पाल्पा : पाल्पाको रामपुर अस्पताललाई ५० शैयामा स्तरोन्नति भएको भनिए पनि नागरिकलाई दिने सेवा भने पन्ध्र शैयामा नै सीमित छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सेवा दिँदै आएको यो स्वस्थ्य संस्थालाई विसं २०७२ मा ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । तर आज पाँच वर्ष पुगिसक्दा पनि भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण देखाउँदै त्यसअनुरुपको सेवा सुविधा दिन भने सकेको छैन ।
कागजमा यस अस्पतालको स्तरोन्नति भएको भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा सेवाग्राही निराश बनेका छन् । औषधि उपचारका निम्ति विभिन्न शहरमा धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय नागरिक अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुविधा पाउने अपेक्षामा थिए । तर अहिले अस्पतालको भवन निर्माण कार्य सम्पन्न नहुँदा भौतिक संरचना अभावका कारण भने सरकारले तोकेअनुसारका सेवा लिन नागरिकले पाइरहेका छैनन् ।
नेपाल सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ लागतमा टेन्डर आह्वान भएकोमा रवीना कन्स्ट्रक्सन प्राली काठमाडौँसँग करीब रु साँढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । अस्पतालको भवनको हालसम्म ८५ प्रतिशत मात्र भौतिक कार्य प्रगति सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
२०७५ कात्र्तिकसम्म निर्माणको काम सम्पन्न गर्ने म्याद रहेपनि पुनःम्याद थप गरिएको हो । अबको तीन महिनाभित्रमा अस्पतालको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने योजनाअनुसार भवन निर्माणको काम अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर महम्मद अन्सारु बताउनुहुन्छ ।
अस्पतालको नयाँ बन्दै गरेको भौतिक संरचना तयार नभएकाले १५ शय्याकै संरचनामा बसेर नागरिकलाई सेवा दिनु परेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियारले बताउनुभयो ।