पतनउन्मुख कम्युनिस्ट सपना

जागरणपोस्ट २९ फाल्गुन २०७७, शनिबार १७:४४

विजय ज्ञवाली//

सम्भवतः पुष्पकमल दाहाल प्रवृति नेपाली राजनितिको लागि हानीकारक हो । यसो त समकालीन नेताहरु नेपालको भविष्यकै लागि हानीकारक हुन् ।
अहिले सत्ता र शक्तिको इर्दगिर्दमा जो घुमिराछन्, तिनी पनि नेपालको लागि घातक हुन् र जसले सत्ताको र स्वादान गर्न पाएका छैनन, छट्पटी चलिराखेको छ, तिनिहरु पनि नेपालका लागि घातक हुन् ।

१९औं दशकको मध्यतिर नवगठित चीनका राष्ट्रपति एवं तत्कालिन माओ त्से तुङ्गका अध्यक्षसमेत बनेका लिउ साओचीले माओको सम्बन्धमा भनेको प्रसङ्ग स्मरणयोग्य छ । उनले भनेका थिए–”माओ त्से तुङ्ग सिर्जनशील वर्गका प्रतिभाशाली माक्र्सवादी र मानव जातिका सर्वोच्च विचारक हुन् । माक्र्सवादको यथार्थ ज्ञान र चिनियाँ क्रान्तिको व्यावहारिक पक्षको यथोचित मिश्रण हुन् । हाम्रो बौद्धिक विचारलाई अनुपम उत्कर्षमा पु¥याउने व्यक्तित्व हुन् ।”
विचारको संग्राम र आलोचनाको स्वतन्त्रताबिना कुनै विचारको विकास सम्भव छैन । विपरीतको एकतत्वको नाममा विपरीतहरूको मात्रै जन्म र ध्वंस हुँदै आयो भने त्यो प्रत्यूपादक नै हुन्छ । माओ–त्से–तुङ्ग ले युद्ध र रणनीतिका समस्याहरू शिर्षकमा भनेका छन–“फासीवादी नभएका र युद्धमा नलागेका पूंजीवादी मुलुकहरूले आन्तरिक रूपमा बुर्जुआ प्रजातन्त्रको व्यवहार गर्दछन् । त्यस्ता मुलुकहरू अरूको दमनमा नभई अरू राष्ट्रहरूलाई दमन गर्ने स्थितिमा हुन्छन् ।

यी सब कारणहरूले गर्दा पूँजीवादी मुलकहरूमा मजदुरवर्गको पार्टीको काम कर्तव्य दीर्घकालीन कानूनी सङ्घर्ष मार्फत् श्रमिकहरूलाई शिक्षित गर्नु र शक्ति सञ्चय गर्नु हो तथा पूँजीवादलाई अन्तिम रूपमा फ्याँक्ने तयारी गर्नु हो । त्यस्ता मुलुकहरूमा दीर्घकालीन कानूनी सङ्घर्षको मञ्चको रूपमा संसद्लाई उपयोग गर्ने, आर्थिक र राजनीतिक हडतालको आयोजना गर्ने, मजदुर सङ्गठनहरूलाई सङ्गठित गर्ने र मजदुरहरूलाई शिक्षित गर्ने प्रश्न मुख्य हो । तिनीहरूको सङ्गठनको रूप कानूनी र सङ्घर्षको रूप रक्तपातविहीन हुन्छ ।”

