मोहन विक्रम सिंह र मोहन वैद्य नेपाली कम्युनिष्टहरुका भीष्म पितामह हुन् र नियति पनि प्रकारान्तमा महाभारतका भीष्म पितामहकै जस्तो बन्न पुगेको छ ।
यद्यपि नेपालमा कम्युनिष्ट पार्टीको जग खन्ने र आधार उभ्याउने काम पुष्पलाल, मनमोहन, केशरजंग, तुल्सिलाल, मानन्धर, कृष्णराज बर्माजस्ता नेताहरुले गरेको भएपनि नेपालका हार्डलाइनर कम्युनिष्टहरुको वास्तविक गुरु भने एमबीद्वय नैं हुन् । एमबी एन्ड एमबी भन्नाले नेपाली साम्यवादका ट्रेडमार्कनै हुन् भन्दा फरक पर्दैन ।
यी दुई जना यस्ता गुरु हुन् जसले अनेकौं चेलाहरु तयार त पारे तर प्रायःजसो सबै चेलाहरु कर्मक्षेत्रमा अयोग्यनै बनेर निस्किए । यी दुई जनाको नियतिलाई कुरुवंशका गुरुद्वय द्रोणाचार्य र कृपाचार्यको स्थितिसंग तुलना पनि गर्न सकिन्छ भने कम्युनिस्ट इतिहासमा बंगालका कानु सान्याल र चारु मुजुमदारको अवस्थासँग पनि तुलना गर्न सकिन्छ ।
८६ वर्षका मोहन विक्रम र ८४ वर्षका मोहन वैद्य दुबैको जन्म प्युठानमा भएको हो । यी दुबै जनाले आफ्नो सिंगो जीवन कम्युनिजमको स्कुलिङ, संगठन, टुटफुट र जोडजाडमा बिताए तर जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो मार्गचित्रलाई न पलाउने, न बिलाउने स्थितिमा ल्याई पु¥याएका छन् ।
मोहन विक्रमले २०१५ सालको संसदीय चुनावमा प्युठानबाट भाग लिएर पराजीत भएको र मोहन वैद्यले २०६४ सालको संविधान सभामा केही महिना समानुपातिक सदस्य बनेको बाहेक यी दुबै जना चुनावी र सरकारी रंगमंचबाट टाढै रहे ।
मोहन विक्रमले केही वर्ष यता श्रीमतिलाई सांसद र मन्त्री बनाउनमा केही रहर देखाएका भएपनि वैद्यमा त्यस्तो रहर प्रायः देखिएन । तर सानो किचन गुटमैं भएपनि कम्युनिष्ट पार्टीको एउटा हाँगोको नेतृत्व गर्ने लोभलाई भने दुबैले कहिल्यै त्याग्न सकेनन् ।
मोहन विक्रम केहि हँसिला, रसिला र फरासिला देखिन्छन् भने मोहन वैद्यको मुद्रा सदैव तनावग्रस्त र चिन्ताग्रस्त जस्तो देखिइरहन्छ । कम्युनिष्ट पार्टी भित्रको राजनीतिमा कहिल्यै प्रशंसा र कहिल्यै आलोचना झेलेपनि पद र सुविधाको निम्ति यि दुबै जनाले इमान बेचेको कहिल्यै देखिएन ।
हामीजस्तो विचारको अर्को छेउमा उभिएका मान्छेले यी दुबै जनाको राजनीतिक लक्ष र उद्देश्यप्रति ठूलो असहमति राखे पनि यी दुबै जनाको देशभक्तिमा भने औंला ठड्याउन सकिन्न । जेहोस् एमबी भनेका एमबी नै हुन् प्रचण्ड, माकुने र ओली हैनन् ।
खगेन्द्र गिरी ‘कोपिला’