काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री कोइरालाले जननिर्वाचित संसदलाई उपेक्षा गर्दै अध्यादेश जारी गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको बताएका छन् ।
संवैधानिक परिषदको व्यवस्थाका सम्बन्धमा मंगलबार आकस्मिक रुपमा जारी भएको अध्यादेशका बारेमा प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले भनेका छन्, ‘संसद बोलाउनुको सट्टा सुटुक्क जारी गरेर जननिर्वाचित संसदलाई अपमानित र उपेक्षा गर्ने काम भएको छ । यसले ओली सरकारको सर्वसत्तावादी चरित्र उजागर भएको छ ।’
महामन्त्री कोइरालाले आफू अनुकुल निर्णय नहुनासाथ कानून परिवर्तन गर्न अध्यादेश सिफारिस गर्नु र राष्ट्रपतिले समेत कुनै अध्ययन र परामर्श विना हतारमै जारी गर्नु संवैधानिक निकायलाई पंगु बनाउने खेल भएको बताए ।
उनले संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले संवैधानिक निकायको स्वत्रन्त्र भूमिका र विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए । महामन्त्री कइोरालाले अध्यादेश जारी गर्ने कदम सच्याउन र तत्काल संसद बोलाउन समेत माग गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि राष्ट्रपतिबाट हालै जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । उनले यस अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कामको रुपमा यसलाई अर्थ्याएका छन् । उनले भनेका छन्, ‘आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो स्वीकार्य हुँदैन ।’
आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो।
संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन ।— Bimalendra Nidhi. (@BimalendraNidhi) December 15, 2020
संवैधानिक परिषदको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संवैधानिक परिषद सम्बन्धी व्यव्थामा केही परिवर्तन गर्न सिफारिस गरेका थिए । राष्ट्रपतिबाट तत्कालै अध्यादेश जारी भएको छ । संवैधानिक परिषदको बैठकले निर्णय गर्न आवस्यक पर्ने गणपुरक संख्या घटाइदिएको छ ।
मंगलबार साँझ ५ बजे बस्ने तय गरिएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने अडान लिएका छन् । प्रधानमन्त्रीबाट अचानक अध्यादेश आएपछि नै देउवाले बैठकमा उपस्थित नहुने बताएका छन् ।
नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन शुरु, कुन ठाउँमा कुन नेता पुगे ?