– काशीनाथ मिश्रित
अपाङ्गता भन्नाले झट्ट हेर्दा शरीरको कुनै अङ्ग गुमेको वा बिग्रिएको अवस्थालाई भएको भन्ने बुझाइ रहेको पाइन्छ आम मानिसहरूमा ।
शरीरका सबै अङ्ग हुँदाहुँदै पनि कुनै अङ्गले पूर्ण वा आंशिक रूपमा काम गर्न नसक्ने अवस्थालाई अपाङ्गता भएको स्वीकार्न सकिरहेको छैन हाम्रो समुदायले ।
विभिन्न तहबाट अपाङ्गता लाई आआफ्नै किसिमले परिभाषित गरिएको पनि छ । तर ती परिभाषाहरू पनि आफैमा अपूर्ण छन् । वास्तवमा अपाङ्गता भनेको हाम्रो विचार हो; चिन्तन हो र दृष्टिकोण हो । अपाङ्गता लाई पूर्वजन्मको पाप भन्ने सोच त निकृष्ट चिन्तन हो । अझ अपाङ्गता भएका व्यक्तिहरूलाई बरा र बिचराका दृष्टिले हेर्ने र भत्ता दिए उनीहरूप्रतिको दायित्व पूरा गरेको ठान्ने राष्ट्रिय चिन्तन त सतही मात्र हो ।
आम मानिशभन्दा भिन्न क्षमता भएका ब्याक्ति शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ‘ भनी ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ले परिभाषित गरेको छ । यसैलाई आधार मान्दा कुल जनसङ्ख्याको दस प्रतिशत ले हुन आउने ३०,००,००० जनसङ्ख्यामा कुनै न कुनै प्रकारको समस्या छ ।तर राज्यले यो तथ्याङ्कलाई स्वीकारेको देखिँदैन ।
यसको पुष्टि राष्ट्रिय जनगणना २०६८ को अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क अत्यन्तै कम निकालेबाट हुन्छ । गणकहरूले प्राप्त गरेको तालिम, अपाङ्गता भएका व्यक्तिहरूको चेतनास्तर, परिवार तथा समाजमा अपाङ्गतालाई हेर्ने दृष्टिकोण जस्ता कुराहरूले गर्दा जनगणनामा वास्तविक तथ्याङ्क आयो भन्नेमा ढुक्क हुन सक्ने स्थिति छैन । किनभने कतिपयले आफ्नो परिवारका कुनै सदस्यमा समस्या रहेछ भने समाजबाट अपहेलित हुनुपर्ने डरले नबताउने गरेका प्रशस्तै उदाहरणहरू छन् ।हेरौँ २०७८ को जनगणनाले उचित तथ्याङ्क निकालेछ भने राज्य अपाङ्गता भएका व्यक्तिहरूप्रति जिम्मेवार रहेछ भन्ने ठानौँला नत्र करायो करायो दक्षिणा हरायो भने जस्तो मात्र हुनेछ ।
अचानोको पिर खुकुरीले जान्दैन भने झैँ अपाङ्गता भएका व्यक्तिहरूको समस्या साङ्ग व्यक्तिहरूलाई थाहा हुँदैन । धेरै ठुल्ठुला कुरा गर्नै पर्दैन; एकै छिन् तपाईँले एउटा खुट्टामा बाक्लो चप्पल लगाएर र अर्कोमा नलगाई हिँड्नुहोस् त ! कत्तिको सजिलो हुन्छ? दाहिने हातको बुढी औँला खुम्च्याएर भात खान बस्नुहोस् त ? बुढी औँलाविना खान कति गाह्रो हुँदोरहेछ? आँखामा पट्टी बाँधेर मुल सडकमा निस्कनुहोस् त ! बाटो पार गर्दा सजिलो हुन्छ कि हुँदैन?दुवै कान टम्म थुनेर कुनै बैठकमा भाग लिनुहोस् न त! छलफलमा सहभागिता जनाउन कठिनाइ पर्छ कि पर्दैन? यी ससाना काम मध्ये तपाईलाई कुन काम सजिलो लाग्ला?पक्कै केही न केही कठिनाइ महशुस गर्नुहुनेछ ।
