एजेन्सी : चन्द्रमाको ढुंगा लिन गएको चिनियाँ अन्तरिक्ष यान चाङ’ए ५ चन्द्र कक्षमा प्रवेश गर्न सफल भएको छ।
चिनियाँ चन्द्रयान चन्द्र कक्षमा पुग्नासाथ चन्द्रमाबाट ढुंगा ल्याउने चीनको योजनाले एउटा ठूलो बाधा पार गरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।
यसअघिका धेरै अभियानहरुमा चीन चन्द्रकक्षमै प्रवेश गर्न सकेको थिएन। ११२ घण्टा उडेपछि गत शनिबार चिनियाँ चन्द्रयान चन्द्रकक्षमा पुगेको बताइएको छ।
त्यसबेला चीनको चन्द्रयान चन्द्रमाको सतहभन्दा ४ सय किलोमिटर मात्र टाढा थियो।
चन्द्रमाको सतह नजिक पुगेर चन्द्रयानले चन्द्रमाको गुरुत्वाकर्षको मापन गरेको र आइतबार चन्द्रकक्षमा आफ्नो चन्द्रयान पुगेको चीनले बताएको छ।
चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो।
पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।
यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए। सन् १९७६ मा अन्तिमपटक सोभियत संघले पठाएको लुना २४ ले पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।
हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ।
उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना संकलनको प्रयास गर्ने बताइएको छ।
सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।
चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ।
चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा