पहिलोपटक त्रासदको रुपमा र दोस्रोपटक प्रहसनको रुपमा दोहो¥याउँछ। तर नेपालको कम्युनिस्ट आन्दोलन माक्र्सको भावार्थभन्दा ठीक उल्टो प्रहसनको रुपमा देखा प¥यो। पहिला माक्र्सकै भनाइअनुसार नै भयंकर त्रासदि देखाइएको छ भने अहिले विशेष गरेर माक्र्सको भावार्थको ठीक उल्टो प्रहसनको रुपमा दोहोरिएको छ।

विशेष गरेर संसद्लाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रित गर्दै सशस्त्र द्वन्द्वमा होमिएको तत्कालीन माओवादी विद्रोहताका झन्डै १७ हजारले ज्यान गुमाउनुपरेको कहाली लाग्दो सशस्त्र १० बर्से जनयुद्ध एउटा त्रासदि थियो भने जनयुद्धले उठान गरेका अधिकांश मुद्दाहरूलाई तिलश्मी दिँदै अवसरवाद, सम्झौतापरस्त हुँदै क्यास माओवादीमा रुपान्तरित निवर्तमान पार्टी माओवादी केन्द्रमा अत्यासलाग्दो गरी बढेको वर्गीय चारित्रिक कोपभाजनको दृश्य प्रहसनको एउटा पाटो थियो। प्रहसनको अर्को पाटो भनेको सशस्त्र संघर्षपश्चात् शान्तिपूर्ण मूलधारको राजनीतिमा ओर्लिएको माओवादीभित्र वर्गीय चरित्रको खाडल बडो आश्चर्यजनकरुपमा विकसित हुन पुग्यो। पार्टीमा मूलतः दुई प्रकारको वर्गीय चरित्र देखा प¥यो। एउटा पक्ष नवधनाड्य एवं ऐयासी वर्गमा रुपान्तरित हुन पुग्यो भने अर्को पक्ष ४५–५० डिग्रीको रापमा खाडीको मरुभूमिमा भेडा चराउने वर्गमा रुपान्तरित हुनपुग्यो।

तर एउटा कटुसत्य के थियो भने, यी दुवै वर्गले विगतमा राज्यसत्ता कब्जाका साथै साम्यवादसम्मको सुनौलो गन्तव्यमा पुगिछाड्ने अठोटका साथ हतियार उठाएका थिए। त्यस्तै, चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवाडी आन्दोलनद्वारा प्रेरित तत्कालीन नेपालका क्रान्तिकारीहरूद्वारा वि.सं. २०२८ मा पूर्व कोशी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले विद्रोह गरी सशस्त्र संघर्ष गरेको ‘झापा विद्रोह’ एउटा त्रासदी थियो भने आन्दोलन तार्किक निष्कर्षमा नपुग्दै बीचैमा प्रतिक्रियावादी र यथास्थितिवादीहरूसँगको साँठगाँठमा आन्दोलनलाई कमजोर पारी संसदीय यात्रामा भाष्य ‘तत्कालीन चतुर क्रान्तिकारीहरू’को संसद् मोह एउटा प्रहसन थियो भने विद्यमान ‘प्रतिक्रियावादी’ सत्ताको भरपूर पक्षपोषण गर्ने सिपी मैनाली र केपी ओली प्रवृत्ति प्रहसनको अर्को पाटो थियो। त्यसैले सारमा यी दुई ठूला कम्युनिस्टहरू एक–अर्कामा विलय हुँदै गर्दा यिनीहरूको असली चित्र उजागर भएको छ भने वामपन्थी अझ भनौं कम्युनिस्टको नाममा चरित्र भने पटक्कै मिल्न सकिराखेको छैन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८