काठमाडौँ : नेपाली दूतावासले कतारमा १२ हजार जना नेपाली श्रमिक लैजान रोजगारदातालाई अनुमति दिएको छ । कोरोना महामारीपछि कतारी श्रम बजारको सुधारोन्मुख अवस्थालाई मध्यनजर गर्दै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको छ ।
दोहास्थित नेपाली दूतावासमा झन्डै १० महिनादेखि नयाँ श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण रोकिएको थियो । ‘मागपत्र प्रमाणीकरण सुरु भएपछि रोजगारदाता आउने क्रम बढेको र झन्डै तीन साताभित्र १२ हजार जना ल्याउन अनुमति पाइसकेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताउनुभयो ।
गत जेठदेखि माघ ४ गतेसम्म कतारबाट ५२ हजार २ सय २८ जना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । जसमध्ये ११ हजार ८ सय ६९ जना भने श्रम नवीकरण गरेर कतार फर्किएका छन् । ११ सय ७७ जना मात्रै नयाँ भिसामा कतार गएका छन् ।