त्यसैले अपाङ्गता भनेको शरीरको कुनै अङ्गको कमी वा कमजोरीले गर्दा सामान्य व्यक्ति सरह काम गर्न अवरोध हुने स्थिति हो भन्ने बुझ्नुपर्छ । तर हाम्रो समाज मात्र हैन आम शिक्षित व्यक्तिहरूको बुझाइ यस सम्बन्धमा सकारात्मक रहेको पाइँदैन । अर्थात् शारीरिक अपाङ्गता, बहिरा वा दृष्टिविहीन हुँदैमा बुद्धि विवेक नै कम हुन जाने आम बुझाइ रहेको देखिन्छ ।बौद्धिक अपाङ्गहरूको त कुरै छोडौँ ।
अशिक्षित व्यक्तिहरूको कुरा परै रहोस् धेरैजसो शिक्षित तथा अर्धशिक्षित व्यक्तिहरूले पनि अपाङ्गतालाई पूर्व जन्मको पाप भन्ने गरेको पाइन्छ । तर अपाङ्गता गर्भावस्थामा आवश्यक पर्ने खाद्यतत्त्वको कमीले जन्मैदेखि र विविध रोग तथा दुर्घटनाका कारण जन्म पश्चात् पनि हुन सक्ने शारीरिक वा मानसिक अवस्था हो । यो जुन कुनै व्यक्तिमा पनि हुने सम्भावना रहन्छ । यो कुरा सत्य हो कि कुनै अपाङ्गता भएको व्यक्ति साङ्ग व्यक्तिमा बदलिन सक्दैन तर जुनसुकै साङ्ग व्यक्ति अपाङ्गता भएको व्यक्तिमा परिणत हुने सम्भावना रहिरहन्छ । दैवी प्रकोप, महामारी वा अन्य कुनै दुर्घटनाबाट तमाम मानिसहरू अपाङ्ग बनीरहेको तथ्य सबैका सामु छर्लङ्गै छ । भनिन्छ दुर्घटना बाजा बजाएर आउँदैन ।विगतका दिनमा जनयुद्धका कारण होस् वा सडक दुर्घटना वा भूकम्प, बाढी, पहिरोका कारण कैयौँ साङ्ग मानिसहरूले अपाङ्गताको मार खेप्नु परेकै छ ।
अपाङ्गता परिवार, समाज र राज्यकै बोझ भएको अनुभुति भइरहेको छ । सबभन्दा दुःख लाग्दो कुरा के छ भने थोरै मात्र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समाजले स्वीकार्न सकेको छैन । यहाँ कसैको बोली अस्पस्ट हुँदैमा उसलाई जिस्क्याइन्छ, होच्याइन्छ एवं हाँसोको पात्र बनाइन्छ । पङ्क्तिकारको आफ्नै र देखेभोगेको अनुभूति पनि त्यस्तै छ । सानातिना अपठित र गँवारहरूको कुरा परै जाओस् कतिपय शिक्षित र मै हुँ भन्ने भलाद्मीहरूबाटै त्यस्ता गतिविधिहरू भएका छन् ।सबल मानिसलाई त्यसरी कतै पनि होच्याउने, जिस्क्याउने र बिल्ला गर्ने गरेमा प्रतिवाद गर्न सक्छ तर अपाङ्गता भएका व्यक्तिहरूलाई त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई त झनै होच्याइएको हुन्छ । बोलीसम्बन्धी, श्रवणसम्बन्धी वा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई पनि फुर्क्याउने, जिस्क्याउने तथा हीनताबोध गराउने जस्ता क्रियाकलापहरू हाम्रो समाजमा भइरहेका छन् । यस्तो गतिविधिलाई साङ्ग व्यक्तिहरूले ठट्टा गरेको रूपमा लिने गरे तापनि यो एक प्रकारको सामाजिक अपराध नै हो । के हाँसोको पात्र बनाउन अरु सामान्य व्यक्तिहरूलाई मिल्दैन र?
