…त्यसपछि सुनिता कहिल्ल्यै छाऊपडीमा बस्न परेन

जागरणपोस्ट २३ जेष्ठ २०७६, बिहीबार १७:३८

डा. अरुणा उप्रेती :

कैलालीकी सुनिता १३ वर्षकी हुँदा उनी घरनजिकैको स्कुलमा ४ कक्षामा पढ्थिन् । कक्षामा सुनिता सबैभन्दा जेठी भएकीले उनलाई सँगै पढ्नेहरुले दिदी भन्थे । पहिले त साथीहरुले त्यसरी भनेको सुनेर उनलाई एकदम नमज्जा लाग्थ्यो तर पछि बानी पर्दै गइन् ।आमाले सुनितालाई भनिरहन्थिन्– ‘नानी हाम्रो त पढ्ने–लेख्ने समय गइसक्यो । जिन्दगीमा हामीले धेरै दुःख पायौं । कतिले हामीलाई ठगे । तर तिमीले त ढिलो भए पनि पढ्ने मौका पाएकी छौ । राम्रोसँग पढ है । तिमीले पढेपछि तिम्रा भाइबहिनी पनि स्कुल जानेछन् । अनि तिमीहरुलाई कसैले ठग्न पाउँदैन ।’
सुनिता पनि आमाले भनेको कुरा सत्य हो भन्ने ठानेर स्कुल जान्थिन् । गरिब परिवारकी छोरी भनेर शिक्षकले पनि उनलाई माया गर्थे । सुनिता ४ कक्षामा पुगेपछि उनलाई महिनावारी भयो । त्यस ठाउँको चलनअनुसार उनी छाउगोठमा बस्नुपर्ने भयो । छाउगोठ भनेको महिनावारी भएको बेलामा बस्नका लागि घरबाहिर छुट्टै बनाइएको सानो एककोठे गोठ हो । आमाले भनिन्– ‘नानी ! अब तिमी १२ दिनसम्म स्कुल जान पाउँदिनौ । घरभित्र आउन पनि पाउँदिनौ । तिमीले यही छाउगोठमा बस्नुपर्छ ।’
यो कुरा सुनेर सुनितालाई रुन मन लाग्यो । उनले भनिन्– ‘आमा, राती कसरी यस्तो कोठामा एक्लै सुत्ने ? चोर आयो, कसैले तर्सायो भने के गर्ने ?’ आमाले सम्झाउँदै भनिन्– केही हुँदैन, यो टोलका सबै महिला यसै गरी बस्छन् । यदि तिमी महिनावारी भएको बेलामा घरमा बस्यौ भने त घरमा आगलागी हुन्छ । घरभित्र बाघ आउन सक्छ । हामीलाई पाप लाग्छ । देउता पनि रिसाउँछन् । महिनावारी भएको बेलामा तिम्रा साथी पनि यसै गरी बस्छन्, तिमी मात्र हो र ?’
सुनिता दुःखी भइन् । बाध्य भएर उनी छाउपडीमा बसिन् । उनी स्कुल नगएको पनि ५–६ दिन बित्यो । त्यसैले एक शिक्षिका सुनिताको घरमै आइन् । सुनिता छाउपडीमा बसेको देखेर शिक्षिकालाई दिक्क लाग्यो भने सुनिता पनि रुन थालिन् । शिक्षिकाले सम्झाउँदै भनिन्– ‘सुनिता ! सरकारले यो कुरीति हो भनिसकेको अवस्थामा तिम्री आमामा अझै अन्धविश्वास हटेको रहेनछ । मैले थाहा पाएको भए तिमीलाई यसरी बस्न दिन्नथें । अब परीक्षा आउँदै छ, झन् मेहनत गर्नुपर्ने बेलामा स्कुलमा नै नपठाउने त ठीक भएन नि ? पख, म केही उपाय गर्छु ।’
भोलिपल्ट बिहान सुनिताको घरमा कालो ज्याकेट लगाएका, हातमा डन्डा लिएका दुई व्यक्ति आए । उनीहरुले सुनिताका बाबालाई सोधे– ‘हामी प्रहरी कार्यालयबाट आएका हौं । यहाँ एक किशोरीलाई स्कुल पनि नपठाई कानुनविरुद्ध छाउपडीमा राखिएको छ रे ? साँच्चै गैरकानुनी काम भएको भए जेलमा हाल्नुपर्ने पनि हुन सक्छ ।’ उनीहरुको कुरा सुनेर सुनिताका बाबा डराए । उनले घरभित्र हेर्दै भने– ‘ए सुन्तली ! छिट्टै बाहिर आऊ त । प्रहरीहरु आउनुभएको छ ।’ प्रहरी आएको कुराले सुनिताकी आमा पनि झस्किएर बाहिर आइन् ।
प्रहरीले सोधे– ‘तपाईंकी छोरी सुनिता कहाँ छिन् ?’ महिनावारी भएकाले स्कुल नगई छाउपडीमा बसेको कुरा सुन्तलीले बताइन् । प्रहरीले भने– ‘तपाईंले महिनावारी भएकी छोरीलाई छाउपडीमा राखेर स्कुल नपठाउनु कानुनविरुद्ध हो । त्यसैले तपाईं प्रहरी कार्यालयमा हिँडनुस् ।’ सुन्तली त रुँलाजस्तै भइन् र भनिन्– ‘अबदेखि यस्तो गर्नेछैनौं, एकचोटिलाई माफ दिनुस् ।’ प्रहरीले डन्डा हल्लाउँदै भने– ‘ठीक छ, आजलाई माफ दिन्छौं तर छोरीलाई तुरुन्त घरभित्र लगेर राख्नुुस् र भोलिदेखि स्कुलमा पठाउनुस् । हामी भोलि स्कुलमा गएर बुभ्mनेछौं ।’ यति भनेर प्र्रहरी गए ।
आमाले सुनितालाई हत्तपत्त छाउपडीबाट घरभित्र लगिन् । सुनिता पनि दंग परिन् । उनी त्यो रात आनन्दले निदाइन् । भोलिपल्ट आमाले सुनितालाई स्कुल पठाइन् । सुनितालाई स्कुल आएको देखेर शिक्षिका पनि खुशी भइन् । ‘मैले पठाएका प्रहरीले तिम्री आमालाई तर्साए कि क्या हो ?’ शिक्षिकाले हाँस्दै सुनितालाई भनिन्– ‘तिम्री आमालाई त्यो छाउपडी कोठालाई अब मालसामान राख्ने कोठा बनाउनू भन्नू । एक हप्तापछि फेरि प्रहरी तिम्रो घरमा आउनेछन् ।’ सुनिताले सोधिन्– ‘फेरि किन आउने प्रहरी ?’ शिक्षिकाले उत्तर दिइन्– ‘किनकि तिमीलाई फेरि त्यस छाउपडीमा नराखून् भनेर ।’
सुनिताले आमालाई सबै कुरा बताइन् । आमाले पनि डराएर पुराना भाँडाकुँडा, नचाहिने मालसामान सबै त्यही कोठामा लगेर राखिन् । एक महिनापछि प्रहरी आएर छाउपडी कोठामा हेरे । ल ठीक छ भन्दै अबदेखि यो कोठा यस्तै सामान राख्नका लागि प्रयोग गर्नू भनी फर्किए ।
भोलिपल्ट सुनिता स्कुल पुगेपछि शिक्षिकाले भनिन्– ‘सुनिता ! हामीले नक्कली प्रहरी बनाएर तिम्री आमालाई तर्साएका हौं । अब तिमी अनि आमाले कहिल्यै छाउपडीमा बस्नुपर्दैन । तिम्रो स्कुल पनि छुट्दैन । छाउपडी प्रथा तिम्रो घरबाट हटाउन यसो गरिएको हो । राम्रो कामका लागि नक्कली काम गर्दा पनि राम्रै ठानेका छौं ।’ शिक्षिकाको कुरा सुनेर सुनिता दंग परिन् । त्यसपछि सुनिता कहिल्यै छाउपडीमा बस्नुपरेन ।

अरुणा उप्रेती
डा.अरुणा उप्रेती
Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५