सन्तोष चिमरिया//
देवादिदेव महादेवका अनेकौं रुप ,लीला र महिमाहरुको वर्णनले शास्त्रहरु टनाटन छन् । हुन त महादेव भन्दाखेरी– गलामा सर्पनाथको माला धारण गरेका, नन्दिभृङीबाट घेरिएर अलग–थलग बसेका, बयलको सवारी रुचाउने, अखण्ड ताण्डब गर्न सक्ने, पार्वती सहितका लोकप्रिय महादेवको तस्बिर सामुन्ने आउन सक्छ । तर यो महादेवको बिल्कुलै परम्परागत र लोकप्रिय संस्करण मात्रै हो ।
चर्म चक्षुका आँखाले नदेखिने गरीका, तर, ज्ञान र भक्तिका आँखाले देख्न सकिने, प्रभुका अनेकौं रुपहरु प्रकट भएका छन् । र ती सबै रुपहरु महिमा मन्डित छन् ।
जस्तो सकल, बेरोजगार, डुकु, प्रेमी–प्रेमिका, कवि–कवियात्री, गजलकार, हाईकुकार, कथाकार, बिश्लेषक, स्टाटसकार आदिको मर्म बुझेर, प्रभु, फेसबुकेश्वर महादेवको रुपमा प्रकट हुनुभयो ।
अरब, मलेसिया र इन्डिया गए्र दिक्क भएका भक्तहरूलाई उद्दार गरि अम्रिका पुर्याउन डिभेश्वर महादेवका रुपमा प्रकट हुनुभयो । पशुहरुको उद्दार गर्न, स्वयं पशुपति हुनुभयो ।
त्यसैले महादेवका अनेकौं रुप, अनेकौं लिला र अनेकौं महिमा छन् भनेर, भनेको हुँ ।
तर, प्रभुका यस्ता अनेकौं रुपहरुको दिब्य–दर्शन सबैलाई हुँदैन । सधाँकाल, अखण्ड ज्योति खडा गरेर नित्य स्तुति गर्नाले मात्रै प्रभुका नयाँनयाँ रुपको पहिलो दिब्य– दर्शन प्राप्तिको अहोभाग्य मिल्दछ ।
फेसबुकेश्वर महादेवदेखि डिभेश्वर महादेवसम्मका, प्रभुका अनेकौं रुपहरुको अखण्ड महिमागान र आरतीको गर्नुका पुन्यफलले गर्दा, यो भक्तलाई घरीघरी प्रभुका अनेकौं अनेक रूपहरूको दिव्य दर्शन प्राप्त हुने गरेको छ । जस्तो, भर्खरै पनि प्रभुले नयाँ रुप धारण गर्नुभएको छ र सो रुपको दिब्य– दर्शनको सौभाग्य यो भक्तलाई प्राप्त भएको छ । आफूलाई प्राप्त भएको, प्रभुको यो रुपको दर्शन भक्तहरूलाई पनि गराउ, प्रभुको महिमा भक्तहरु पनि सुनाउँ, लिला कहूँ भनेर आज म उपस्थित भएको छु ।
हे भक्तगणहरु ध्यान दिएर सुन !
अब म, संघीय लोकतान्त्रिक गणतन्त्रमा हावाबाट विजुली निकाली जगतको अन्धकार मेटाउन सक्ने–अर्थात् हावेश्वर महादेव, डाँडाकाँडा रेल कुदाएर देशैलाई रेलिमाई गराउनसक्ने, रेलेश्वर महादेव, भूपरिवेष्ठि देशमा टाइटानिक चलाउन सक्ने, टाइटानेश्वर महादेव, अर्थात् –हिमवत खण्डे, संघीय लोकतान्त्रिक गणतन्त्र नामक, नेपाल देशे, काठमाडौ खाल्डे, बालुवाटारे स्थानम प्रकट हुनुभएका श्री–खडगेश्वर महादेवको महिमा कहन्छु ।
हे भक्तगण ! तिम्रो ध्यानाकषिर्त होस ।
श्री खडगेश्वर महादेव कस्ता महादेव भने,
कुनैपनि रोगले पनि नाश हर्न सक्ने – अविनाशी । भुतमा कहिलै नदेखिएका अदभूत । चण्ड, मुन्ड र मार्चण्डको समुल बिनाश गर्न सक्ने– विनासक । आफ्ना नन्दिभृंङी, छोराछोरी, सालासाली, भक्त–अनुरागीका बिघ्नहरुलाई तुरुन्तै हर्न सक्ने– बिघ्नहर्ता । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रकट भई, सबैभन्दा शक्तिशाली भएका । अर्थात् – सर्वशक्तिमान !
