बुटवल – अवैध रुपमा गोरु ओसार पसार गरिरहेका ५ वटा ट्रक नियन्त्रणमा लिईएको छ ।
पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको अवस्थामा ५ वटा ट्रक सहित १ सय २१ वटा गोरुलाई आज बिहान २ बजे बुटवलको अस्पताल लाईनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा ना ५ ख ५६५५, ना ८ ख ७३०२, ना ६ ख ५७१२, ना ५ ख ७५३९ र बागमती प्रदेश ०३(००१ ख ०३३३ नं.को ट्रक चेक जाँच गर्दा गोरु लोड गरि लिएर आएको र कागजात समेत संकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिएका छन् ।
गोरु ओसारपसारमै संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बारा निजगढका ३६ वर्षिय गणेश पौड्ल, ५२ वर्षिय शम्भु भट्टराई , ३२ वर्षिय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षिय तिलकबहादुर जिम्बा र मकवानपुर हेटौंडाका लक्ष्मण दनै रहेका छन् ।
ट्रक र ट्रकमा रहेका गोरुहरुलाई पशु क्वारेन्टाइन भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
अवैध खसीसहित ट्रक नियन्त्रणमा
त्यस्तै, अवैध रुपमा भारतदेखि ल्याएका अवैध खसी सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका(१२ टेशनपुरमा भारतबाट ल्याइएका १ सय ४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बलले नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा भारतबाट ल्याएका खसी काठमाडौंतर्फ लैजान लागेको ना ६ ख ९४९२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो । खसीसहितको ट्रकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए ।
तस्करले बर्दियाबाट अवैध क्वारेन्टाइन चेक र भन्सारविना भारतबाट खसी आयात गरेर काठमाडौंसम्म पुर्याउने गरेका छन् ।