चीनको स्थिति फरक छ । चीनका चरित्रगत लक्षणहरू हुन्– “स्वाधीन र प्रजातान्त्रिक नभई यो अर्ध औपनिवेशिक र अर्ध सामन्ती छ, आन्तरिक रूपमा यो प्रजातान्त्रिक नभई सामन्ती फौजी दमनअन्तर्गत छ र आफ्नो बाह्य सम्बन्धहरूका सन्दर्भमा यो साम्राज्यवादको दमनमा छ । यसबाट के निष्कर्ष निस्कन्छ भने हामीसित उपयोग गर्नको निम्ति कुनै संसद् छैन र मजदुरहरूलाई हडतालहरूको निम्ति सङ्गठित गर्ने कुनै कानूनी अधिकार छैन । आधारभूत रूपमा विद्रोह र युद्ध सुरु गर्नुभन्दा पहिले कानुनी सङ्घर्षको लामो अवधिबाट गुज्रिन यहाँका कम्युनिष्ट पार्टीको काम–कर्तव्य होइन । त्यसैगरी ठूला सहरहरूमाथि सबैभन्दा पहिले कब्जा गरेर त्यसपछि ग्रामीण क्षेत्रमाथि कब्जा गर्नुपनि होइन, बरु त्यसको ठीक उल्टो हो । “चीनमा सशस्त्र क्रान्तिले सशस्त्र प्रतिक्रान्तिसित सङ्घर्ष गर्दैछ । चिनियाँ क्रान्तिको यो एउटा विशिष्ट चरित्र र सुविधा हो ।”

जतिबेला पुष्पकमल दाहालहरुले माओको नाम बेचेर देशभर उत्पात गरिरहेका थिए, त्यति नै बेला चीनले माओको नाम दुरुपयोग नगर भनेर चेतावनी समेत दिएको थियो । चीनमा माओ जिवितै हुँदा माओवाद मान्ने कि विचारधारा मान्ने भन्नेबारेमा बहस हुँदैगर्दा माओ जीवित हुँदा हुँदै चिनियाँ कम्युनिष्ट पार्टीले माओवाद नमान्ने निर्णय गरिसकेको थियो । माओ आफैंले पनि माओवाद भन्नुहुन्न भन्दथे। माओले जनवादी क्रान्ति गरेर देखाएको हुनाले नेपालका कम्युनिष्टहरुले उनीबाट सिक्न सक्ने र अर्ध औपनिवेशक अर्ध सामन्ती देशमा माओको योगदानलाई वाद नभएर विचारधारका रुपमा लिन सकिन्छ, तर नामै भजाएर माओको बदनाम त गर्न सकिन्न नि पुष्पकमल दाहाल ज्यू ?

किनकि तपाईंको राजनैतिक स्वार्थ सत्ता र शक्तिको लोभमा मात्र गएर अड्किएको हुनाले माओले त्यसो गर्ने अनुमति दिंदैनन् ।
बिपी कोइरालामा वैचारिक दृष्टिकोण प्रखर थियो तर उनले सोचेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा ल्याउन नपाउँदै उनको समय बित्यो। उनी र उनीजस्ता कतिपय नेताको त्यागले परिवर्तन त आयो तर नेतृत्वको चरम असफलता, विवेकहिनता र लोभीपापी दृष्टिकोणले गर्दा नेपाली कांग्रेस अहिले बुख्याँचा पार्टीका रूपमा देखापरेको छ । यसले एउटा हातमा प्रजातान्त्रिक समाजवाद, अर्को हातमा राष्ट्रियता र छातीमा बिपी कोइरालाको नामाङ्कित बिल्ला भिरेको छ । यसले आफ्नो प्रथम महाधिवेशनले दिएको “प्रजातान्त्रिक समाजवाद” को नीतिलाई देखाउने दाँत बनाएर सामन्तवादी नीतिको दाँतले पटकपटक शासनसत्ता “ज्युनार” गर्दै आएको छ । जनतालाई भ्रमित पार्न यसले गएको १३औँ महाधिवेशनमा पनि “प्रजातान्त्रिक समाजवाद” शब्दावलीलाई आफ्नो घोषणापत्रबाट हटाउन चाहेन । यस पार्टीका निम्ति बनिबनाउ नाराको अर्को विकल्पपनि थिएन र यस पार्टीको युवा पुस्ताले गणतन्त्र स्वीकार गरेका सन्दर्भमा पार्टीको नारा र नीति फेर्न गरेको प्रस्ताव पनि यसको सत्तालोलुप पुरानो नेतृत्वले सहेन ।

यस पार्टीले प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा ल्याउनु त परै जाओस् यसका कतिपय नेताका भनाइ र आचरणले त्यस सिद्धान्तको अभिप्राय पनि नबुझेको थाहा हुन्छ । बिपी नामको भजन गाउने तर बिपीले अंगालेको नीतिलाई परिआउँदा गलत ढङ्गले व्याख्या गर्ने र उस्तै पर्दा त्यो नीतिलाई पार्टीले त्यागेको पनि भन्न भ्याउने उच्च नेताहरूको आचरण हेर्दा यसले पनि साइन बोर्ड एउटा र धन्दा अर्को गर्ने पार्टीमा अब्बल दर्जाको ठाउँ ओगट्दै आएको छ । सातसाले परिवर्तन र बिपी नामको ब्याज असुलेर नेपालको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको दम्भ पाल्दै बसेको छ – कांग्रेस ।

जबजजस्तो विचार जुझारु र जागरुक युवा तथा वैचारिक, व्यावहारिक र व्यावसायिक बुद्धिजीवी तथा कुशल संगठकहरूको सशक्त संगठन हो– एमाले। तर घातप्रतिघातको लामो अभ्यास, बाह्य आक्रमण र षड्यन्त्रको सघनता, आन्तरिक गृहकार्य र समझदारीको अभाव, पछिल्लो दशकमा अध्ययन, विश्लेषण र अन्तर्क्रिरयामा लागेको खिया, तर्क, सत्य र तथ्यमाथिको निरन्तर हमला आदि हेर्दा एमालेमा समस्या नेतृत्व पंक्तिमै देखिन्छ । लोकतन्त्रमा शीर्ष नेता सर्वगुण सम्पन्न हुनैपर्छ भन्ने छैन । शिष्ट र निष्कपटचाहिँ हुनैपर्छ ।

वर्गीय दृष्टिकोण, जनतासँग घनिष्ट सम्बन्ध, कार्यकर्ताको उत्पादन, प्रशिक्षण, परिचालन र संरक्षण, प्रचारकार्य, वैचारिक र बहसका क्षेत्रमा व्यापक अन्र्तक्रिरया र समन्वयजस्ता मामिलामा पनि एमाले चुनौतीका तुलनामा पछि पर्दैगएको छ । शान्ति, लोकतन्त्र, सामाजिक न्याय, रूपान्तरण, सामाजिक सदभाव, देशभक्ति, जनजीविका, समानताजस्ता विषयमा वैचारिक र राजनीतिकरूपले सबैभन्दा स्पष्ट पार्टी नै यसरी अराजक हुनुको मार नेपालको समग्र राजनीतिले भोग्नुपरेको छ । अराजकता, विखण्डन, जातीय र क्षेत्रीय विभेद बलशाली हुँदैआएको बेला एमालेको शक्ति संकुचित गर्ने आन्तरिक प्रकृतिका गडबढी हटाउनमा ओली सक्रिय हुनुपर्नेमा ओली हिटलरी शैलीमा छन् ।

युवापुस्ताकोे परिपक्वता, आलोचनात्मक चेत र हस्तक्षेपको मात्र बढ्दै जानु र छाला जोगाउने प्रवृत्ति निरुत्साहित हुनुको अर्थ नेताहरूको मनमौजी, जालसाझी र झगडा गर्ने व्यवहारमा पूर्णविराम लाग्नु हो । वर्गीय राजनीतिमाथि जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक असमानता र त्यसले पैदा गरेको कुण्ठा, प्रतिशोध, अराजकता, अनुशासनहीनताको प्रभुत्व हुँदापनि पार्टी रमिते र रक्षात्मक देखिएको छ । पार्टीको संगठन, विचार र जनमतको भ¥याङ चढेर जातीय मुखिया, धार्मिक पन्डा, मुल्ला र पादरी तथा अरूका प्रतिनिधि हुने होड चलेको छ। ओली एक्ला बादसाह बन्ने ततखरमा छन– जसले एमाले पनि सिध्याउँछ । किनकि एमाले निर्माणमा ओलीको भूमिका त छैन नै, साथमा एमाले निर्माणकर्तालाई पाखा लगाऊने कुचेष्टा पनि गरेका छन् ।

