काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आपसी विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजिएकाले अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने बताएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री बस्नेतले भने, “अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।” जनताले सरकार चलाउने जिम्मा कम्युनिष्टलाई दिएको बताउँदै उहाँले कांग्रेसले जनताको निर्णय कुर्नुपर्ने बताए ।
अबको कांग्रेस सच्चिन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले रुखमा भोट मात्रै हाल्ने बानी बसाल्ने हो भने पनि सकारात्मक सोचका साथ जित हुने उनले बताए । जनताले दुई तिहाइ नजिकको मत दिएर पठाएको पार्टीले देशमा शासन गर्न नसकेर जनताको मतको अनादार गरेको उनको आरोप थियो ।