भ्रष्टाचारमा आत्मनिर्भर

जागरणपोस्ट १२ मंसिर २०७७, शुक्रबार १२:४३

बिम्मी कालिन्दी शर्मा

हामी र हाम्रो देश धेरै काम र कुरामा परनिर्भर छ । तर संधै अरुमाथि परनिर्भर भएर पनि त भएन । त्यसैले दुई तिहाईको बहुमतले उन्मत्त भएको ओलीको सरकारले भ्रष्टाचारमा यो देशलाई आत्मनिर्भर बनाएरै छाड्यो । ट्रान्सपरेन्सी ईन्टरनेशनलले भ्रष्टाचार सम्बन्धि गरेको सर्वेमा नेपाल एशियाली देशहरुमा पहिलो नम्बरमा सूचिकृत भएको छ । छिमेकी देश भारत सातौं नम्बरमा परेको छ भने भारतलाई पनि उछिन्दै नेपाल भ्रष्टाचारमा पहिलो र एक नम्बरमा आउनु भनेको चानचुने कुरा हैन । हामीले केही कुरामा त भारतलाई पछि पार्यौं भलै त्यो भ्रष्टाचार नै किन नहोस् । यसमा हामी सबैले गर्व गर्नै पर्छ र भ्रष्टाचार गर्नेमा पहिलो देश बन्न सफल भएकोमा ओली र उनको सरकारलाई धन्यवाद दिनै पर्छ नत्र हामी जनतालाई पाप लाग्छ र नेपालमा जन्मेर पनि यति जाबो गर्व गर्न नसकेकोका नेपाल आमाले हामीलाई अवश्य पनि धिक्कार्ने छिन् । त्यसैले आफ्नो मनुष्य चोला जोगाउन ओली र उनको दुई तिहाईको सरकारको सम्मानमा भजन किर्तन गरौं र अझ सकिन्छ भने दिपावली पनि गरौं ।
चीन र भारतमा हामीले उपयोग गर्ने धेरै सामानहरु आयात गरेर नेपाल ल्याइन्छ । कतिपटक भन्सारमा किचलो भएर त्यो सामान भनेको समयमा आइपुग्दैन । तर भ्रष्टाचार नेपालमै मौलाएको र आम जनतालाई बौलाउन प्रेरित गर्ने त्यो जिनिस हो जसलाई विभिन्न सरकारी निकायहरुले मलजल गरेर हुर्काएर ठूलो रुख बनाइ दिएकाछन् । अब यसको छहारीमुनी जो पनि बस्न सक्दछ किनकि अख्तियार दुरुपयोग निवारण आयोग भन्ने भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकाय संधैका लागि कोमामा गैसकेको छ । त्यसैले जति पनि भ्रष्टाचार गर्न छुट छ सबैलाई । हामी भ्रष्टाचारमा आत्मनिर्भर मात्र भएका छैनौं कि उसलाई कुनै अन्य देशले चाहेमा उसलाई निर्यात पनि गर्न सक्छौं । हाम्रा नेताहरु भ्रष्टाचार गर्न मात्र हैन यसलाई निर्यात गर्न पनि सक्षम छन् । जैले पनि नेता र मन्त्रीको योग्यता र क्षमतामा प्रश्न चिन्ह लगाउने हामीले पहिलोपटक भ्रष्टाचार गर्ने खुबी या क्षमताप्रति नतमस्तक हुनैपर्छ । कति गनगन मात्र गर्ने कहिलेकाँहि यी भुषतिघ्रे नेताहरुको गुणगान पनि गर्न सिकौं ।

