आन्दोलन गर्न सडकमा उत्रीए सर्लाहीका उखु किसान

जागरणपोस्ट २८ मंसिर २०७७, आईतवार १४:५२

काठमाडौं : चिनी उद्योगीबाट भुक्तानी नपाएको भन्दै पीडित उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन शुरु गरेका छन् । करिब ९० करोड रुपैयाँ बाँकी रहेको भन्दै सर्लाहीबाट आएका किसानहरुले आन्दोलन शुरु गरेका हुन् ।

एक वर्षअघि पनि उखु किसानले यसैगरि आन्दोलन शुरु गरेका थिए । सो आन्दोलनबाट सरकार र आन्दोलनकारीको बीचमा सम्झौता भएको थियो तर त्यो सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर पुनः काठमाडौं आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।

आफूहरुले सरकारसँग सम्झौता गरेपछि आन्दोलनका लागि पुनः काठमाडौं आउनुनपर्ने ठानेको तर सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए । उनले भने–‘अब भुक्तानी नलिई आफूहरु घर फर्किदैनौं, हामी किसान पुरै तयारीका साथ आएका छौं, हामी एकमुष्ट रकम लिएर नै जान्छौ ।’ २०७६ पुस १८ गते सरकार र आन्दोलनकारीबीच पाँच बुँदे सम्झौता भएको थियो । सम्झौता भएकै दिन आन्दोलन स्थगित गरिएको थियो ।

यस्तो छ उखु किसान र सरकारबिचको सम्झौता

सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले २०७६ माघ ७ गतेभित्र भुक्तानी गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, बीउलगायत मेसिन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्नसक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई आवश्यक चालू पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने पनि सरकारसँग भएको सम्झौतमा उल्लेख छ । भुक्तानी हुने स्वचालित प्रणाली बनाउन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने पनि सहमति भएको थियो तर त्यो सम्झौता पनि कार्यान्वयन भएको छैन ।

सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराइने अनुदान बापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागि उद्योग मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गर्ने उल्लेख गरिएको छ ।

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

पाँच बुँदेमध्ये हालसम्म कुनै पनि बुँदा कार्यान्वयनमा नआएको आन्दोलनकारीको गुनासो रहेको छ । सम्झौता भएपछि केही उद्योगीले भुक्तानी दिन शुरु गरेको थियो तर पुरै भुक्तानी नदिई बीचैमा छाडेको थियो । भुक्तानी दिन छाडेपछि उखु किसानले उद्योगी तथा सरकारलाई पटक–पटक तागेता गरेको थियो । जिल्लाहरुमा संघर्षका कार्यक्रम शुरु गरेको थियो । तैपनि कुनै सुनुवाई भएन ।

सचिव राय भन्छन्, ‘मन्त्री तथा सचिवसँग पनि हामी सम्पर्कमा थियौं, तपाईहरुको माग पुरा हुन्छ भनि आश्वासन मात्र पाएका थियौं तर माग कहिले पुरा भएन । अनि हामी कात्तिक २३ गते आएर मन्त्रीसँग भेटेर कुराकानी गर्यौं ज्ञापनपत्र बुझायौं । चाडपर्व शुरु भइसकेको थियो, हामीले बेचेको उखुको रकम नआउँदा चाडपर्व गर्न पनि गाह्रो भइरहेको थियो, त्यही भएर छठसम्म सम्पूर्ण रकम प्राप्त नभए मंसिर २७ गतेदेखि आन्दोलन शुरु गर्ने भनेका थियौं छठसम्म एकसुको रकम पनि पाएका छैनौ ।’

उद्योग मन्त्तालयले चिनी मिल मालिकको जायजेथा बिक्री गरेर भएपनि किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित रुपमै आश्वास दिएको बताउँदै उनले सम्पूर्ण पीडित किसानहरुको बाँकी रकम २०७६ माघ ७ गतेभित्र उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए । उनले सरकार चुप लागेर बसेपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने, ‘यो आन्दोलन हल्का फुल्का हुनेछैन, सिंहदरवार घेराउ गर्नेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने, त्यसबाट पनि सरकारले सुनुवाई नगरे देश नै ठप्प पारिन्छ ।’ सरकारले सुनुवाई नगरे देश नै ठप्प पार्ने गरी आन्दोलन शुरु गर्ने चेतावनी आन्दोलनकारी लिएर दिएका छन् ।

लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८