गुल्मी : विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो ।
११ पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ । संस्थागत १७ र सामुदायिक ३२ सामुदायिक विद्यालय समायोजनमा परेका छन् । तीमध्ये संस्थागततर्फ एक मावि, आठ निमावि र आठ प्रावि छन् । मदानेले विद्यालय समायोजन तथा कक्षा घटाउने कुनै काम गर्न सकेको छैन ।
समायोजनका कारण १० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय बन्द भएको शिक्षा तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
गुल्मी दरबारमै चार संस्थागत र दुई सामुदायिक विद्यालय, धुर्कोट गाउँपालिकामा ५ संस्थागत विद्यालय र मुसिकोट नगरपालिकाले ७सामुदायिक विद्यालय समायोजन गरेर बन्द गरेको तथा ६ विद्यालयको कक्षा घटाएको मरासिनीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाले एक÷एक संस्थागत विद्यालय समायोजन गरेका छन् । चन्द्रकोट गाउँपालिकाले ५ विद्यालय समायोजन गरेको छ भने नौ विद्यालयमा कक्षा घटाएको छ । इस्मा गाउँपालिकाले १५ विद्यालयमा समायोजन र कक्षा घटाएको छ ।मालिका गाउँपालिकाले सबैभन्दा बढी १६ विद्यालयको कक्षा घटाएको छ ।
स्थानीय तहको समायोजनको तथ्याङ्कका आधारमा घटेका कक्षा प्रायः २, ३ र ४ छन् ।