आफ्नै मात्र सिद्धान्तमा अडिएर बस्न दलहरू सक्दैनन् । त्यसो गर्नु गाह्रो मात्र होइन, अव्यावहारिक पनि हुन्छ । विचलन वा दलको सिद्धान्तमा आधारित व्यवहार नगर्ने प्रवृत्ति संसारभरि नै छ । हाम्रोजस्तो गरिब मुलुक, जहाँ विभिन्न विचारधाराका दलहरू छन्, मा त झन् सिद्धान्त अनुसार व्यवहार गर्न र रणनीति बनाउन गाह्रो छ । सिद्धान्तलाई नीति र रणनीतिमा ढाल्न झन् गाह्रो छ । सिद्धान्त र रणनीतिमा केही फरक हुन्छ तर नेपालमा सिद्धान्तलाई रणनीतिका रूपमा प्रयोग गरिएको छ ।

नेपालका राजनीतिक दलको सिद्धान्तभित्र रहेर जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्ने किसिमले रणनीतिहरू बन्ने संस्कार छँदै छैन । सिद्धान्तबाट निर्देशित हुनेभन्दा पनि शक्ति र सत्तामा पुग्न बढी प्रतिस्पर्धा हुने गरेको छ । दलहरूको सिद्धान्त र लोकतन्त्रको संस्थागत विकासमा प्रतिबद्धता देखिएन । सिद्धान्तका लागि क्रान्ति गर्ने तर त्यसपछि आफ्ना एजेन्डालाई संस्थागत गर्न नसक्ने देखियो ।

राजनीतिक दल अनेक छन्, तर तिनको नेतृत्वमा वैचारिक अडान र दलीय रुझान पटक्कै देखिन्न । दलहरू फरक भए पनि राज्यको स्रोत र अवसर बाँडफाँटमा ती मिलेका देखिन्छन् । यसले राज्यको स्रोत र अवसर परिचालनलाई दलीय नीति र संगठनको विधिभन्दा बाहिर लग्यो । दलको प्रभावले कामै गरेन । सत्तापक्ष र प्रतिपक्ष छुट्याउनै गाह्रो भयो ।

सामान्यतः राजनीतिक दलको विम्ब झन्डा, घोषणापत्र वा पार्टी कार्यालयमा देखिन्छ । तर ९३ प्रतिशतभन्दा बढी सर्वसाधारणले नेतालाई दल मान्छन्; नेकपा भन्नासाथ ओली/प्रचण्ड, कांग्रेस भन्नासाथ देउवा/पौडेललाई बुझ्छन् । यो बुझाइ कम्युनिस्ट वा कांग्रेसमा मात्र होइन, अन्य दलबारे पनि उस्तै छ । यसरी दलभन्दा नेताले प्राथमिकता पाउनु दलीय औचित्य कमजोर हुनु हो, जुन लोकतन्त्रका लागि सह्य होइन ।

नेपालमा राष्ट्रवादसंग जोडिएको अर्को एउटा अनौठो बिचार, बुझाई र व्याख्या रहेको छ । उक्त समुहका अनुसार नेपालको एकीकरण सामन्ती राज्य बिस्तारको परिघटना मात्रै होइन, त्यो तात्कालीन आन्तरिक र बाह्य सामाजिक–आर्थिक र राजनीतिक कारणहरूले जन्माएको ऐतिहासिक आवश्यकता हो । नेपाल राज्य निर्माण प्रक्रियाका आफ्नै विशिष्टता छन् । यो निश्चित जाति समूहहरू राष्ट्रमा विकसित हुने र त्यसका आधारमा राज्य बन्ने प्रक्रियाबाट बनेको राष्ट्र–राज्य होइन, पहिले राज्य निर्माण भएर त्यसभित्र बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक पक्षहरू समाहित भई बनेको राज्य–राष्ट्र हो ।