हामी भ्रष्टाचारमा मात्र आत्मनिर्भर भएनौं कि यसका साथै बेइमानी, अनैतिक कार्य, छलकपट र झुटो बोल्नमा पनि पारंगत र आत्मनिर्भर भयौं । यी सबै भ्रष्टाचारकै छत्रछाँयामा उम्रिएका देशमारा झार हुन् जसले भ्रष्टाचारलाई संस्थागत गर्नमा मलजलको काम गरिरहेका छन् । नेपाल सधै गरीब र अरुको सहयोग र सदासयतामा बाँचेको देश भनेर कति सुन्ने र अन्य देशको अेशको हेपाहा प्रवृति सहने ? त्यसैले त ओली र उनको दुई तिहाईको सरकारले यो बीडा उठायो कि देशलाई केही कुरामा त आत्मनिर्भर बनाउनै पर्छ । अनि ओलीको उखाने दिमागले भ्रष्टाचारको भ्यू टावर बनाउनमा आफ्नो ध्यान केन्द्रित गर्यो । जसको फलस्वरुप आज हामी भ्रष्टाचारी मुलुकमा एशियामैं पहिलो नम्बरमा पर्न सफल भयौं । यसकालागी ओलीले अनेक हावभाव र उखान भनेर हामी मुर्ख र जनतालाई खुबै भुलाउनु भुलाए । जब हामी ओलीप्रति भक्तिभावले लट्टु भयौं तब उनको दुई तिहाई सरकार पनि भ्रष्टाचारप्रति लट्टु हुँदै बेइमानीको सगरमाथा उक्लिन थाल्यो । टुप्पोमा पुगेपछि बल्ल हामीले थाहा पायौं कि भ्रष्टाचार गर्नमा त हाम्रो देशको सरकारले बिश्वलाई नै चकित पारिसक्यो । त्यसैले ट्रान्सपरेन्सी ईन्टरनेशनल भन्ने संस्थाले हाम्रो देशको भ्रष्टाचारलाई मान्यता दिदैं सगर्व पहिलो भएको प्रमाणपत्र दिएको छ । अब अरुले हामीसँग रिष गरेर हुन्छ त ? हामी त एक नम्बरी भैसक्यौं क्या ।

यो देशलाई भ्रष्टाचारको स्वर्णभूमि बनाउनमा कोरोनाले पनि गर्नसम्म सहयोग गरेको छ । कोरोनाले संक्रमित र आतंकित जनतालाई त्रसित गरेर उपचारबाट बिमुख गराएर सरकारले भ्रष्टाचारको आहालमा आफुलाई चुर्लुम्मै डुबायो र डुबेर निस्किदाँ बेइमानीले शुद्ध भैसकेको थियो । त्यसैले त राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारमा पचास पचास प्रतिशत लिप्त रहेको ट्रान्सपरेन्सी ईन्टरनेशनल ले जनाएको छ । भूकम्प, कोरोना र अन्य कुनै महामारी या देवीय विपत्ति भनेको सरकारलाई भ्रष्टाचार गर्न सहयोग पुर्याउने अस्त्र शस्त्र हुन् । त्यसैको फाइदा उठाउँदै सरकारले भ्रष्टाचारको कबड्डी खेल्यो र जित्यो पनि । त्यही भएर ओलीले प्रधानमन्त्री पदको शपथ लिदाँ भनेका थिए न भ्रष्टाचार भएको सहन्छु न गर्न दिन्छु । हामीले उनको कुरा बुझेनौं । ओलीको भनाइको आशय त न इमानदारी र सदाचारीलाई सहन्छु न आफु इमानदार र सदाचारी हुन्छ । यदि ओली र उनको दुई तिहाईको सरकार सदाचारी भएको भए हामी कसरी भ्रष्टाचारमा एक नम्बरमा हुन्थ्यौं र हाम्रो देशको नाम यसरी दुनियामा जगमगाऊँथ्यौं? त्यसैले ओली र उनको सरकारको हामी सबैले जयगान गर्नै पर्छ ।

मान्छेले जन्मिदैं मुख र पेट लिएर जन्मिन्छ । जहाँ मुख र पेट छ त्यहाँ बेइमानी र भ्रष्टाचार हुने गर्छ नै । अब यत्रा भेंडाका बथानजस्ता कार्यकर्ता र अरिगांल र हनुमान जस्ता कार्यकर्ताहरुलाई पाल्न र उनीहरुको मुखमा बुजो लगाउन सरकारले भ्रष्टाचार गरेको हो । उसलाई अन्यथा नलिउं । घरमूली या अभिभावकले आफुमा आश्रितहरुलाई पाल्न अनेक तिकडम गर्छन नै । त्यही तिकडम हो यो भ्रष्टाचार पनि । भ्रष्टाचार गर्नु सरकारको मौलिक अधिकार हो भने यसलाई सहनु या करको भारको रुपमा आफ्नो टाउकोमा थुप्रनु जनताको मौलिक बाध्यता हो । अब मौलिक अधिकार र कर्तव्यको बारेमा संविधानमैं लेखिएको छ, जसको बारेमा बोल्नु हुन्न । बस भ्रष्टाचारलाई अझ बढी फल्न फुल्न र झाँगिनमा सरकारलाई मद्धत गरौं हामी आफु पनि भ्रष्टाचारी बनौं । तब हाम्रो देश भ्रष्टाचारमा आत्मनिर्भर भएको सुहाऊंछ । जब हामी आफै आफ्नो देश भ्रष्टाचारमा सम्पन्न र समृद्ध भएकोमा गर्व गर्दैनौं भने छिमेकी या अन्यले हामीलाई हेप्छन नै ।

 

जनता बहुलाउने जनवाद !

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८