पोखरा : नेपाल कम्युनिष्ट पार्टी( नेकपा) दाहाल–नेपाल समूह पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले बाटो बिराएर गएकालाई गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्दै पार्टीलाई एकीकृत र गतिशील बनाउन आफूूहरु लागिपरेको बताएका छन् । उनले भने, “विधि, विधान र अनुशासनको पालना नगर्दा मात्र पार्टी कमजोर हुन्छ, अन्तरसङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।”
पूर्वप्रधानमन्त्री नेपालले सबै संविधानमा बाँधिएकाले संवैधानिक सर्वोच्चताभन्दा माथि कोही नहुने बताउँदै आफ्नो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षको पहल गरिरहेको जानकारी दिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलन र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने प्रमुख दायित्व रहेको बताउँदै संवैधानिक अङ्गले कहीँकतैबाट पनि दबाब र प्रभावमा परेर निर्णय गर्न नहुनेमा जोड दिए । कार्यक्रममा पार्टी गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज यशोदा सुवेदी, प्रदेश कमिटीका सचिव श्रीमाया थकालीलगायतले प्रदेशमा पार्टी सङ्गठन सुदृढीकरण र प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन प्रभावकारी बनाइने बताए ।