काठमाडौँ : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । आज आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिनुभएको हो । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप समेत प्रचण्डले लगाए । प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए ।
उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । त्यस्तै, अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा समेत गरे ।