काठमाडौं : नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् ।
आज राजधानीमा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जनमतको कदर नगरेको आरोप समेत लगाए । ‘तीन वर्षअघिको चुनावको विजय नेकपाको थियो, केपी ओलीको थिएन’ उनले भने ।
प्रधानमन्त्री भएर बालुवाटार पसेपछि ओलीले पार्टी बिर्सिएको खनालले आरोप लगाए । पार्टीको कुरै नसुनी ओलीले जबर्जस्ती नीति तथा कार्यक्रम र बजेट ल्याएको र गफै गरेर तीन वर्ष बिताएको उनको भनाई थियो ।
त्यस्तै उनले ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको समेत बताएका छन् । साथै बालुवाटारमा बस्ने ओलीको गुट पार्टी विरोधी गुट भएको टिप्पणी पनि गरे । जनताले दुईतिहाई मत ओलीलाई एकल रुपमा नदिएको भन्दै उनले पार्टीले पाएको मतको ओलीले दुरुपयोग गरेको धारणा राखे ।