रुपन्देही : भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’ को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेकोे बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो । उसका लागि रिजन प्रजुले ३५, मिथिलेश र यादवले २९ रन बनाए । बलिङमा बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३÷३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुटवल–११ ले ४४ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि सोनु तामाङले ४८ र हिमाल पुनले ४३ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २÷२ तथा विपिन खत्री र रिजन प्रजुले समान १÷१ विकेट लिए । आजको खेलमा अमित अग्रहरी म्यान अफ द म्याच भए ।
यस्तै मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।