काठमाडौं : स्पिनर अनिल खरेल र युवा ब्याट्सम्यान सन्दीप रजालीको उत्कृष्ट प्रर्दशनको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
२ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२.२ ओभरमा समेटिँदा मात्र १ सय ८० रन जोड्न सक्यो । अन्तिम विकेटका लागि विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै अर्थशतकीय इनिङ खेले पनि प्रदेश–२ का लागि पर्याप्त भएन । ४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यसअघि ओपनरद्वय सुधिर चौधरी र हरिशंकर शाहले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो । सुधिरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब अलामले ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन् ।
प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पार्दा विक्रम भुसाल र दिपेन्द्र राउतले दुईरदुई तथा अमित तामाङ र कृष्ण कार्कीले एकरएक विकेट आफ्नो नाममा लेखाए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले ।
सन्दीपले ८३ रनको योगदान गर्दा सौरभले ५६ रनको व्यक्तिगत स्कोर बनाए । यस्तै विक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे । बलिङतर्फ प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए भने त्यस्तै दिव्यान्शु मल्लिकले २ विकेट हात पारे भने अन्य तीन बलरको नाममा एक एक विकेट रह्यो । पहिलो जित निकाले लुम्बिनी समूह ‘बी’ तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित प्रदेश २ तालिकामा अंक विहीन छ ।
प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूर पश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।