बहुराष्ट्रियता या दुई राष्ट्रियताका नाममा चलेका बहस गलत मात्रै होइन, हानीकारक समेत छन् भन्दछ । पहिलो, यस बिचारले नेपाल राष्ट्र—राज्य होईन भनि बुझेको ठिकै हो । किन भने यो एउटै जातिको मात्र राज्य होईन । यो बहुजातिय, बहुभाषीक, बहुसांस्कृतिक राज्य हो । नेपालका सबै जातजाति र आदिवासी जनजातिहरु चरित्र र बिशेषताका हिसावले राष्ट्र हुन् । यसैले यो बहुल राष्ट्र—राज्य हो ।

राजनीति र राष्ट्रवादको गहिरो सम्बन्ध रहेको हुन्छ । देश भित्रका विभिन्न राष्ट्र र राष्ट्रिय जनसमुहरुको रक्षार्थ, विकास तथा सम्बृद्धिको लागी देशभक्तिपुर्ण बिचार तथा कार्य नै राष्ट्रवाद भएकोले यो सोझै राजनीतिसंग जोडिन्छ । देश भित्रका विभिन्न राष्ट्र तथा राष्ट्रिय जनसमुहहरुलाई बिर्सेर एवम् पन्छाएर एउटामाथी अर्कोको उपनिवेश खडा गर्ने उपनिवेशवादी सोच र चिन्तन बोकेको कथित देशभक्तिपुर्ण बिचार नै अभिजातिय बिचार तथा सोच हो । यहि बिचार तथा सोच बोकेका बाहुन, क्षेत्रि, मधेसी, आदिवासी जनजाति, दलित, महिलाहरुको एउटा सानो जत्था नै अभिजातिय बर्ग हो र तिनले अंगिकार गरेको राष्ट्रवाद अभिजातिय राष्ट्रवााद हो भने तिनले गर्ने राजनीति अभिजातिय राजनीति हो ।

यसमा राजनीतिले अभिजातिय राष्ट्रवादलाई पक्षपोषण गर्दछ भने सो अभिजातिय राष्ट्रवादले अभिजातिय बर्गलाई सवल र सक्षम बनाउँछ । यस खाले राष्ट्रवाद जहिल्यै पनि अवसरवादी हुन्छ । यसैले यसलाई अवसरवादी राष्ट्रवाद पनि भन्ने गरिन्छ । यस खाले राजनीति र राष्ट्रवादले जहिल्यै पनि एउटा जातिको बर्चस्प र एकाधिकारलाई स्थापित गर्दछ । कसैले यसलाई बाहुनवाद या ब्राह्मणवाद पनि भन्दछन् । यस प्रकारको राजनीति, राष्ट्रवाद तथा विकासले समग्र राष्ट्रहरु, सामाजिक–सांस्कृतिक समुहहरु र लैंगिक समुहहरुमाथी अभिजातिय बर्गको उपनिवेश खडा गर्दछ ।

हाम्रो देशमा यहि उपनिवेशवादी अभिजातिय राष्ट्रवाद र अभिजातिय राजनीति हावी छ । यहि राजनीति र राष्ट्रवादले केही मधेसी, केही आदिवासी जनजाति, केही दलित तथा महिलाहरुलाई आफ्नो गुलाम तथा दास बनाएको छ भने केही सिमित बाहुनलाई मालिकको रुपमा स्थापित गरेको छ । अनुहार र थर लेख्ने कुराले पहिचान तथा कुनै पनि राष्ट्रको प्रतिनिधित्व गर्दै भन्ने बुझ्न जरुरी छ । राजनीतिमा अहिले हावी रहेका सत्तारुढ दल नेकपा, नेपाली कांग्रेश, राजावादीहरु र अन्य प्रतिपक्षी धेरै राजनीतिक दलहरु यहि अभिजातिय राजनीति गरिरहेका छन ।

यहि अभिजातिय राष्ट्रवादलाई बलियो बनाईरहेका छन् र अभिजातिय बर्गको उपनिवेश कायम गर्ने र बलियो बनाउने राजनीति गरिरहेका छन् । यस प्रकारको राजनीतिलाई विस्थापन नगरेसम्म अभिजातिय बर्गको उपनिवेशबाट मुक्ती पाउन सकिन्न, असली राष्ट्रवादलाई अघि बढाउन सकिन्न र असली विकास तथा सम्बृद्धि प्राप्त गर्न सकिन्न ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६