सिंहदरबारदेखि शितल दरबारसम्म, रामशाहपथदेखि टंगालसम्म, केन्द्रदेखि प्रदेशसम्म, सबैतिर व्याप्त भएका ।
अर्थात, सर्वव्यापी !
कोरोनाशास्त्रदेखि, नीतिशास्त्र, नीतिशास्त्रदेखि, रामायणसम्म र रामायणदेखि, माक्र्सवादसम्मका सबै ज्ञानले ओतप्रोत भएका, सयौं डक्टरको उपाधिले विभूषित ।
अर्थात, सर्वज्ञानी ।
सकल दुखित जनलाई पिडाबाट मुक्त गराइ हंसाउन सक्ने । अर्थात, हास्यकर्ता !
पापीहरूलाई व्यंग्य गर्नसक्ने ।
अर्थात, व्यंग्यकर्ता !
टुक्का प्रहार गरि शत्रुनास गर्नसक्ने ।
अर्थात – टुक्काकर्ता ।
समग्रमा, हास्य, व्यंग्य र टुक्काको त्रिशुल धारण गरि, भाषणको डमरु बजाउँदै, हिमवत् खण्डमा, जुन महादेव प्रकट हुनुभएको छ । उहाँ श्री खडगेश्वर महादेवका नामले प्रसिद्ध हुनुहुन्छ ।
हे भक्तगण । अरु ध्यान दिएर, प्रभुको महिमागान सुन ।
यस्ता खडगेश्वर महादेवको नित्य स्तुती गर्ने भक्तगणले, एकै जुनिका सत्तरी करोड पापहरूबाट मुक्त भइ शिवालयमा बास पाउँछ । यस्ता प्रभुका चरणम कमलममा नित्य तेलीय मालिस गर्ने, जस्तै क्षुद्रले पनि रेलको चक्कामा हावा हाल्ने सौभाग्य पाउँछ । प्रभुका नाममा अघोर भइ तप गर्ने भक्तले, विभिन्न संवैधानिक पदहरूमा नियुक्ति पाउँछ । प्रदेश प्रमुख पड्काउँछ । उपयुक्त ठाउँमा सरुवा, बढुवा र नियुक्तिहरू पाएर एकबारको जुनि धन्य र धान्य बनाउँछ ।
तर ……
तर, दक्ष प्रजापतिले जस्तो शिवनिन्दा गरेमा, बहुमतको धाक देखाएमा, प्रभु प्रति प्रश्न उठाएमा,
श्री खडगेश्वर महादेवको तेस्रो नेत्र खुल्न गई प्रलय हुन जान्छ ।
अर्थात, प्रचण्ड, माकुने र झलनाथ लगायतको हालत भइ किर्ती र शक्ति क्षय हुन्छ । अनि, प्रभुका क्रोधाग्नीले परेर पार्टीमा होइन, पाटीमा बास हुनपुग्छ । खाईसकेको गुलियो लड्डु, प्रभुका प्रकोपले अमिलो हुन्छ । मन मिलेको हितैषी मित्रसंग संगै बस्न नजुरेर, प्रभुकै सरणमा शरणागत हुन बाध्य हुनुपर्दछ ।
इतिस्कन्दे, पुराणखण्डे, फागुन महात्मे, कुमार अगस्ते, श्री खडगेश्वर पुराण इति ।