अपाङ्गताले छेक्यो राधालाई शिक्षाको उज्यालो घाम प्राप्तीमा
गम्भीर रूपमा अपाङ्गता भएका व्यक्तिहरूको कुरालाई थाती राखौँ । सबैले देख्ने र सबै केन्द्रित हुने उनीहरूमै हो । तर अन्यायमा परेका सामान्य अपाङ्गतायुक्त व्यक्तिहरूको पिडा छुट्टै हुन्छ । कसैले आँखाले छड्के हेर्छ भने के उसको विवाह सामान्य व्यक्तिसरह हुन्छ? बोलीमा अलिकति कमजोरी छ भने वा सामान्य भकभके रहेछ भने उसको विवाह सामान्य साङ्ग व्यक्ति सरह सजिलै होला? खुट्टाको बुढी औँला मात्र नभएकी महिलालाई काम गर्न केले समस्या हुन्छ र? तर विवाहमा पूर्व जानकारी नदिँदा विवाह मण्डपबाटै जुरुक्क उठेका उदाहरणहरू हाम्रा अगाडी छन । यस्ता कुराले के पुस्टि गर्छ भने हाम्रो समाजले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण सहज छँदैछैन । यो मामिलामा जतिसुकै चेतानास्तर बढेको भए पनि समाज पुरातन युगमै छ । कुरा साना र कम महत्त्वका जस्ता लाग्ने भए पनि यो अवस्थामा गुज्रिरहेका चौथो श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूलाई के साङ्ग सरह जीवन यापनमा अवरोध भएको छैन होला र ? पक्कै भएको छ । मात्र सहृदयताको खाँचो छ भन्ने बुझ्न कुनै कसरत गर्नु पर्दैन । अझ उसैमाथि पनि पहुँच हुनेहरूले भत्ताका लागि माथिल्लो श्रेणीको परिचयपत्र बनाउने र पहुँच नहुनेहरूले अपाङ्गतालाई लुकाउने प्रवृत्तिले त झन् अपाङ्गता भएका व्यक्तिहरूकै बिच विभेद उत्पन्न गरिदिएको छ ।
राज्यमा नीति नै नभएको भने हैन । संयुक्त राष्ट्र संघीय अपाङ्गता अधिकार सम्बन्धी महासन्धी २००६लाई नेपालले पनि समर्थन गरिसकेको अवस्था छ । ऐन पनि बनेको छ । तर किताबका माछा खाएर कोही अघाउँदैन । कार्यान्वयनमा जटिलता रहेकै छ । ३१ वटा मौलिक हक संविधानमा अटाउँदा अपाङ्गता भएका व्यक्तिहरूको हक अटाउन सकेन । मुस्लिम आयोग गठन हुन्छ तर अपाङ्ग आयोग गठन गरिदैन । आफ्नै बाहुबल र स्वप्रेरणाले उन्नति गरेका र ख्याति कमाएका अपाङ्गता भएका व्यक्तिहरूलाई उदाहरण दिँदै गोष्ठी र सेमिनारहरूमा गुलिया वचन त बोलिन्छ तर त्यो बोलीमै सिमित हुन्छ । नत्र त गणतन्त्र भनिने संसारकै सबभन्दा उत्कृष्ट शासन प्रणाली आइसकेको परिप्रेक्षमा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक हितका लागि संस्था खोल्नुपर्ने बाध्यता किन भइरहन्थ्यो ! अपाङ्गता भएका व्यक्तिहरूले हक अधिकार पाउन र समाजमा मौलिक हक भनिएको सम्मानपूर्व बाच्न पाउने हकको प्रयोग गर्न खै कुन तन्त्र पर्खनुपर्ने हो?
अपाङ्गहरूलाई भत्ता दिए पुग्छ भन्ने अवधारणाबाट उच्चपदस्थ व्यक्तित्वहरू पनि मुक्त हुन सकेको देखिँदैन । शिक्षा, स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध गरेर स्वाभिमानपूर्वक बाँच्न सक्ने अवस्था हुँदाहुँदै पनि दयाका पात्रका रूपमा चित्रण गरिनु बिडम्बना हो । पहिलेभन्दा अहिले स्थितिमा केही सुधार भएको त पक्कै होला तर त्यो सुधार गणतन्त्रले भन्दा पनि सचेत एवं केही गर्नुपर्छ भन्ने अपाङ्गता भएका व्यक्तित्वहरूबाटै भएको हो भन्ने कुरा कसैलाई लुकाउनु पर्दैन ।
अपाङ्गता कुनै निश्चित क्षेत्र, जात, वर्ग वा सम्प्रदायको मात्र समस्या होइन । सबै क्षेत्रको साझा समस्या हो । समग्रमा भन्दा यो राज्यकै समस्या हो । अपाङ्गताप्रतिको बुझाइका कारण समस्याका रूपमा लिने गरिएको पनि हो । तर व्यक्ति, समाज र राज्यले जति बोझका रूपमा बुझेको छ त्यो चाहिँ होइन । अवसरबाट बन्चित गराइरहने र भत्ता दिए पुग्छ भन्ने ठानिरहने हो भने वर्षको एक पटक डिसेम्बर ३ लाई अपाङ्ग दिवस भन्दै एक दुई औपचारिक कार्यक्रम गर्नुभन्दा बाहेक अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका यावत् अप्ठेराहरूको समाधान हुने आशा कमै गर्न सकिन्छ ।
सफलताका निम्ती: न जातले छेक्यो, न त अपाङ्गता नै बाधक बन्यो
शिक्षक : श्री जनकल्याण मावि
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी