काठमाडौं : नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्यस्तै पुस २२ गते भोली काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिटी/लाठी जुलुस निकाल्ने अनेरास्ववियूले जनाएको छ ।
त्यसैगरी पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने, पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको अनेरास्ववियूले जनाएको छ ।
यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गर्ने तथा पुस २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने अनेरास्ववियूका नेता बस्नेतले बताए ।
तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।